राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो। उनी जन्मेका बेला पृथ्वीनारायण शाहको नेतृत्वमा काठमाडौंको कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो। जहाँ काजी कालु पाण्डे मारिएकाले परिस्थिति तनावपूर्ण थियो। हिमवत्खण्डमा अवस्थित धेरै हिन्दुराज्यलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेको थियो। बहादुर शाह आफ्ना पिता (पृथ्वीनारायण शाह) को राष्ट्रिय एकीकरण अभियानलाई मूर्तरूप दिन समर्पित थिए। यसक्रममा उनी नेपालको भूभाग झन्डै तेब्बर बनाउन सफल भएका थिए।
हिमवत्खण्डका ५४ वटाजति हिन्दुराज्य एकीकृत गर्र्ने अभियानकै क्रममा पृथ्वीनारायण शाहको स्वर्गारोहण भएको थियो। त्यसपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरे। अहिले भारतमा पर्ने चारधाम केदारनाथ, बद्रीनाथ, अमरनाथ र सोमनाथ पनि त्यसबेला विशाल नेपालमा समावेश भएका थिए। बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरण हुन लागेको समयदेखि नै विदेशीहरूले यो क्षेत्रलाई आफ्नो प्रभावक्षेत्र बनाउन नेपालमा अनेक षड्यन्त्र गरेका थिए। राष्ट्रिय एकीकरण निस्तेज बनाउन दरबारभित्र अनेकौँ प्रपञ्च, हत्याकाण्ड रचे। राष्ट्रिय एकीकरण जारी नै थियो। तथापि हिमवत्खण्डका अन्य बाँकी हिन्दुराज्यहरूलाई विशाल नेपालमा एकीकृत गराउने बाटाहरू अवरोध गरियो। यसको निहुँमा लडाइँमा भएका हिसाब–किताबका कुरा उठाउन थालियो। यस कुराले बिस्तारै राजा रणबहादुर र नायब बहादुर शाहबीच खटपट बढ्यो र अन्ततः रणबहादुरबाटै बहादुर शाहलाई नजरबन्द गराइयो।
नेपालको इतिहासमा चीनसँग सन्धि गर्ने पहिलो व्यक्ति बहादुर शाह नै हुन्। तर नेपाल एकीकरणका हस्ती उनीजस्ता महान् सपुतलाई अझै राष्ट्रिय विभूति घोषणा गरिएको छैन।
बहादुर शाह चीनप्रति नजिक हुन लागेकामा अंग्रेजहरू सन्तुष्ट थिएनन्। इस्ट इन्डिया कम्पनी भारतबाट नेपाल तथा तिब्बतसँग व्यापार बढाउन उत्सुक थियो। हेटौँडाको बाटो हुँदै अंगे्रजी मालसामान पठाउन पाए भोटको ठूलै भागमा विस्तार हुने मनसाय थियो। बहादुर शाहको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएको थियो। चीनसँग सम्बन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दच्किन लागेको थियो। मौका पर्खेर बसेका अंग्रेज त्यसबेला बहादुर शाहविरुद्ध नेपालका कुरौटे, भरौटे भाइभारदारहरूलाई अनेकौँ तिकडम गर्न पछि परेनन्। अनेकौँ षड्यन्त्र गरेर बन्दी अवस्थामै १८५४ असार १४ गते ४० वर्षकै उमेरमा नेपालका सपुत बहादुर शाहको हत्या गरियो। देशका लागि अझ सशक्त बन्नुपर्ने बेला अंग्रेजको षड्यन्त्रबाट दरबाररियाहरूलाई उचालेर विष्णुमती किनारको कैदखानामा उनलाई मारिएको थियो भनिन्छ। तर बहादुर शाह प्रतिष्ठानको आलेखमा उनलाई नुवाकोटै पु¥याएर अत्यन्त यातानाका साथ हत्या गरिएको थियो पनि भनिन्छ। नेपालको दुर्भाग्य नै हो– बहादुर शाहजस्ता महान् सपुतलाई अल्पायुमै गुमाउनुप¥यो। उनको हत्याको नभएको भए विशाल नेपालको सीमाना पूर्व ब्रम्हपुत्र, पश्चिम हिन्दुकुश र दक्षिण वारवार गंगानदीसम्म हुन्थ्यो होला !
इस्ट इन्डिया कम्पनीले नेपाल सरकारसँग सहमति कायम गर्न सन् १७९३ मार्चमा अंग्रेजी दूत कर्कपेट्रिकको प्रतिनिधि मण्डल पठाएको थियो। तर यसको केही दिनअघि नै नेपाल–चीनबीच सन्धि भइसकेकाले अंग्रेजको कूटनीति सफल हुन सकेन। नेपाललाई के थाहा थियो भने अंग्रेजसँग समझदारी बढाउनु भविष्यका लागि राम्रो होइन। त्यो समय चीनसँग सन्धि गर्नु दूरदर्शी काम थियो। त्यसबेला तिब्बतलाई भोट भनेर चिनिन्थ्यो। नेपाललाई थाहा थियो– तिब्बतको आड चीन नै हो। भोटका प्रथम दलाई लामाको नियुक्ति विक्रम संवत् १४७६ मा चीनबाटै भएको र त्यसपछि अहिलेसम्म तिब्बतमा निर्वासित दलाई लामासमेत १३ दलाई लामा भइसकेका छन्। दलाई लामा भिक्षु भएकाले विवाह हुँदैन र दलाई लामाको अवतार खोजेर साना बालकलाई गद्दीमा राख्ने चलन थियो। त्यसबेला तिब्बत चीनकै अधीनमा थियो। भोटसँग कुनै झगडा भयो भने नेपालले चीनको विरोध गरेजस्तो हुन्थ्यो। त्यसैले चीनसँग समझदारी राख्नु बहादुर शाहको सफल कूटनीति थियो। तर तिब्बतमा मल्लकालदेखि चाँदीका टक चल्थे। तर त्यसमा तामा पनि मिसाएर पठाउने गरिन्थ्यो। यसबाट भोटसँगको मित्रतामा कुठाराघात हुने देखेर पृथ्वीनारायण शाहका पालादेखि नै चाँदीका टक पठाउने गरिएको थियो। तर पहिलाका तामा मिसाएका टक पनि भोटमा जाँदारहेछन्। यसले गर्दा दुई देशबीचको व्यापार बिग्रिन थाल्यो भने सम्बन्धमा पनि चिसोपन आउन थाल्यो।
भोटसँग चीनको प्रभाव राम्रो रहेकाले बहादुर शाह चीनलाई मध्यस्थकर्ता बनाउन चाहन्थे। तर भोटको बाटो भएर चिठ्ठी चीन पुग्न पाएन। त्यसबेला दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए। तर काठमाडौँबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाइँ भयो र नेपालको जित भयो। त्यसबेला सिक्किमले नेपालको आधिपत्य स्वीका¥यो। सिक्किममा आफ्नो हार भएपछि दलाई लामा टसी लामाले चीनसँग सहायता मागे। चीनबाट ७ हजार सेना भोटको सहायताका लागि आए। नेपालको राजधानी काठमाडौँमा दक्खल पु¥याउने सोचअनुरूप चिनियाँ फौज सक्रिय भयो। १८४९ असारमा चिनियाँ फौजसँग घमासान युद्ध भयो। २ सय चिनियाँ र ३ सय नेपालीले वीरगति प्राप्त गरे। केरुङमा चीनको दक्खल हुन पुग्यो। नेपाली फौज रसुवाको धुन्चेमा थियो। चिनियाँसँग भिड्न बहादुर शाह राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिएर धुन्चे पुगे। चिनियाँसँग मुठभेड भई ठूलो लडाइँ भयो। १५ सय चिनियाँ सेनाको मृत्यु भयो भने अरू भागे। त्यसपछि चिनियाँ पक्षले सन्धिको कुरा उठायो।
त्यसबेला नेपाली फौजका ५ सय जना हताहत भए। बहादुर शाहको मित्रवत् कूटनीतिका कारण चीनसँग सन्धि भयो। त्यसपछि चीनका बादशाहकहाँ नेपालबाट ५ वर्षमा राजदूत जाने व्यवस्था भयो। त्यस सन्धिमा सशस्त्र सैनिकबाहेक नेपालका हरेक नागरिकलाई भोट तथा चीनका राज्यमा पर्यटन गर्न, कारखाना खोल्न, व्यापार गर्न अनुमति प्राप्त हुने, नेपाल–भोट कसैले एकअर्काको जमिनमा दक्खल पु¥याउन खोजे दुवै देशका सरकारी प्रतिनिधिले पेकिङ दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने, विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले नेपाललाई अनिवार्य सहायता गर्ने, चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिङ आउँदा–जाँदा हरेक सुविधाको प्रबन्ध मिलाउने कुरा सन्धिमा उल्लेख गरियो।
नेपालको इतिहासमा चीनसँग सन्धि गर्ने पहिलो व्यक्ति बहादुर शाह नै हुन्। तर नेपाल एकीकरणका हस्ती उनीजस्ता महान् सपुतलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने हो तर अझै गरिएको छैन। बहादुर शाहको जन्म तथा मृत्यु दुवै नुवाकोटमै भएकाले रसुवा–नुवाकोट मार्गको नाम बहादुर शाह राजमार्ग कायम गरिए वीर सपुतको सम्मान ठहर्नेछ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सुपुत्र विशाल नेपालका अग्रदूत बहादुर शाह नेपालको इतिहासमा अजर–अमर छन्।
प्रकाशित: ८ असार २०७६ ०३:४६ आइतबार