भारतको लोकसभा चुनाव अगाडि बलिउडमा तीन चलचित्र चर्चामा आए– कंग्रेस आईका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित ‘दि एक्सिडेन्टल प्राइममिनिस्टर’, भारतले सन् २०१६ सेप्टेम्बरमा पाकिस्तानमा गरेको हमलामा आधारित ‘उरीः दि सर्जिकल स्ट्राइक’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित ‘पिएम नरेन्द्र मोदी’। लोकसभा चुनावलाई प्रभावित पार्ने उद्देश्यले यी तीन चलचित्र निर्माण गरिएको मोदी विरोधीको आरोप थियो। त्यसमध्ये पनि मोदीको जीवनीमा आधारित चलचित्र निकै विवादमा प¥यो। चलचित्रमार्फत् मतदातालाई प्रभाव पार्न खोजेको भनियो। निर्वाचन आयोगमा उजुरीदेखि अदालतमा मुद्दा दायरसम्म भयो। चुनावको पूर्वसन्ध्यामा बुधबार भारतको निर्वाचन आयोगले ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनीमा रोक लगाउने निर्णय ग¥यो।
भारतको राजनीतिमा बलिउड र क्रिकेटले निकै प्रभाव पार्छन्। कुनै बेला लालु यादवले चुनावी मत माग्दा ‘विहारको सडकलाई हिमा मालिनीको गालाजस्तै चिल्लो बनाइदिन्छु’ भन्थे। तिनै हिमा मालिनी अहिले भारतीय जनता पार्टीबाट चुनावी मैदानमा छिन्। बलिउडमा सदावहार सुन्दरीको परिचय बनाएकी हिमा मालिनीले मथुरा क्षेत्रमा किसानका खेत–खेत पुगेर गहुँ काटेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। भारतको लोकसभा चुनावमा रङविरङका घटना परिघटना देखिइरहेछन्। भारतको राजनीति बलिउडका चलचित्रसँग कतै न कतै जोडिइहाल्छ। त्यसैले त भारतमा राजनीतिदेखि नेता विशेषको जीवनीसम्ममा आधारित चलचित्रहरू धमाधम बने। मोदी बलिउड र क्रिकेटका सेलिब्रिटीजस्तै बनेका छन्। कुनै बेला इन्दिरा गान्धी भारतभित्र मात्र नभई बाहिरसमेत लोकप्रिय भएकी थिइन्। उनको हेयर स्टाइल, पोसाक र बोलीको नक्कल गर्नेहरू आज पर्यन्त छन्। इन्दिराको कपाल र पोसाक ब्रान्ड नै बन्यो। इन्दिरापछि भारतमा मोदी त्यस्ता सेलिब्रेटी नेता बने जसको दाह्री, कपाल र पोसाकको नक्कल सर्वसाधारणले गरे। मोदी कोटले भारतभित्र मात्र होइन, बाहिरसमेत बजार लिन सक्यो। ‘मोदी ब्रान्ड’ लोकप्रियताको चुलीमा पुग्यो। बजार मोदी डिजाइनका पहिरनले भरिएका छन्। राजनीतिमा मोदी ब्रान्डको बलियो स्थान छ। भारतभित्र मात्र नभई बाहिरसमेत मोदी ब्रान्डले महत्व राखेको छ।
मोदीविरुद्ध विपक्षीले फालेका चुनावी तुरूप कमजोर छैनन्। तिनलाई कमजोर पार्न उनले चालेका रणनीति कति सार्थक होलान् वा नहोलान् त्यो निर्वाचन नतिजाले देखाउनेछ।
प्रधानमन्त्री भएलगत्तै मोदीले अप्रत्याशित र आश्चर्यजनक कदम चाल्ने नेताको परिचय बनाए। जसमध्ये नोटबन्दी, अचानक पाकिस्तान भ्रमण र पाकिस्तानमाथिको सर्जिकल स्ट्राइक यसका केही उदाहरण हुन्। पाँच वर्षको कार्यकालमा चारपटक नेपाल भ्रमण गरेर मोदीले यहाँका कूटनीतिक मामलाका जानकारहरूलाई समेत आश्चर्यमा पारिदिए। चर्चा र आलोचनाका बीच मोदीले पाँचवर्षे कार्यकाल पूरा गर्दैछन्। गुजरातको मुख्यमन्त्री हुँदै सत्तामा उदाएका मोदीको परीक्षण सिंगो भारतको प्रधानमन्त्रीकै रूपमा भइसकेको छ। अब उनको बितेको कार्यकालको परीक्षण हुनेछ। ९० करोड भारतीय मतदातामाझ उनको अग्निपरीक्षा हुँदैछ।
जोखिमयुक्त कदमको परीक्षण
मोदीले चुनावअगाडि धेरै वाचा गरे। ती कति पूरा भए, भएनन् तर उनले आफूलाई बलियो नेताका रूपमा स्थापित गरे। उनको कार्यकालमा भारतले ‘एन्टी सेटलाइट मिसाइल’ परीक्षण ग¥यो। अमेरिका, रुस र चीनपछि एन्टी सेटलाइट मिसाइल परीक्षण गर्ने चौथो राष्ट्र बन्यो भारत। परम्परागत मित्रशक्ति अमेरिकासमेत भारतको कदमबाट चिढियो। नासाका प्रशासक जिम ब्रिडेनस्टीनले भारतले गरेको परीक्षणले अन्तरीक्षमा बनेका अवशेषहरूले अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा खतरा सिर्जना गरेको अभिव्यक्ति दिए। विश्वकै शक्तिशाली राष्ट्रहरूको चासोसँग जोडिएको भारतको उक्त परीक्षण मोदी सरकारले उठाएको जोखिम थियो। भारतले गरेको परीक्षणले मोदीको लोकप्रियता बढ्न गयो। जुन कदमले भारतमा राष्ट्रवादको विषय फेरि उठ्यो।
‘राष्ट्रवाद’ को मुद्दालाई मुख्य अस्त्र बनाएर चुनावमा होमिएका मोदीले पाकिस्तानप्रति कडा व्यवहार गरेर भारतीय नागरिकको मन जित्न खोजेका छन्। मोदीबाहेक अर्को नेताले पाकिस्तानलगायत भारतविरोधी शक्तिको सामना गर्ने क्षमता राख्दैनन् भन्ने सन्देश उनले प्रवाह गर्ने प्रयास गरेका छन्। आतंककारी हमलाबाट पुलवामा ४६ सुरक्षाकर्मी मारिएपछि भारतीय सैन्य विमानले पाकिस्तानको सीमाभित्र प्रवेश गरी बम हमला ग¥यो। पाकिस्तानले पनि भारतको सैनिक विमान खसालेर पाइलट पक्राउ गरिछाड्यो। अन्तर्राष्ट्रिय दबाबपछि घटना शान्त भए पनि यसको असर अहिले जारी भारतको चुनावमा पर्ने आकलन गरिएको छ। कमजोर बन्दै गएका मोदीलाई पाकिस्तानसँगको तनावले पुनः शक्तिशाली बनाएको विश्लेषणहरू भए। चलचित्रका नायकले झैँ उनले दिएका भावुक अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भयो।
मोदीले पाँचवर्षे कार्यकालभित्र मोलेको सबैभन्दा ठूलो जोखिम हो– नोटबन्दी। जसले भारतको तल्लोदेखि माथिल्लो तहसम्म नागरिकको दैनिक जीवनमा सकारात्मक र नकारात्मक असर पा¥यो। कालोधनका कारोबारीविरुद्ध आक्रमणको उद्देश्यले गरिएको थियो त्यो। यसबाट नक्कली नोट कारोबार अन्त्य हुने अपेक्षासमेत गरिएको थियो। भारतको अर्थतन्त्रमा केही सकारात्मक माहोल सिर्जना भए पनि नोटबन्दीले सर्वसाधारण पीडामा परेका धेरै घटना सार्वजनिक भए। विपक्षीले यो कदमबाट पछाडि हट्न दबाब दिए। तर मोदीले मानेनन्। नोटबन्दी गरिछाडे। यसले मोदीको लोकप्रियता घटेको विश्लेषण नभएका होइनन्। यसको असर भारतको विभिन्न प्रान्तमा भएका चुनावी नतिजामा भाजपाको हारबाट पनि देखियो। अब लोकसभा चुनावमा नोटबन्दी कदमको परीक्षण हुनेछ।
मोदीका चुनौती
लोकसभा चुनाव हुनु केही महिनाअगाडि विभिन्न राज्यमा भएका विधानसभा चुनावमा भारतीय जनता पार्टीले हार बेहो¥यो। मध्यप्रदेशमा लामो समयदेखि उसको शासन समाप्त भयो। राजस्थान र छत्तीसगढमा पनि भाजपा पराजित भयो। यी दुवै भाजपाको बलियो प्रभाव भएका राज्य हुन्। सबैभन्दा बढी लोकसभाका लागि सिट भएको उत्तरप्रदेशमा अघिल्लोपटक जस्तै शानदार जित हात पार्न भाजपालाई चुनौती छ। कतिपय राज्यमा विपक्षी एकजुट भएका छन्। उत्तरप्रदेशमा परम्परागत विरोधी अखिलेश यादव नेतृत्वको समाजवादी र मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीको गठबन्धन बनेको छ। कंग्रेस आईले महत्वपूर्ण राज्यहरूमा क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको छ। माहोल यस्तो बन्यो कि मोदीको दल भाजपासँग भारतका धेरै दल चुनावी प्रतिस्पर्धा गर्दैछन्। भाजपाले महाराष्ट्र, तामिल नाडु र विहारमा क्षेत्रीय दलहरूसँग गठबन्धन गरेर धेरै सिट छाड्नुपरेको छ।
विपक्षीले मोदीले चुनावी वाचा पूरा नगरेको भन्दै नैतिक प्रश्न उठाइदिएका छन्। मोदीले रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी हटाउने वाचा गरे पनि झन् बेरोजगारी बढेकोबारे कंग्रेस आईकी महासचिव प्रियंका गान्धी राजनीतिमा प्रवेश गरेपछि पहिलो चुनावी भाषणमा बोलिन्। दिल्लीका मुख्यमन्त्री अरवीन्द्र केजरीवालले मोदीको भनाइ र गराइबीच भिन्नता भएको भन्दै तथ्यसहित आलोचना गरिरहेका छन्। पछिल्लो समय पाकिस्तानसँगको तनाव र भारतले दाबी गरेको विषय विवादमा छ। पाकिस्तानी विमान खसालेको र आतंकवादीहरू हताहत भएको विवरणबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानबाट झूटो दाबी भयो। कतिपयले पाकिस्तानसँगको तनावलाई मोदीको चुनावी रणनीतिसमेत भने। पाकिस्तानलाई हेर्ने दृष्टिकोण भारतीय मतदातामा नकारात्मक भएकाले भावना जित्न मोदीले उपाय अपनाएको आरोपले बल पाउनुको कारण लोकसभा चुनाव घोषणापूर्व घटनाक्रम विकास हुनु थियो।
फ्रान्ससँगको राफेल युद्धविमान खरिद प्रक्रिया विवादमा प¥यो। ३६ वटा युद्धविमान खरिदमा घोटाला भएको भन्दै विपक्षी कंग्रेस आईले संसदमा आवाज उठायो। भारतमा विदेशीसँग विमान खरिदका क्रममा हुने घोटाला विगतमा पनि चर्चामा आउने गरेको थियो। चुनाव गर्नुपर्ने समय नजिकिँदै गर्दा विपक्षीहरूले राफेल प्रकरण उठाउँदा भारतीय जनतामा मोदीको लोकप्रियता घट्न पुग्यो। अहिलेसम्म मोदीले राफेल खरिद प्रक्रियाबारे रक्षात्मक अभिव्यक्ति दिँदै आएका छन्। विपक्षीले यो मुद्दालाई चुनावी अस्त्र बनाइरहेको छ।
मोदीविरुद्ध विपक्षीले फालेका चुनावी तुरूप कमजोर छैनन्। तिनलाई कमजोर पार्न उनले चालेका रणनीति कति सार्थक होलान् वा नहोलान् त्यो निर्वाचन नतिजाले देखाउनेछ। यही अप्रिल ११ देखि जारी संसारकै ठूलो लोकतन्त्रको चुनावमा मोदीको अग्निपरीक्षा हुँदैछ। मोदीको करिश्मा सन् २०१४ मा भाजपाले चुनाव जित्ने मुख्य कारण बनेको थियो। उनको करिश्माले यो चुनावमा काम गर्छ कि गर्दैन ? हेर्न बाँकी छ। चुनाव सुरु हुनुअघि मोदीले रणनीतिक चार्तुयता देखाएका छन्। त्यसले मतदातामा कुनै न कुनै असर पारेको छ। भारतका मतदाताले बलिया नेता नै प्रधानमन्त्रीका रूपमा देख्न चाहेमा उनको विकल्प अझै नभएको विश्लेषण भारतीय राजनीतिक विश्लेषकहरूले गरिरहँदा भाजपा नेताहरू मोदीका लागि मत मागिरहेका छन्। भाजपा अझै मोदीको करिश्मामा निर्भर छ। विपक्षीको बल मोदीको आलोचनामा केन्द्रित छ। भारतको लोकसभा चुनाव मोदीकै सेरोफेरोमा केन्द्रित भएकाले यसले उनको मात्र नभई भारतकै राजनीतिक भविष्य निर्धारण गर्नेछ। भारतीय निर्वाचन आयोगले चुनाव अवधिभर ‘पिएम मोदी’ चलचित्र रिलिज गर्न रोक लगाएजस्तै मोदी पुनः प्रधानमन्त्री बन्नबाट वञ्चित होलान् ? यसको निर्धारण भारतको आन्तरिक राजनीति, बाह्य सम्बन्ध र मोदी कार्यकालका घटना परिघटनाले मतदातामा पारिरहेको प्रभावले यसको निर्धारण गर्नेछ।
प्रकाशित: २९ चैत्र २०७५ ०४:०२ शुक्रबार