२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

सुनमा सीमा

प्रतिव्यक्ति आय ११ सय अमेरिकी डलर नपुगेको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३४ खर्ब वरपर रहेको हाम्रोजस्तो मुलुकमा सुन कारोबार वर्षमै १ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ। गत आर्थिक वर्षमा सुनको वैध आयात नै साढे ३४ अर्ब रुपैयाँ पुगेको छ। सुन कारोबारमा आधा हिस्सा अवैध आयातले ओगटेको बताइन्छ। पुराना गरगहना सट्टापट्टाको अंश पनि १५–२० प्रतिशत छ। सुनको कूल किनबेच हेर्दा यसको वार्षिक कारोबार झन्डै १ खर्ब रुपैयाँ हाराहारीमा देखिन्छ। यो हाम्रो जिडिपीको ३ र वार्षिक बजेटको ८ प्रतिशतभन्दा धेरै हो।सुन कारोबारले अर्थतन्त्रको कति हिस्सा ओगटेको छ भन्नुभन्दा यसले अर्थतन्त्रलाई कस्तो असर पारेको छ भन्ने विषयले बढी महत्व राख्छ। मुलुक अहिले धान्न नसक्ने गरी व्यापार घाटामा डुबेको छ। प्रत्येक वर्ष बढिरहेको उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या आउने संकेत देखाइसकेको छ। विगतमा वस्तु तथा सेवा आयातको भुक्तानी दिने सवालमा हाम्रो अर्थतन्त्र निकै राम्रो अवस्थामा थियो। हामीसँग आयातीत वस्तु र सेवाको भुक्तानी दिन पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिति थियो। अहिले हामी न्यूनतम बिन्दुमा झर्न थालेका छौँ।

आयातीत वस्तु तथा सेवाको भुक्तानी दिन समस्या हुन थालेपछि अर्थतन्त्र क्रमशः धरासयी हुँदै जान्छ। विदेशी मुलुक र दातृ निकायहरूले पनि हामीलाई ऋण दिन पत्याउँदैनन्। अर्थतन्त्रमा सुधार प्रयास नगर्ने हो भने हामी अब यही लाइनमा छौँ। यो सबै समस्या, मुलुकमा भित्रिने विदेशी मुद्राका तुलनामा बाहिरिने रकम धेरै भएर हो। उच्च व्यापार घाटा यसको प्रमुख कारण हो। हामी १ खर्ब रुपैयाँका सामान पनि निर्यात गर्दैनौँ, तर आयात भने १४ खर्बभन्दा बढीको गर्छौं। आयात र निर्यातबीचको यही खाडलकै कारण अहिले समस्या आएको हो। गत वर्ष व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ, जुन कूल बजेटभन्दा माथि हो। व्यापार घाटा कसरी कम गर्ने ? सबैभन्दा पेचिलो प्रश्न यही हो। कुनै पनि मुलुक सबै वस्तु तथा सेवामा आत्मनिर्भर हुँदैनन्। त्यो सम्भव पनि छैन। तर जति सामान आयात गर्छ, त्यो भन्दा बढी निर्यात गरे मात्र मुलुकको अर्थतन्त्र सबल हुन्छ। निर्यात बढाउन नसके नचाहिँदा वस्तुको आयातै रोक्ने वा नियन्त्रण गरेर पनि व्यापार घाटा कम गर्न सकिन्छ। उच्च व्यापार घाटाले समस्यामा पारेको बेला अहिले हामीले पनि विलासी र अनावश्यक सामान आयातलाई निरुत्साहित गर्नैपर्छ। कुन–कुन वस्तु विलासी र अनावश्यक हुन् सरकारले तुरुन्त पहिचान गर्नुपर्छ। केही वर्षयता सुन आयात नचाहिँदो ढंगले बढेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र ३४ अर्ब ६१ करोडको ७ हजार ४ सय ९३ किलो सुन आयात भएको छ। प्रत्येक वर्ष सुन आयात बढेको छ। यो हाम्रोजस्तो अर्थतन्त्रका लागि राम्रो होइन। तीन वर्षअघि (२०७३–०७४ मा) २३ अर्बको सुन आएको थियो। अहिले ११ अर्ब रुपैयाँले बढेको छ।

हाम्रो सामाजिक पक्ष हेर्दा सुन आवश्यक पर्ने वस्तु पनि हो। कतिपय सांस्कृतिक चाडपर्वमा सुन प्रयोग गरिन्छ। जन्म र मृत्यु संस्कारमा पनि सुन चाहिन्छ। तर प्रत्येक वर्ष ३४ अर्बको सुन आवश्यक छैन। उच्च व्यापार घाटा हुनुमा विलासिताका अन्य वस्तुजस्तै सुन पनि एउटा प्रमुख कारक देखिएको छ। यसैले जतिसक्दो सुन आयात नियन्त्रण गर्ने उपाय अपनाउन सरकार चनाखो हुनुपर्ने बेला आएको छ। सुनको अनावश्यक आयात देखेरै हुनुपर्छ, सरकारले चालु आवमा यसको भन्सार दर प्रतिदशग्राम ८ सय रुपैयाँ बढाएको छ। सुन आयात कम गर्ने पहिलो उपाय नै यसको भन्सार महसुल बढाउनु हो। सुन महँगो बनाउन सके खपतमा कमी आउँछ र आयात स्वतः घट्छ। अर्कातिर सरकारले सुनका गरगहना लगाएर नचाहिँदो आडम्बर देखाउनेहरूविरुद्ध निगरानी बढाउने हो भने यसको आयात कम हुन्छ। विवाह, व्रतबन्ध, तीजजस्ता विभिन्न पर्वमा सुन लगाएर हिँडने महिला वा पुरुषका आम्दानीका स्रोत खोज्न सके मात्र पनि यसको प्रयोगमा कमी आउनेछ। अहिले भ्रष्टाचार गर्नेहरूले बैंकमा पैसा राख्न नपाएपछि सुन किन्ने प्रचलन बढेको छ। ठूलो परिमाणमा सुन खरिद–बिक्रीमा अनिवार्य आयस्रोत खोज्ने व्यवस्था गर्न सके पनि यसको आयात घटाउन सहयोग पुग्छ।  अहिले अमेरिका र चीनबीचको व्यापारमा देखिएको समस्याले सुनको भाउ प्रतितोला ७० हजार हाराहारीमा पुगेको छ। सुनको मूल्य जति बढ्छ, त्यति राज्यले धेरै अमेरिकी डलर दिनुपर्छ। अर्कातिर नेपालका लागि आयात गरेको सुन केही व्यापारीले भारतमा चोरी÷तस्करी गर्दै आएका छन्। अमेरिकी डलर तिरेर ल्याएको सुन भारतीय रुपैयाँमा बेच्दा मुलुकलाई झनै समस्या पार्छ। यसैले चोरी÷तस्करी निरुत्साहित गर्न पनि सरकार लाग्नुपर्ने देखिएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App