वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर प्रेरणा दिन्छ। मानिस जन्मन्छ, शिशुबाट युवा हुन्छ र वृद्ध अवस्थामा पुग्छ। तर मन कहिल्यै बूढो हुँदैन। हृदयमा सधैं उल्लास कसरी भर्न सकिन्छ, त्यो वसन्त उत्सवले याद दिलाउँछ। वसन्त ऋतु जसरी मौसमका हिसाबले न जाडो, न गर्मी– शीतल, शान्त र सहज लाग्छ, त्यसैगरी यस बेला फक्रेका रंगीचंगी फूलहरूका रङ र वासनाले आन्तरिक सुन्दरता र आकर्षण प्रदान गर्छ।
अनि सहज, सरल, प्रेमपूर्ण भएर बाँच्न सकिन्छ भन्ने प्रेरणा दिन्छ। यसका लागि उमेर, जात, भूगोल र प्रतिष्ठाले कुनै फरक पार्दैन भन्ने बोध गराउँछ। उत्सवको, प्रेमको, उल्लासको, सुखको कुनै उमेर हुँदैन, जहिलेसम्म जीवन रहन्छ तहिलेसम्म आन्तरिक रूपमै प्रसन्न र प्रफुल्ल भएर बाँच्न सक्नुपर्छ भन्ने सन्देश पनि होलीले प्रदान गर्छ।
एकअर्काबीच होली खेलेर उत्सव मनाइरहँदा संघर्ष, सफलता र उपलब्धिहरूलाई विभिन्न रङकै उपमा दिएर बस् जिउनु छ, जान्नु छ भन्ने हेक्का राख्न सकियो भने पनि जीवनका सबै जिम्मेवारी र परिस्थिति सहज लाग्न थाल्छन्। जब जीवन सहज र सरल बन्छ तब सबै काम मैले गरें भनेर कर्ताभावको अहंकार आउनुको साटोे अस्तित्वको कृपाले मलाई सबै कुरा सहज मिलिरहेछ, मेरो कर्ममा सफलता मिलिरहेछ भन्ने बोध हुन थाल्छ।
जीवनमा सधैं वसन्तको अनुभूति गर्न हृदयदेखि श्रद्धा, अहोभाव, धन्यवाद, प्रेम र उसको कृपाको अनुभूति गर्न सके पुग्छ। धन, पद, मान, सम्मान र प्रतिष्ठाले खुसी ल्याउने होइन, यो त आत्मसम्मानबाट मिल्छ। मेरो अन्तरआत्मामा कस्तो विचार चलिरहेछ ? मेरो कर्मको भाव कस्तो छ ? मेरो मस्तिष्कले कसरी तर्क गर्छ ? म आफ्नो बारेमा र अरूका बारेमा कसरी सोच्छु ? मेरो बुद्धिले कसरी अहंकार बढाउने काम गरिरहेको छ ? यतिमात्र जान्न सके पनि जीवन जिउने कला थाहा हुन्छ। किनकि प्रत्येक उत्सव र पर्वले जीवनलाई फर्केर हेर्न, आफूलाई जान्न, आफू हुनुको बोध गर्न, जीवनमा प्रकृतिप्रेम र सन्तोष प्राप्त गर्न अवसर प्रदान गर्छन्।
मन मिल्नेहरूसँग रङ खेलेर जति खुसी हुन्छौं हामी, त्यति नै कृत्रिम रङहरूले स्वास्थ्यमा असर गर्छ कि भनी सजग पनि भइरहेका हुन्छौं। उमंगका साथ खेलिने रङ उत्सवको आनन्द लिए पनि बीचबीचमा कपडा बिग्रिन्छ कि भनेर चिन्तित पनि त हुन्छौं। तर हामी जीवनमा आफूले देखाउने प्रवृति, आफूभित्र चल्ने विचार, मौसमभन्दा छिटो बदलिने धारणारूपी रङहरूका बारेमा पनि होसियारी अपनाउँछौं त ? आफ्नो क्रोध र बेहोसीप्रति पनि सावधान छौं त ? आफ्ना हरेक क्रियाकलाप, व्यवहार र आचरण कति उचित छन् ? जसरी होलीमा हामी रङहरू फ्याँक्छौं त्यसरी मनका कुविचारहरूलाई मिल्काउने कोसिस गर्छौं त ? यस्ता धेरै प्रश्नमा हामीले घोत्लिनु जरुरी छ।
वर्षमा एक दिन आउने एउटा पर्व बाहिरी उत्सवमा मात्र सीमित रहन सक्दैन, यसले त आफूमा कसरी आन्तरिक रूपान्तरण ल्याउँछ वा ल्याउन सकिन्छ त्यो प्रेरणा पनि दिइरहेको हुन्छ। किनकि अस्तित्वले प्रेम, खुसी, आत्मसम्मान अनि ध्यान र आनन्दको रङ पनि हामीलाई उपलब्ध गराएको छ। यी रङहरूको प्रयोगले जीवनका हरेक कार्यमा प्रभावकारिता एवं सन्तुलन ल्याउन मद्दत गर्छ। अनि चरित्रमा पवित्रता, सम्बन्धमा सुमधुरता, कर्ममा कुशलता, आन्तरिक शक्तिको वृद्धि एवं जीवनमा सार्थकताको बोध, दिव्यताको अनुभूति, स्वधर्मको ख्याल र जीवनका हरेक परिस्थितिलाई समग्रताका साथ स्वीकार गर्ने कलाको विकास गराउँछ।
वसन्त उत्सव, प्रकृतिले हामीलाई उपलब्ध गराएको अथाह सम्पदाहरूका लागि अहोभाव व्यक्त गर्ने एउटा अवसर हो। प्रकृतिको करुणा– कुनै मूल्य तिरेर प्राप्त नहुने चिजहरू दिएर हामीलाई बाँच्न सिकाएको छ। सेवा, सत्कार, श्रद्धा र भक्तिको गुण दिएको छ। मानव भएर जन्मिने सौभाग्य र मानवताको भूमिका निर्वाह गर्नसक्ने खुबी दिएको छ। जीवनमा ऐश्वर्य नै ऐश्वर्य प्रदान गरेको छ। हाम्रो चाहनालाई भन्दा पनि हाम्रो आवश्यकतालाई प्रकृतिले हरपल ख्याल गरेको छ। जीवनमा आड, भरोसा र विश्वास केमा छ भन्ने सिकाएको छ। करुणा, उदारता, संवेदना, अहिंसा एवं हर्षाेल्लासपूर्वक जिउने कला दिएको छ। जीवनलाई गहिराइबाट हेर्न मार्ग प्रशस्त गरेको छ।
हरेक पर्व र उत्सवले वर्तमानमा बाँच्ने हौसला प्रदान गरेको हुन्छ। त्यही वर्तमान नै वसन्त हो। होलीको रौनकले साधारण तरिकाले, परम्परागत तरिकाले चलिरहेको जीवनमा केही नयाँ झलक, त्यसमा कुनै नयाँ आयाम थप्ने प्रयास गरेको हुन्छ। सजग बन्न र मनको लहैलहैमा नदौडी सिर्जनात्मक कसरी हुने, त्यो प्रेरणा दिएको हुन्छ। मनले त सधैं हाम्रो वर्तमान र भविष्यसमेत नियन्त्रणमा लिन खोज्छ। त्यसको बदला हामी सजग हुन सक्यौं भने मनबाट पार हुने छौं। मनले सधैं मेरो कुरा मानेनौ कि तिमी योग्य हुन सक्दैनौ भनेर हरतरहले भड्काई रहन्छ। मनलाई जान्दै, बुझ्दै, सजग हुँदै पुरातनवादी सोचलाई पन्छाउँदै नयाँ कुरा रोज्न सक्ने खुबी बनाउनुपर्छ। सहज विकल्प छ भने पनि नयाँ र कठिन नै रोज्नुपर्छ किनकि यसका लागि अधिक सजगता र होसको जरुरत पर्छ।
योग्यताको परीक्षण गर्नु नै छ भने सधैं चेतना र होसलाई चुन्नुपर्छ। यसबाट ध्यानमय रहन सहज हुन्छ। जति होसपूर्ण हुन सक्यो त्यति प्रसन्न र आनन्दित रहन मद्दत पुग्छ।
उत्सव मानिसको सौभाग्य हो, जुन पशुपन्छीले चाहेर पनि पाउँदैनन्। बैंकमा जम्मा रहेको धनले भन्दा हृदयमा संग्रहित प्रेमले आनन्दपूर्वक बाँच्न सिकाउँछ। सारा प्राकृतिक सुन्दरता र हाम्रा भोगका वस्तुहरू अस्तित्वले नै सिर्जना गरेको हो। त्यतिमात्र होइन, योग, ध्यान र विवेकसमेत दिएको छ मानिसलाई। तर मानिस यी सद्गुणहरूमा जिउन बिर्सेर सधैं दुःख र तनावमा रहन्छ।
कुण्ठा, तनाव, हिंसा लगायतका विजातीय स्वभाव मानिसका आफ्नै उपज हुन्। बेकारका चाहना, आकांक्षा, वासना र वैभव संग्रह गर्ने लोभ–लालचका कारण मानिस खुसी हुन सकेको छैन। प्रफुल्लता मानिसको आन्तरिक स्वभाव हो। रचनात्मक सोच, हरपल नयाँ र प्रेमपूर्ण दृष्टि राख्ने, परिस्थितिसँग भाग्ने होइन सामना गर्ने र जीवनप्रति गुनासो होइन धन्यवाद व्यक्त गर्ने कलाको विकास भयो भने जीवनमा सधैं वसन्तको अनुभूति गर्न सकिन्छ। वसन्तरूपी स्वभावमा जिउनबाट हामीलाई कसैले रोक्न सक्दैन। त्यसैले त वर्षमा एक दिन भए पनि वसन्त उत्सवले हामीलाई आफू हुनुको तथा आफ्नो स्वभावलाई बोध गर्न मद्दत गर्छ।
प्रकाशित: ६ चैत्र २०७५ ०२:३५ बुधबार