१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

छिमेकमा लोकतन्त्रको मेला

‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’का रूपमा परिचित भारतको लोकसभा निर्वाचन बिहीबारदेखि सुरु भएको छ। आफ्नो छिमेकमा भएको यो लोकतन्त्रको उच्चतम अभ्यास नेपालका निम्ति पनि कम्ती रुचिकर छैन। देशभर सात चरणमा हुने निर्वाचनको पहिलो दिन २० राज्यका ९० क्षेत्रमा त्यहाँका जनताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। ९० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने यो निर्वाचन आफैंमा लोकतन्त्रमा विश्वास गर्नेहरूका निम्ति रुचिकर पक्ष हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्ष लामो आफ्नो स्थिर र बलियो सरकार चलाइसकेपछि आयोजना भएको यो निर्वाचन उनका निम्ति आफैंमा अर्को जनमतसंग्रहसमेत हो। एकातिर मोदीको भारतीय जनता पार्टी नेतृत्वको नेसनल डेमोक्रेटिक अलाइन्स (एनडिए) छ भने अर्कोतिर राहुल गान्धीको भारतीय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए) छ।

यी दुई गठबन्धनका नेतृत्वकर्ता मोदी र गान्धीबीचको प्रतिस्पर्धामा सर्वसाधारणले कस्तो अभिमत दिने हुन् भन्ने व्यग्र प्रतीक्षा भइरहेको छ। मोदीले फेरि बहुमत हासिल गरे भने उनले बितेका पाँच वर्षमा गरेको कामलाई सर्वसाधारणले सकारात्मक रूपमा लिएछन् भन्ने सन्देश प्रवाहित हुनेछ। निर्वाचनको मुखमा कलाकारहरूले उनलाई मतदान नगर्न गरेको आग्रहबाट बुझ्न सकिन्छ, त्यहाँ बुद्धिजीवी र प्रेसको एउटा तप्का मोदीको कार्यकालप्रति असन्तुष्ट छ। त्यसको प्रतिविम्ब निर्वाचनअघि देखिइसकेको छ। प्रजातान्त्रिक प्रक्रिया र लोकतन्त्रका संस्था भत्काएको आरोपसमेत मोदीलाई लागेको छ। यस क्षेत्रमै सबैभन्दा गतिशील मानिएको भारतीय प्रेस मोदीको शासनका बेला सबैभन्दा कमजोर रहेको महसुससमेत भएको छ। तथापि मोदीले कांग्रेस र कम्युनिस्ट मिलेर प्रजातान्त्रिक वातावरण बिगारेको प्रतिक्रिया दिएका छन्।
भारतको कर्पोरेट क्षेत्र मोदीबाट बढ्ता लाभान्वित भएको भन्ने आरोप छ। उनले किसान र गरिब भारतीयका निम्ति गरेका वाचा कति पूरा भए भन्ने विश्लेषण यतिबेला त्यहाँ भइरहेको छ। आफ्नो कार्यकालमा मोदीले सधैं गरिब जनताको पक्षमा काम गरेको बताएका छन्। उनले यथार्थमै काम गरेका हुन् भने ग्रामीण मतदाताले उनलाई पुनः सत्ताशिखरमा पु¥याउनेछन्। हामीकहाँजस्तै भारतीय निर्वाचनमा ग्रामीण मतदाता निर्णायक हुने गरेका छन्। पाँच सय ४५ स्थान रहेको भारतीय लोकसभाका पाँच सय ४३ स्थानमा यसपटक निर्वाचन हुँदै छ। बाँकी दुई स्थानमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। यो निर्वाचन थप मतदाताका कारण पनि अद्वितीय छ। सन् २०१४ को निर्वाचनमा भन्दा यसपटक झन्डै साढे आठ करोडभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

यी नयाँ मतदाताको रुझान कस्तो हुने हो, त्यसले पनि निर्वाचन परिणामलाई प्रभाव पार्नेछ। भारतीय निर्वाचनबाट नेपालले सिक्नुपर्ने पाठ भने त्यहाँको निर्वाचन आयोगले योबेला खेल्ने भूमिका हो। निर्वाचनको मौका पारेर मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’लाई आयोगले प्रसारणमा रोक लगाएको छ। हामीकहाँ भने निर्वाचनमा मतपत्र च्यात्दा समेत निर्वाचन आयोगले त्यसलाई रद्द गरी अर्को निर्वाचन गराउनुपर्ने आवश्यकता महसुस गरेन। त्यति मात्र होइन, तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बन्ने बेलामा अर्को दलको नाम दिने कामसमेत निर्वाचन आयोगका तर्फबाट भएको छ। भर्खरै अवकाशप्राप्त निर्वाचन आयुक्त इला शर्माले उक्त दल दर्ता गर्दा र महिलाका निम्ति पर्याप्त स्थान नछुट्याउँदा समेत केही गर्न नसकेको लाचारी मात्र व्यक्त गरेकी छन्। निर्वाचन भरपर्दो रहेको सन्देश दिन निःसन्देह निर्वाचन आयोग प्रभावकारी हुनुपर्छ।

भारतीय लोकतन्त्रबाट हामीले लिने प्रेरणा भनेको त्यसको सक्रियता हो। आवधिक निर्वाचनले लोकतन्त्रलाई जीवन्त तुल्याउँछ। भारतमा यो अभ्यासलाई दिइएको महत्व हाम्रा निम्ति प्रेरक छ। लोकतन्त्र विकासका निम्ति दिगो प्रक्रिया हो। भारतले आज पक्रिएको विकासको गति लोकतन्त्रकै कारण हासिल भएको हो।


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदी पुनः प्रधानमन्त्री भएको हेर्न चाहेको सन्देश दिएर भारतीय विपक्षी दलहरूलाई मसला दिएका छन्। तर उनले आफ्नो मुलुकको भारतसँगको सम्बन्ध भविष्यमा सुधारमा मद्दत पुग्ने स्वार्थले पनि यसो भनेका हुन सक्छन्। निर्वाचनको मुखमा भारत र पाकिस्तानबीच देखिएको तनावको स्थिति यथार्थ नभएको सन्देश दिनसमेत खान सफल भएका छन्। निर्वाचन भारतमा भए पनि यस क्षेत्रमा कुनै न कुनै रूपमा त्यसको प्रभाव पर्छ। नेपालमा पनि आगामी नेतृत्वका आधारमा दुई देशबीचको सम्बन्ध निर्भर हुने विश्वास छ। भारतको वैदेशिक मामिलामा दलहरूबीच अन्तर छैन भने पनि व्यक्ति विशेषले भने सम्बन्धमा फरक पार्न सक्छन्। मोदीले आफ्ना पूर्ववर्तीहरूको विगत अभिलेखलाई उछिन्दै नेपालमा चारपटक भ्रमण गरेका हुन्। छिमेकीलाई भारतीय प्रधानमन्त्री मोदीले दिएको यो महŒवलाई यहाँ सकारात्मक रूपमा लिइएको भए पनि उनको कार्यकालमा नेपालमा नाकाबन्दी गरिनुलाई भने उचित मानिएको छैन।

भारतको राजनीतिक परिदृश्य भने पछिल्ला वर्षमा बदलिँदै गएको छ। लामो समयसम्म भारतीय कंग्रेसले सत्ता चलाएकोमा भारतीय जनता पार्टी शक्तिशाली रूपमा उदाएको छ। समाजवादी र कम्युनिस्टहरू भारतीय राजनीतिमा समाप्त भएका छन्। साथै क्षेत्रीय र भाषिक दलहरू भारतीय परिदृश्यमा उदाएका छन्। राजनीतिक शक्तिको उदय र अन्त्य तिनको भूमिकाले निर्धारण गर्ने हो। तथापि भारतीय लोकतन्त्रबाट हामीले लिने प्रेरणा भनेको त्यसको सक्रियता हो। आवधिक निर्वाचनले लोकतन्त्रलाई जीवन्त तुल्याउँछ। भारतमा यो अभ्यासलाई दिइएको महŒव हाम्रा निम्ति प्रेरक छ। लोकतन्त्र विकासका निम्ति दिगो प्रक्रिया हो। भारतले आज पक्रिएको विकासको गति लोकतन्त्रकै कारण हासिल भएको हो।

प्रकाशित: २९ चैत्र २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App