१ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

जाडोमा बाथ मुटुरोगको जोखिम

नेपालमा बालबालिकालाई हुने बाथ मटुरोगको जोखिम धेरै  रहेको चिकित्सकले जनाएका छन्। यो रोगको जोखिम जाडोमा बढी हुने भएकाले सचेत हुन उनीहरूले अभिभावकहरूलाई सुझाव दिएका छन्।

नेपालमा बाथ मुुटुरोगको जोखिम घट्न नसकेको विषयमा विभिन्न गोष्ठी तथा सेमिनारमा समेत छलफल हुने गरेको सहिद गंगालाल हृदय केन्द्रले जनाएको छ।

चिकित्सकका अनुसार बाथ मुटुरोग ५ देखि १५ वर्षसम्मका बालबालिकालाई लाग्छ। यो उमेर समूहका बालबालिकालाई टन्सिल भएमा यो रोग लाग्छ। संक्रमण हुँदा टन्सिलको भागमा ‘स्टे«प्टोेकोकल’ नामक किटाणु प्रवेश गरेको हुन्छ। घाँटीमा यो किटाणु प्रवेश गरेपछि असर गर्छ।

चिकित्सकका अनुसार टन्सिल हुने तहमै एन्टिबायोटिक ठीक मात्रामा प्रयोग गरे बाथ मुटुरोग हुन पाउँदैन। बच्चाहरू स्वाँस्वाँ गर्ने, सास फेर्न गाह्रो हुने, खेल्न नसक्ने भएमा यो रोग लागेको शंका गर्नुपर्ने हुन्छ।

घाँटी दुख्ने रोगमा २० प्रतिशत यो किटाणुका कारणले हुन्छ। यसले आक्रमण गरेपछि सुरुमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, खाना निल्न गाह्रो हुने हुन्छ। त्यसको केही हप्तापछि फेरि ज्वरो आउँछ। सर्दैसर्दै जोर्नी दुख्ने गर्छ र मुटुमा असर गरेको अवस्थामा मुटु हल्लिने,स्वाँस्वाँ हुने हुन्छ।

समयमै टन्सिलको उचित उपचार भएन भने विस्तारै जोर्नी र मुटुको भल्बमा असर गर्न थाल्छ।  घाँटीमा भएको यो किटाणुविरुद्ध लड्न शरीरले ‘एन्टिबडी’(प्रतिरक्षी) उत्पादन गर्छ। उक्त एन्टिबडीले घाँटीको टन्सिलजस्तै शरीरका अन्य अंग जोर्नी र मुटुको भल्बमा आक्रमण गर्न थाल्छ। जसका कारण जोर्नी र मुटुको भल्ब दुवैमा असर पर्छ। प्रायः जोर्नी दुख्ने, सुन्निने हुन्छ र विस्तारै त्यो असर ठीक भएर जान्छ।  तर मुटुका भल्बमा परेको असर भने रहिरहन्छ। ज्वरो आएको पहिलो हप्तामा रोग निको भएजस्तो हुन्छ  र पछि गएर फेरि बल्झिन्छ। यो किटाणुका कारण टन्सिल भएकामध्ये केहीलाई आफै निको भएर जान्छ भने ३ प्रतिशत बिरामीमा बाथ मुटुरोग हुन्छ।

बाथ मुटुरोगले आक्रमण गरेपछि मुटुको भल्ब साँघुरिने, खुल्ने र बन्द हुने क्रममा सही प्रक्रिया सञ्चालन गर्न सक्दैन। कुनै बिरामीमा भल्ब खुल्न कठिन हुन्छ भने कुनै बिरामीको बन्द हुन सक्दैन।

केन्द्रमा यो रोग लागेर उपचार गर्न आउने बिरामीको संख्या निक्कै रहेको र यो रोग लाग्ने क्रम जारी रहेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.दिवाकार शर्माले जानकारी दिए। उक्त केन्द्रमा मात्र हरेक वर्ष बाथ ज्वरो मुटुरोग लागेर उपचार गर्नेको संख्या सयौं हुन्छ। डा. शर्माका अनुसार प्रत्यके वर्ष केन्द्रमा बाथ ज्वरो मुटुरोगको लागेका दुई हजार बिरामीको मुटुको भल्ब शल्यक्रिया हुने गरेको छ भने चार सय बालबालिकाको मुटुको भल्ब खोल्ने गरिएको छ।

‘उपचार गर्न आउने बिरामी घटेका छैनन् नै,’ उनले भने, ‘विभिन्न अध्ययनले दुर्गम जिल्ला र विपन्न परिवारका बालबालिकामा यो रोग लाग्ने दर घट्न नसकेको देखाएका छन्।’ अध्ययनअनुसार काठमाडौंमा यो रोग हजार बालबालिकामा एक जनालाई हुने देखिएको छ भने बाहिरी जिल्लामा अहिले पनि हजारमा दुई जनालाई हुने क्रम जारी नै छ।

तराई तथा विकट जिल्लाका विपन्न तथा पिछडिएका वर्गका बालबालिका यो रोगबाट बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। यस आधारमा पोषण नपुगेका बालबालिकामा यसको प्रभाव बढी रहेको हुन सक्ने डा. शर्मा बताउँछन्।

डा. शर्माका अनुसार राजधानी तथा अन्य प्रमुख सहरमा यो रोग कम हुँदै जानाको कारण समयमै उपचार गर्ने चलन बढेकाले हो। विपन्न समुदायका बालबालिका गुम्सेको एउटै कोठामा धेरै जना सुत्ने क्रममा यो किटाणुको संक्रमण हुने जोखिम बढी हुन्छ। गुम्म परेका कक्षाकोठा भएका स्कुलमा पनि यो रोग देखिन्छ। विकसित देशमा बेलैमा उचित उपचार गरेकै कारण यो रोग लाग्ने दर घटिसकेको छ।

चिकित्सकका अनुसार टन्सिल हुने तहमै एन्टिबायोटिक ठीक मात्रामा प्रयोग गरे बाथ मुटुरोग हुन पाउँदैन। बच्चाहरू स्वाँस्वाँ गर्ने, सास फेर्न गाह्रो हुने, खेल्न नसक्ने भएमा यो रोग लागेको शंका गर्नुपर्ने हुन्छ। यो रोग लाग्नुअघि बच्चालाई ज्वरो आउने, घाँटी दुख्ने समस्या भइसकेको हुनुपर्छ।

लक्षण देखिइसकेपछि मुटुको भिडियो एक्सरे तथा अन्य परीक्षण गरेर कति असर गरेको छ पत्ता लगाइ उपचार गर्न सकिन्छ। भल्बमा कति असर गरेको छ भन्ने आधारमा कस्तो उपचार गर्ने भन्ने निर्धारण हुन्छ। यदि एउटै व्यक्तिलाई पटक–पटक टन्सिल भएमा मुटुको भल्बमा बढी असर गरेको हुन्छ। किटाणुले असर नगरोस् भन्नका लागि एन्टिबायोटिक दिइन्छ।  

चिकित्सककका अनुसार बालबालिकालाई टन्सिल भएमा समयमै उपचार गरेर बाथ मुटुरोगबाट बच्न सकिन्छ। त्यसभन्दा पहिले किटाणुको संक्रमणबाट बचाउन सफाइमा ध्यान दिने तथा हावा ओहोरदोहोर गर्ने कोठा भएका स्कुल तथा घर हुनुपर्छ। यो रोग कमजोर प्रतिरक्षा शक्ति भएका बालबालिकालाई बढी हुने भएकाले उनीहरूको पोषणमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ।

यदि बाथ मुटुरोग भइसकेको छ भने मुटुको भल्ब सर्जरी गर्नुपर्छ। नियमित औषधि खानुका साथै चिसोबाट बच्नुपर्छ। यदि बाथ मुटुरोगको गम्भीर असर परेको अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ। शल्यक्रिया गरेपछि पनि नियमित औषधि खाइरहनु पर्छ। यो शल्यक्रिया सरकारले निशुल्कः व्यवस्था गरेको छ।

प्रकाशित: १५ मंसिर २०७५ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App