पाकिस्तानका संस्थापक कायदेआजम मोहम्मद अली जिन्नाको पोशाकका बारेमा कतिपय अनुश्रुति छन्। भनिन्छ– उनीसँग कम्तीमा दुई सय जोर सर्वोत्कृष्ट गुणवत्ताका पश्चिमा सुट हुने गर्थे। आफ्नो राजनीतिक ध्येयमा सफल भएपछि भने उनले पश्चिमा सुट परित्याग गरेर मुगल शैलीको शेरवानी अंगीकार गरेका थिए। त्यसपछि पनि उनको ‘सबभन्दा आकर्षक लिवासमा सज्जिने राजनीतिकर्मी’ भनिने ख्यातिमा कुनै कमी आएन। अंग्रेजी भाषाको ‘टाइ’ शब्द अझैसम्म पनि सर्वस्वीकृततवरले अनुदित हुन सकेको छैन। कसैकसैले जिस्काएर ’कण्ठलंगोट’ भन्नु र रहरले भिर्नु बेग्लै कुरा, नभए पश्चिमा पुरुष संपरिधान (आन्साम्बल) सँग जोडिएको अनावश्यक अवयव ‘गलपोस’ भन्ने जिनिस दक्षिण एशियामा अझै पनि उतिसाह्रो प्रचलित छैन। भनिन्छ– कायदेआजमले एकपटक लगाइसकेको रेशमी गलपोस कहिल्यै दोहो-याउँदैनथे।
दुई मधेस विद्रोहको आंशिक सफलतापछि राजनीतिक परिदृश्यमा चामत्कारिकरूपले उदाएका सिके राउत पनि पश्चिमा सुटमै सज्जिन रुचाउँछन्। बाहिर देखिँदा गलपोस कहिलेकाहीँ छुटे पनि कमिजमाथि भिर्ने कोट भने उनको कायाबाट गर्मीमा समेत टुट्दैन। कारागर र अदालतको चक्कर लगाउँदासमेत उनी ठाँटिएरै देखा पर्छन्। नाउँ गान्धीको जपे पनि एकसरो धोतीलाई तल र माथि दुवैतिर बेरेर सार्वजनिक जीवनमा राजनीतिकर्मी राउत देखापर्नु कल्पनाबाहिरको कुरा हो। पश्चिमा सुटका गुणज्ञ प्रयोगकर्ता (कानसर) भारतका संविधानवेत्ता एवं समतावादी अभियन्ता बाबासाहेव भीमराव अम्वेडकर पनि थिए। तर बाबासाहेवको छनोट व्यक्तिगत फेसन नभएर दलितहरूको राजनीतिक पुनरुत्थानको अभिकथन (असर्सन) थियो।
राउतले आफ्नो राजनीतिक रहर पु-याउन मधेसी युवाहरूको एउटा ठूलो जमातलाई गोलचक्करमा घुमाएर तिनको सिर्जनात्मक ऊर्जा निस्तेज गरिदिए।
महात्मा गान्धी एकसरो धोती भिरेर सामान्यजनसँग जोडिन चाहन्थे, बाबासाहेव सुटमा सजिएर समता एवं सम्मानको दाबी गर्ने गर्थे। हिन्दु समाजले सामान्यजनमा समेत नगन्ने दलितलाई गान्धीले औपचारिकरूपमा हरिजन भने पनि बाबासाहेवलाई हेक्का थियो, दलित मुक्ति भारतीय संस्कृतिको पश्चिमाकरण एवं आधुनिकीकरणबेगर सम्भव छैन। राउतको पोशाक छनोट बाबासाहेव भन्दा पनि कायदेआजमको जीवनदृष्टिसँग नजिक लाग्छ। प्रसंगवश, राउतले सरकारसँग सम्झौता गर्दा, राजनीतिक दल दर्ता गर्ने निर्णय गर्ने बैठकमा एवं सम्मान कार्यक्रममा उही रातो गलपोस पटकपटक इस्त्री गरेर लगाएका थिए वा हरेकपटक नयाँ वस्त्राभूषण अंगीकार गरेका थिए ? प्रश्न असान्दर्भिक लाग्न सक्छ। तर सार्वजनिक जीवन रोजेका व्यक्तिहरूको निजी छनोट पनि मिनमेखको परिधिबाहिर रहन सक्दैन।
‘शाकाहारी’ हिटलर जस्ता अपवादलाई नगन्ने हो भने लवाइ र खवाइले राजनीतिक रूझानलाई एक हदसम्म देखाउने रहेछ। कायदेआजमको खानपानले इस्लामको बन्देजलाई तोडेको थियो। जवाहरलाल नेहरू काश्मीरी पण्डितहरूको आहार वर्जना मान्दैनथे। महात्मा गान्धी भने गुजराती वैश्यको भक्ष निषिद्धतालाई उल्लंघन गर्दैनथे। गान्धी सामाजिक जीवनमा परम्परापूजक थिए तर राजनीतिमा क्रान्ति ल्याउन चाहन्थे। नेहरू सामाजिक एवं राजनीतिक दुवै मोर्चामा परिमार्जनसहितको आधुनिकताका पक्षधर थिए। इतिहासलाई प्रयोग गर्ने तर त्यसभित्र नबाँधिने महत्वाकांक्षा जिन्नाको थियो। अम्बेडकर भने आधुनिकताबेगर दलित मुक्ति हुन नसक्ने निक्र्याैलमा दृढ थिए। पात्रहरूको सफलता इतिहासले निर्धारण गर्ने कुरा हो। त्यस्तो सत्य निरुपण हुन सैकडौँ वर्ष लाग्ने गर्छ। अल्पकालीन आकलनका आधारमा हेर्ने हो भने दक्षिण एशियाली इतिहासका चार महारथिमध्ये सबभन्दा सफल कायदेआजम देखिन्छन्। महान् व्यक्तिहरूले इतिहास बदल्ने गर्छन्। गैरसैनिक राजनीतिबाट भूगोल बदल्न सफल संसारका थोरै व्यक्तिमा जिन्नाको नाम उपल्लो पंक्तिमा आउँछ। राउतले जिन्नाबाट प्रेरणा पाएका हुन भने त्यसमा कुनै आश्चर्य छैन। वैज्ञानिक छन्। प्रयोग गर्नु उनको पेशाधर्म हो। असफल हुनु अपराध होइन। विज्ञानका सामान्य शोधकर्तालाई समेत थाहा भएको कुरा के हो भने कर्तनाग्र प्रयोगहरू (कटिङ एज एक्स्पेरेमेन्ट्स) मध्ये धेरैजसो अपरिपक्व सुरूवात (फाल्स स्टार्ट) ठहरिन्छन्।
अपर्याप्त तयारी
सक्रिय राजनीतिमा आउनासाथ महात्मा गान्धीले गैरसंवैधानिक प्रक्रिया प्रयोग गर्न थालेका थिए। सत्य, अहिंसा एवं सविनय अवज्ञा जस्ता राजनीतिक आन्दोलनका अस्त्रहरूको प्रयोग फ्रान्सेली वा अमेरिकी क्रान्तिको इतिहासमा थिएन। रसियाली क्रान्तिले त झन् हिंसाको अपरिहार्यता स्थापित गरेको थियो। जिन्नालाई गान्धीको तरिका सुरूमा अराजक लाग्ने गथ्र्याे। उनको विचारमा संविधान उल्लंघन गर्ने बाटो अन्ततः हिंसामै गएर टुंगिन्थ्यो। जिन्नालाई लाग्थ्यो– भारतको स्वतन्त्रता संवैधानिक संघर्षबाट मात्र सम्भव छ। वेलायती परम्पराको याचिका राजनीति (पटिसन पालिटिक्स) उनको रुचिको माध्यम थियो। त्यही विश्वासले गर्दा जिन्नाले सन् १९४२ सम्म सविनय अवज्ञाको विरोध गरिरहे र ’भारत छोडो’ आन्दोलनको विपक्षमा उभिए। भारतको स्वतन्त्रता निश्चितप्रायः भएपछि मात्रै उनले हिन्दु विरोधी ’ठाडै कार्यबाही’ हिंसक कार्यक्रमको अह्वान गरेका हुन्। त्यसपछि गान्धी ओझेलमा पर्दै गए एवं नेहरू तथा जिन्नाको केन्द्रीयता स्थापित भयो।
खवाइमा गान्धीको शुद्धता, लवाइमा जिन्नाको शैली एवं बोलाइमा अम्बेडकरको आक्रोश दर्शाउने राउतको राजनीतिक दर्शन भने नेकपा दोहरोका सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीसँग मिल्दोजुल्दो देखिन्छ। त्यसमा कुनै आश्चर्य पनि छैन। एकताका राउत तत्कालीन नेकपा (एमाले) दलको विद्यार्थी फाँटका प्रतिबद्ध कार्यकर्ता थिए एवं मधेसी सम्मानको कुरा उठाउने सहपाठीहरूलाई राष्ट्रवादको पाठ पढाउने गर्थे। पहिलो एवं दोस्रो विद्रोहताका राउत आफ्नो पेशागत एवं व्यक्तिगत जीवनमैं ब्यस्त थिए। तेस्रो मधेस विद्रोहमा समेत उनका समर्थकमध्ये कोही पनि सडकमा निस्किएनन्। संघीयताले स्वराजको अभियानलाई कमजोर तुल्याउँछ भन्ने उनको निक्र्यौल आधारहीन भने थिएन। प्रजातान्त्रिक ‘सँगै रहने’ संघीयताको अवधारणा ऊब्जिएकै विश्व राजनीतिको परिदृश्यमा देखिन थालेको अन्तहीन स्वतन्त्रताको आकांक्षालाई स्वशासन एवं सहशासनको सम्मिलित व्यवस्थाबाट सम्बोधन गर्नकालागि हो। त्यो कुरा राउतले बेलैमा ठम्याउन सकेनन् वा चाहेनन्। विलक्षण विद्वता भएका व्यक्तिहरूमा अक्खड (ह्युब्रिस्टिक) आत्मविश्वास देखिनु अनौठो पनि होइन। त्यस्तो ज्ञानाहंकारले वस्तुगत परिस्थितिसँग भने विमुख गरिदिने रहेछ।
एक्काइसौं शताब्दीमा आएर ज्ञानेन्द्र शाह वा कमल थापामात्र होइन, नेपाली कांग्रेसका स्वनामधन्य राजनीतिकर्मीहरूसमेत एकल जातीय राज्य, केन्द्रीकृत राज्य व्यवस्था एवं धर्मसापेक्ष राज्यको वकालत गर्न धक मान्दैनन्। यस प्रकारको समाजिक एवं सांस्कृतिक परिस्थितिमा राउतरूपी राजनीतिक यानको अवतरण सहज हुन सक्ने सम्भावना देखिँदैंन।
पाकिस्तान भन्ने राजनीतिक परिकल्पनाको खोजी इतिहासमा गरिएन। त्यो स्पष्टतः एउटा भविष्यमुखी परिचित्र थियो। त्यस्तो अवस्थामा पाकिस्तानको औचित्य विगतमा खोज्नु मुर्खता ठहरिन्थ्यो। जिन्नाले आफ्नो स्थान सर्वेसर्वाका रूपमा सुरक्षित राखे पनि उनीसँग लियाकत अली खाँ एवं अलिगढ परम्पराका आधुनिकतावादी मुसलमान विद्वान्हरूको ठूलो समर्थन आधार थियो। विश्वयुद्धले गर्दा पस्त भएको वेलायत भारतीय उपमहाद्वीपबाट फुत्कन हतारिएको थियो। संसारका भूराजनीतिक शक्तिहरू नयाँ राज्यलाई सहर्ष स्वागत गर्ने मनस्थितिमा थिए। राउतले स्वराजको जिन्ना प्रारूप अंगीकार गरे पनि भविष्यमुखी हुनुको साटो भूतकालसँग मनोग्रहित भइरहे एवं अभिलाशाको साटो अवमाननालाई मधेसी राजनीतिको मूल मुद्दा बनाए। उनीसँग नेतृत्वको दोस्रो तह अद्यापि छैन। राजनीति नारीवादको चरण रहेको बेला उनको संगठनमा महिला कतै देखिँदैनन्। उग्र नारा उचाल्ने युवाहरूको जमातको दिग्भ्रमले (आप्टिक्स) मिडियाको ध्यानाकर्षण गरे पनि जनतालाई उद्धेलित तुल्याउन सक्दैन। विपन्न देशहरूको संख्या वृद्धि गरेर प्रभाव क्षेत्र विस्तार गर्ने शक्तिराष्ट्रहरूको चाहनालाई तिनको आन्तरिक राजनीतिमा आएको रुढीवादी उभारले गर्दा नियन्त्रित भइसकेको छ।
जिन्नाको कालपरिस्थिति आकलन गर्ने क्षमता नेहरू त के, गान्धीभन्दा पनि तीक्ष्ण थियो। राउतले भने आफ्नो राजनीतिक रहर पु¥याउन एउटा ठूलो मधेसी युवाहरूको जमातलाई गोलचक्करमा घुमाएर तिनको सिर्जनात्मक ऊर्जा निस्तेज गरिदिए। उनको अल्पदृष्टिले गर्दा राममनोहर यादवले त आफ्नो ज्यान नैं गुमाउनुप¥यो। मधेसको राजनीतिलाई गिजोलेर उनले मुलुकको स्थायी सत्तालाई भने ठूलो गुन लगाएका छन्। स्वाभाविक हो, सर्वेसर्वा शर्मा ओली ११ बुँदे सम्झौताको काठी कसेर राउतको गठबन्धनलाई मधेस सवारी गर्ने घोडा बनाउन उद्यत छन्। सवार हुनुअगाडि घोडालाई पुचकार्नुपर्छ एवं सइसलाई धाप मार्नुपर्छ भन्ने कुरा निकट विगतमा सुशील कोइराला एवं पुष्पकमल दाहाललाई राजनीतिक कोर्राले हिर्काएर मैदानमा दौडाइसकेका सर्वेसर्वा ओलीलाई राम्रोसँग थाहा छ। उनको महŒवाकांक्षारूपी नाकमा नत्थी कसिँदै गएको चाल पाएर राउतले बेलैमा मुख छोप्ने बाटो खोजेका हुन्। आफ्नो हारस्वीकार गर्ने साहस देखाएर राउतले सर्वेसर्वा ओलीलाई भने खुसी तुल्याएका छन्। त्यसको फल उनलाई ढिलोछिटो प्राप्त हुन सक्छ। तर के सामान्य अवसरका लागि मात्र उनी अमेरिका र बेलायतको नोकरी छाडेर नेपाल फर्किएका हुन्? त्यस प्रश्नको उत्तर उनले अरू कसैलाई दिने नभएर आफ्नै अन्तरात्मालाई दिनुपर्नेछ।
समय घर्किसकेपछि पनि बुद्धि पलाउनु नराम्रो होइन। राजनीतिक उद्यमीका रूपमा राउतले परिस्थिति विश्लेषण, कार्यसूची सिर्जना, संगठन निर्माण एवं नेतृत्व विकासमा त अपरिपक्वता देखाए नै, उनको सबभन्दा ठूलो असफलता भने संकथन (नैरटिभ) रचनामा देखियो। झण्डै २५०० वर्ष अगाडि ग्रिसका दार्शनिक प्लेटोले भनेको कुरा समसामयिक राजनीतिमा पनि उत्तिकै लागु हुन्छ– जस्ले संकथन नियन्त्रण गर्न सक्छ, उसैले राज गर्छ। राउतको ‘स्वराज’ संकथन अस्पष्ट एवं अपुरो थियो। त्यसको खाका बनाउने क्षमता उनले प्रदर्शन गर्न सकेनन्। खसआर्य जातियोन्माद (सुपरमासिज्म) नृजातीय राष्ट्रवाद, प्रजातान्त्रिक बहुसंख्यकवाद, सामाजिक संकीर्णता, सांंस्कृतिक अन्यघृणा, व्यक्तिगत देशांहकार, जातीय मिथ्याभिमान जस्ता नित्तान्त भावनात्मक आवेगमा आधारित छ। जातियोन्माद अवधारणामा ‘अन्य’ समूहलाई दबाएर राख्ने, नियन्त्रण गर्ने एवं अधीनस्थ बनाएर राख्ने हकलाई वर्चस्वशाली समुदायले आफ्नो नैसर्गिक अधिकार मान्ने गर्छ। कुनैबेला ‘माक्र्सवादी–लेनिनवादी’ भनिने अन्धराष्ट्रवादको ‘स्कुलिंङ’ बाट राजनीतिको कखरा सिकेका राउत त्यस संकुचित अवधारणाको विकल्प खोज्नुको साटो विलोम बनाउने प्रत्युत्पादक कर्ममा संलग्न भए। त्यसपछि त जे भयो, त्यो हुनु नै थियो। सानो चुम्बकले ठूलो चुम्बकलाई तान्ने प्रकृतिको अकाट्य नियम हो। मधेसको ’शर्मा ओली’ बन्ने लोभमा राउतले आफ्नो बोली नै गुमाएका छन्।
असहज अवतरण
पराधीन समुदायको स्वतन्त्रताको चाहनालाई विखण्डनवादको बिल्ला भिडाएर बदनाम गर्ने कार्यनीति वहुसंख्यक जातियोन्मादीहरूको सबभन्दा अनुकूल बौद्धिक अश्त्र हो। नृजातीय राष्ट्रवादका पक्षधरहरूले जस्तोसुकै दावी गरे पनि संसारको कुनै पनि देश देवनिर्मित वा प्रकृतिक सृष्टि होइनन्। देशहरू राजनीतिक शक्ति प्रतिस्पर्धाद्वारा बन्छन्, भत्कन्छन् वा पुनर्गठित हुन्छन्। गोरखाका लडाकाले नेपाल उपत्यकाको सार्वभौमिकताको सम्मान गरेका भए सर्वेसर्वा शर्मा ओलीका पुर्खा शायद कुमाउँ, गढवाल वा जुम्लाभन्दा पूर्वतिर सर्ने आँट जुटाउने सम्भावना निकै कम हुने थियो। निर्माण जस्तै विनिर्माण पनि शक्ति सन्तुलनले नैं निर्धारण गर्छ। विखण्डनको अवधारणालाई राजनीतिक शक्तिको आधारमा गैरकानुनी ठह¥याए पनि स्वाधीनताको नैसर्गिक चाहना अनैतिक भने होइन। गोरखाली लडाकाहरूको पौरखले आर्जेको मुलुक भएकाले खसआर्य जातियोन्मादले नेपालमा व्यापक स्वीकृति पाएको छ। त्यसै मान्यताले गर्दा एक्काइसौं शताब्दीमा आएर ज्ञानेन्द्र शाह वा कमल थापामात्र होइन, नेपाली कांग्रेसका स्वनामधन्य राजनीतिकर्मीहरूसमेत एकल जातीय राज्य, केन्द्रीकृत राज्य व्यवस्था एवं धर्मसापेक्ष राज्यको वकालत गर्न धक मान्दैनन्। यस प्रकारको समाजिक एवं सांस्कृतिक परिस्थितिमा राउतरूपी राजनीतिक यानको अवतरण सहज हुन सक्ने सम्भावना देखिँदैंन। भनाइ नै छ– बोतलको प्रेत फुत्किएपछि त्यसलाई पुनः वशिभूत गर्न जतिसुकै जान्ने÷सुन्नेलाई पनि ठूलै कसरत गर्नुपर्ने हुन्छ। स्वराजको नाराले मधेसी जातियोन्माद अंगालेका युवाहरूलाई सर्वेसर्वा शर्मा ओलीको राजनीतिक रथमा जोत्न राउतलाई सजिलो हुने देखिँदैन। देशमा खसआर्य जातियोन्माद यथावत रहेमा मधेसमा नवराजनीतीकरण गरिएका युवाहरू बरू गान्धी पथबाट विमुख भएर जिन्नाको छोटो बाटोतिर बरालिन सक्नेछन्।
आत्मरक्षार्थ नेकपा दोहरोमा प्रवेश गर्न चाहे पनि त्यस्तो विकल्प राउतसँग छैन। खसआर्य नृजातीयताको आधिपत्य स्वीकार गरेर आफ्नो आत्मसम्मानको मेरुदण्ड स्वयं भाँचेर भए पनि नेकपा दोहरोमा जीवन बिताएका महासेठ, मण्डल वा साह जस्ता महारथिले राउतको स्वागतमा रातो दरी पक्कै ओछ्याउने छैनन्। मधेसको जातीय राजनीतिक समीकरणमा ‘पिछडा’ भनिने समुदायहरू भारतको बिहार वा उत्तर प्रदेश जस्तो संगठित छैनन्। माले र एमालेको भ¥याङ उक्लिँदै माओवादीको पिठ्युँमा चढेर मधेसी राजनीतिमा उदाएका उपेन्द्र यादवको सक्रिय राजनीतिक जीवन अझै लामो छ। राउतले मधेसी राजनीतिको मूल पाठ बदल्ने महŒवाकांक्षा पालेका थिए। लाग्छ– उनको भूमिका सर्वेसर्वा ओलीको नभएर भयंकर राष्ट्रवादी सिपी मैनालीको विलोम बनिरहनुमा सीमित हुनेछ। त्यसभन्दा अर्को बाटो भनेको पाद टिप्पणीमैं भएपनि स्वतन्त्र पहिचानको राजनीति गर्नु हो। त्यस्तो संयम उनमा देखिँदैंन। कुनैबेला अब्बल वैज्ञानिक थिए। हुन सक्छ राउतले फेरि अर्को प्रयोग गर्ने मेसो मिलाउँदै छन्। तत्कालकालागि भने उनको भूमिका समाप्त भएको देखिँदैछ। परालको राप, ताप र उज्यालोलाई मैथिलीमा ’धधरा’ भन्छन् जसको सुख सल्काउनेलाई बाहेक अरु कसैलाई प्राप्त हुँदैन। सर्वेसर्वा ओलीको मुकुटमा अर्को एउटा रत्न थपिनु बहुल राष्ट्रियता, सारभूत संघीयता, समानुपातिक समावेशिता, धर्म निरपेक्ष राज्य व्यवस्था एवं न्यायसंगत अर्थराजनीतिको भविष्यका लागि साह्रै सुखद अवस्था भने होइन।
प्रकाशित: ८ चैत्र २०७५ ०३:०० शुक्रबार