दशन मण्डल
म सप्तरीको सुरुङ्गा–७ बसनपट्टी बस्छु। लेखपढ गर्न जान्दिन। छिमेकी बहिनीको मद्दतले यो पत्र लेख्दैछु। ५० वर्षको भएँ। कडा कामले हातमा मात्र हैन, काँधमा पनि ठेला नै ठेला छ। गिरहत र अन्य ज्यालाको कामले मेरो पुरै शरीरको छाला मरेको जस्तो भएको छ।
गाउँब्लकको ५ धुर जति जग्गामा झुपडी थियो। जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउने योजना प-यो। धेरैतिर धाएर बल्लतल्ल घर बन्यो। बनेको ३ वर्ष बित्दा पनि झ्याल ढोका भने हाल्न सकेको छैन। बनाउनेले हालिदिएन। आफूले हाल्न सक्ने स्थिति छैन्। अरु कतिको त घर पनि बनेको छैन। म गिरहतकोमा काम गर्थेँ। गिरहतसँग लिएको ऋण २५ हजार समूह र अर्को साहूसँग ऋण लिएर तिरेपछि ज्यालाको काम गर्न थालेको छु। म हरुवा/चरुवा संगठनमा लाग्न थालेपछि ‘कि संगठन छोड् कि मेरो ऋण फिर्ता गरेर जग्गा जोत्न छोड्’ भनेकाले मैले संगठन रोजेको हुँ।
एक गेडो अन्न उब्जाउने पनि जमिन नभएकाले फेरि गाउँकै एक चौधरीकोमा हरुवाइ गरिरहेको छु। मैले उसको जमिन जोत्नुपर्छ। र, बाँकी समयमा अन्य खेतीको काम गर्नुपर्छ। बिहान उठ्नेबित्तिकै गिरहतकोमा जान्छु। बेलुका थकाइले लखतरान भएर घर फर्कन्छु। मेरो जीवन यसरी नै बितेको छ। यसरी काम गर्दा १० किलो धान पाउँछु। नगदमा हिसाव गर्दा २ सय रुपियाँ हुन्छ। गोबर सोहोर्ने, दाउरा चिर्ने काम पनि गर्नुपर्छ। त्यसको ज्याला पाइँदैंन, फोकडमा गर्नुपर्छ।
सप्तरी र पूर्वका अन्य जिल्लामा म जस्ता हजारौँं हरुवा छन्। कसैको घर बनाउनेसम्म पनि जमिन छैन। बाटोछेउ र खोलाका किनारमा घर छ। त्यहाँबाट पनि उठीबास गराइन्छ। बच्चालाई खानेकुराको अभावमा पढ्न पठाउन अप्ठेरो भएको छ। कसैले ज्याला पाउँदैनन्। ४, ६ कठ्ठा गिरहतको जमिन लिएबापत सित्तैमा काम गरिदिनुपर्छ। जिन्दगीभर गिरहतकोमा काम गर्दा पनि ऋण घट्दैन। उल्टै बढिरहेको हुन्छ। धेरै हरुवा ऋणको चिन्ताले सुत्न पनि सकेका छैनन्।
सबै हरुवा/चरुवा जो लगभग सबै दलित छन्, भूमिहीन छन्। गाउंँब्लक, अरुको नाममा रहेको जग्गा, पोखरीको ढिक, नदीको किनार, ऐलानी जस्ता जोखिमयुक्त सार्वजनिक जग्गामा झुप्रो बनाएर जीवन बितेको छ। छुवाछूत र जातीय विभेद पनि उत्तिकै छ। कमैया, हलिया, कमलरीलाई सरकारले धेरथोर भए पनि हे¥यो तर हामी हरुवा÷चरुवालाई भने कुनै पनि हिसावले समेटेको छैन्।
मैले सुनेअनुरूप तपाईँगरिबको पक्षमा काम गर्नेखालकोअर्थमन्त्री हुनुहुन्छ रे। त्यसैले हरुवा/चरुवाको लगत लिई जग्गा र घरसहित जीविकोपार्जन गर्ने विशेष कार्यक्रम अवको बजेटमा समावेश गरिदिनु हुन हार्दिक अनुरोध छ। र, यो बजेटमा हामी जस्ता पिँधका मानिसको पनि केही भाग लागोस्।
अध्यक्ष– राष्ट्रि हरुवा/चरुवा मञ्च, नेपाल
प्रकाशित: ९ जेष्ठ २०७६ ०३:५३ बिहीबार