१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

धर्म निरपेक्षताका संवैधानिक सीमा

नेपालको संविधानमा धर्म निरपेक्षता लेख्नुपूर्व प्रतिनिधिसभाको घोषणापत्रमा त्यसको उल्लेख गरियो। सो घोषणामा किन र कसरी धर्म निरपेक्षता लेखियो रहस्यमय छ। सो प्रस्ताव नेपाल सरकारले संसद्मा पठाएको भनिए पनि सरकारी मस्यौदाबमोजिम नै पारित भयो वा कार्यव्यवस्था समितिमा थपघट गरियो वा केही नेतागण बसेर थपथाप भन्ने प्रश्न गम्भीर तर अनुत्तरित छ। सरकारले पठाएको प्रस्तावको अभिलेख सरकारसँग छ÷छैन ? सभाको सचिवालयको अभिलेखमा सुरक्षित छ/छैन ? छैन भने कहाँ गयो ? के सरकारले पठाएको प्रस्तावमा धर्म निरपेक्षता थियो ?

सरकारले पठाएको प्रस्तावबारे जान्ने अधिकार नागरिकलाई छ। यसका लागि सूचनाको हक प्रयोग गर्न सकिन्छ। तैपनि कसैले सूचना मागेको कुरा सार्वजनिक भएको देखिँदैन। कतिपय सभासद् र केही राजनीतिज्ञले धर्म निरपेक्षता लेख्नुलाई ‘विष्मयकारी’ मानेका छन्। यो विष्मयपछाडि कुन ताकत कसरी प्रयोग भयो ? यति महत्वपूर्ण विषय बिना ‘जनमत’ मतोको आधारमा किन आयो ? प्रतिनिधिसभाको ‘घोषणा’ संसदीय कार्य भए पनि अदालतबाट प्रवर्तनीय संवैधानिक र कानुनी प्रावधान भने थिएन।

कति प्रतिशत नागरिकले धर्म निरपेक्षताको पक्षमा राय दिए भन्ने परिणाम सार्वजनिक भएन। के नागरिकलाई आफूले दिएको मतको परिणाम जान्ने अधिकार हुँदैन ?

घोषणाका रूपमा आएको धर्म निरपेक्षता अन्तरिम संविधानमा तानियो। अन्तरिम संविधानको प्रकृति अस्थायी थियो। यतिन्जेल धर्म निरपेक्षता ‘घोषणा’ र ‘अन्तरिम’ व्यवस्थामात्र थियो। नेपालको संविधानमा रहेको धर्म निरपेक्षता ‘घोषणा र अस्थायी’ व्यवस्थाको निरन्तरता पक्कै होइन। संविधान निर्माण कालमा जनमत बुझ्न टोली खटिएका थिए। त्यसका लागि ठूलो धनराशि खर्च भयो। कति प्रतिशत नागरिकले धर्म निरपेक्षताको पक्षमा राय दिए भन्ने परिणाम सार्वजनिक भएन। के नागरिकलाई आफूले दिएको मतको परिणाम जान्ने अधिकार हुँदैन ? यो तथ्यांक कसले गोप्य राख्यो, राख्न लगायो र किन गोप्य राखियो ? के आजको प्रतिनिधिसभाले ती तथ्यांक सार्वजनिक गर्ला ?

संविधानको धारा ४ (१) मा नेपाललाई धर्म निरपेक्ष राज्य भनियो। त्यसको स्पष्टीकरणमा ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ। संविधानको धारा ४ (१) को व्यवस्था स्पष्टीकरणबाट नियन्त्रित व्यवस्था हो। नेपालको संविधानमा धर्म निरपेक्षता ‘मात्र’ लेख्न समुद्रपारबाट ‘तुजुक’ देखाइयो। छिमेकमा भएको चुनाव परिणामले त्यसमा अवरोध सिर्जना ग-यो। धर्म निरपेक्षताका लागि विदेशी गैरसरकारी संस्था (मुखमा मानव अधिकार, बगलीमा विश्वास प्रणालीको फ्रेंचाइजी लिएका संस्था) समेत लागिपरे। हामी नेपालीले के चाहेका थियौँं भन्ने कुरा संसद् सचिवालयमा रहेका संकलित जनमतका बोरामा सुरक्षित होलान्। जबसम्म ती बोरा खुल्दैनन् तबसम्म हामी नेपालीले धारा ४ (१) चाहेका थियौँं वा स्पष्टीकरणको व्यवस्था खोजेका थियौँं वा तेस्रो विकल्प रोजेका थियौँ भन्न सकिने अवस्था रहेन।

धर्मको मर्म रिलिजन होइन। रिलिजनको कर्म धर्मसँग मिल्दैन। धर्मले रिलिजनले जस्तो मानिसलाई जन्मजात पापी मान्दैन। धर्ममा देवी पुजिन्छ। धर्ममा अरुको विश्वास प्रणाली समाप्त गर्ने नियत देखिँदैन। युरोपमा पेगनलाई अत्याचारपूर्वक समाप्तप्रायः पारेजस्तो अत्याचार पाइँदैन। धर्ममा अरुलाई असभ्य ठानी ‘हाम’ का सन्तान भनी दाससरह व्यवहार गर्नुपर्ने मानिँदैन। धर्म परिवर्तन गराउन साम, दान, दण्ड र भेदको नीति अवलम्बन गरेको सुनिँदैन। धर्ममा अनेक बहानामा अरु विश्वास प्रणाली, सभ्यता र संस्कृति भएका मुलुकमा धर्म परिवर्तन गराउन एजेन्ट खटाउने गरेको पाइँदैन। धर्ममा स्वर्ग जान टिकट बेच्ने इतिहास भेटिँदैन।

धर्मशास्त्रमा न्याय, संगीत, कला, राज्य प्रणाली, शासन व्यवस्था, कानुन, चिकित्सा, योग (ज्ञान, कर्म, भक्तिसमेत), कर्तव्य, दण्डनीति आदि अनेक व्यवस्था छन्। रिलिजनको किताबमा ती प्रायः व्यवस्था देखिँदैनन्। रिलिजन संगठित प्रणाली हो। रिलिजन मान्नेहरूलाई रोम, लन्डन वा अन्त उत्तरदायी बनाउने तालिम दिइन्छ। धर्ममा कुनै मठ मन्दिरको शंकराचार्य वा पुजारी वा संस्थाप्रति उत्तरदायी हुनुपर्दैन। धर्ममा पुजारीलाई अख्तियारवाला (अथोरिटी) मानिँदैन। उनले भक्तको इच्छाअनुसार विधि पु-याउनेमात्र हो। धर्म एकल किताबमुखी होइन, धर्मशास्त्रका एक/एक प्रति किताब जम्मा गर्दा पनि राम्रो पुस्तकालय बन्छ।

धर्ममा मूर्ति पूजा हुन्छ। धर्ममा ईश्वर कण कणमा हुन्छन्, प्रकृति र अरु प्राणीलाई पनि पूजा गरिन्छ वा ईश्वर मानिन्छ। मानिसमा देवता बन्ने गुण हुने मानिन्छ। मानिसलाई जन्मजात पापी घोषणा गरेर पुजारीले स्वर्ग पठाउने जिम्मा लिँदैंन। कर्म (आफूले गरेको काम) को फल आफैँ भोग्नुपर्छ धर्ममा। ईश्वरको छोरा खासप्रकारले जन्मनु पर्दैन, सूलीमा चढाइएको हुनुपर्दैन।

रिलिजनमा भिन्न रंगको मानिस (हामका सन्तान) लाई खराब र अपवित्र भनी जन्मले नै ‘सर्विच्युड’ हुन योग्य मानिन्छ। धर्ममा गोरोपनलाई ईश्वरीय विशेषाधिकार मानिँदैन। राम, कृष्ण आदिलाई कालो र कालीलाई त कालो वर्णकी भए पनि देवदेवी नै मानिन्छ। धर्ममा अरुलाई धर्मच्युत गरे नर्कमा जानुपर्ने भनिन्छ। रिलिजनमा अरुलाई धर्मच्युत गराई धर्म परिवर्तन गराउनु ‘हेभन’ जाने बाटो मानिन्छ। स्वर्ग र हेभन तथा नर्क र हेलका ठेगाना पनि फरकफरक नै होलान् ?

धर्ममा समभाव वा समन्वय भनिन्छ। धर्ममा उपचारका लागि खासगरी वनस्पतिलाई औषधि मानिन्छ। चमत्कार (मिराकल) ले निको हुने भनिँदैन। रिलिजनमा ‘टलरेन्स’ भने पनि अरुलाई असभ्य र तल्लो दर्जाको भएकाले पेगनलाई जस्तो मारिन्छ वा मन नलागी नलागी सहिन्छ। यसैले धर्म र रिलिजन फरक हुन्।

धर्म भनेको न्याय, कानुन, संगीत, चिकित्सा कानुन, नीति, कर्तव्य, सुरक्षा, कूटनीति, राजश्व, प्रशासन, व्याकरण, योग आदिसमेत भएकाले अर्थात् ‘धारण गर्न योग्य नै’ धर्म भएकाले राज्य धर्म निरपेक्ष हुन सम्भव थियो र ? शालिग्रामलाई ‘ब्ल्याकस्टोन’ भनेर अनुवाद गर्नेले सेकुलारिज्मलाई धर्म निरपेक्षता भनी अनुवाद गरिदिए कि ? पन्थ निरपेक्षतालाई धर्म निरपेक्ष लेखियो कि ? कोही त धर्म निरपेक्ष भनेको पापसापेक्ष हो भन्छन्।

यसरी धर्म र अरु विश्वास प्रणाली भिन्नाभिन्नै भएको र संविधानको धारा ४ (१) को स्पष्टीकरणमा ‘सनातन धर्म’ उल्लेख भएकाले सनातन धर्ममात्र धर्म हो भन्ने देखिन्छ। अरु पन्थले ‘सनातन’ र ‘धर्म’ शब्द प्रयोग गर्दैनन्। यो हिमवत्खण्डका धर्म र धम्म (पाली भाषाको उच्चारण) को साझा नाम हुनसक्छ किनकि तिनको जन्म यहीँ वा यसै सेरोफेरोको संस्कृति र माटोमा भएको हो। ओमकारलाई यसको ‘सूत्र’ मानिएको हुनसक्छ। मरुभूमिका विश्वास प्रणालीका भिन्न नाम छन्– धर्मशास्त्र, मुन्धुम, त्रिपिटक, गुरुग्रंथ, तत्वार्थ सूत्र आदि हिमवत्खण्डको सेरोफेरोका हुन्।

संविधानको धारा २६ (३) ले ‘कसैले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य दण्डनीय हुनेछ’ भन्छ। संविधानले दण्डनीय गरेको धर्म परिवर्तन गराउने कार्य विदेशी नागरिक र विदेशमा दर्ता भई नेपालमा कार्यरत संस्थाले पनि गर्न/गराउन पाउँदैनन्। कुनै मुलुकको दूतावास वा राष्ट्र संघअन्तर्गतका संस्था र तिनमा काम गर्नेले पनि सो अपराध प्रत्यक्ष/परोक्षरूपमा गर्न गराउन पाउँदैनन्।

समाज कल्याण परिषद्ले त्यस्तो उद्देश्य भएका संंस्थालाई नेपालमा काम गर्न दिन मिल्दैन। यसका लागि सो परिषद्ले सम्बद्ध पराई संस्थाको मूल उद्देश्य र नेपालमा गर्ने भनेका काम तथा त्यसमा काम गर्न आउने व्यक्तिको पूर्वकर्म हेर्न जरुरी हुन्छ। तिनीहरूले कहीँ कतै धर्म परिवर्तन गराएको प्रमाण र शंका गर्ने आधार भए तिनलाई संस्थागत र व्यक्तिगतरूपमा नेपालमा काम गर्न दिन मिल्दैन। त्यसो गरे निर्णयकर्ता कम्तीमा अपराधको मतियार हुन्छ। परिषद्मा त्यस्ता मतियार थिए कि वा छन् कि निगरानी वा छानबिन जरुरी छ।

संविधानको धारा ३२(३) अनुसार संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक प्रत्येक नेपाली समुदायलाई छ। यी संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदा भनेका हिमवत्खण्डका हुन् किनकि अरु कतिपय सभ्यताका मानिसले त विगतमा पनि नेपालको सभ्यता, संस्कृति र सम्पदा समाप्त गर्ने अनेक काम गरेका छन्। यहाँका मन्दिर र गुम्बामा विगतमा आक्रमण भएका, आगो लगाइएका, जासुस पादरीहरू निकालिएका, पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पादरीहरू उनीविरुद्ध लड्न पाटनमा आएका कुरा इतिहासमा उल्लेख छन्।
नेपालबाट चोरे/चोराएका सम्पदाबारे लैनसिंह वांग्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ भन्ने पुस्तक छ। डेनियल राइटले किनेर लगेको भने पनि ठूलो संंख्यामा धार्मिक तथा ऐतिहासिक पुस्तक वा पाठ्यसामग्री क्याम्व्रिज विश्वविद्यालय पु-याएको कुरा हिस्ट्री अफ नेपाल (डि के पब्लिसर्स, नयाँ दिल्ली २००४ पृष्ठ २१९–२२८) नामक मुन्सी शिवशंकर सिंह र पण्डित गुणानन्दले अनुवाद गरेको कितावको अनुसूचीमा छ। हड्सनले के कति लगे पत्तो छैन। अरुबारे सोधीखोजी कसले गर्ने ?

नेपालको संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदा मूलतः धर्मसम्बद्ध छन्। मठ, मन्दिर, गुम्बा, हस्तलिखित ग्रन्थ, मूर्ति आदि यहाँका सम्पदा हुन्। यहाँको सभ्यता यहाँका वा हिमवत्खण्डका धर्मसँग अन्योन्याश्रित छन्। नेपालमा धर्म परिवर्तन गराउनु आस्था वा विश्वास परिवर्तन गराउनुमात्र होइन, मानिसलाई आफ्नो मतको हेडक्वार्टसप्रति उत्तरदायी बनाउनु पनि हो। साविती (कन्फेसन) मार्फत सूचना प्राप्त गर्नु पनि हो। यहाँका मठ, मन्दिर र गुम्बाप्रति घृणा फैलाउनु पनि हो। शास्त्र र अन्य पवित्र ग्रन्थलाई ‘मिथ’ मान्नु हो। यताका धार्मिक र पवित्र मानिने कुरालाई निरर्थक मान्नु हो। यताका मानिसलाई हामका असभ्य सन्तान भन्दै दासका रूपमा (सर्भिच्युड) स्वीकार्न ‘टलरेंस’ देखाउनुसम्म हो।

धर्म परिवर्तन गराउनु यताको सभ्यता र संस्कृति समूल नष्ट गराउनु हो। त्यसका लागि खर्च गर्नु सभ्यता र संस्कृति समाप्त गर्ने लगानी हो। यस्ता काम गर्ने विदेशी संस्था र व्यक्ति सभ्यता, संस्कृति र सम्पदाको सुरक्षाका दृष्टिले शत्रु राज्यका नागरिकभन्दा खतरनाक हुन्।

धर्म परिवर्तन गराउन कसैले पहिले मान्दै आएको धर्मविरुद्ध एकोहो-याउनुपर्ने हुन्छ। उसले पहिले मान्ने परमेश्वर, ईश्वर, भगवान वा देवतालाई निरर्थक वा असभ्य वा बेकम्मा सावित गर्नुपर्ने हुन्छ। उसको पूजा पद्धतिलाई अस्वाभाविक र पूजा सामग्रीलाई बेतुक पुष्टि गर्नुपर्ने हुन्छ। धर्म सम्बद्ध शास्त्रलाई मिथ वा काल्पनिक भन्नुपर्ने हुन्छ अनि आफ्ना विश्वास प्रणालीका अवैज्ञानिक कुरा लुकाउनु, आफ्ना पूर्वजले विगतमा गरेका क्रूरता र अत्याचार (पेगन आदि) छिपाउनु र आफ्ना पूर्वजले अपनाएका अन्धविश्वासलाई चमत्कारका रूपमा प्रचारप्रसार गर्नुपर्ने हुन्छ। अरु धर्मका सम्पदामाथि प्रत्यक्ष आक्रमण गरी वा चोरी गराई नष्ट वा आफ्ना मुलुकका पुस्तकालय वा म्युजियममा लैजानुपर्ने हुनसक्छ।

नेपाल सरकारका सम्बद्ध निकाय र पदाधिकारीहरूले विदेशीबाट नेपालमा धर्म परिवर्तन गराउने कार्य हुन नदिई संविधानको पालन गर्न जरुरी छ। उनीहरूलाई सम्बद्धता दिने, प्रवेशाज्ञा जारी गर्ने, प्रवेशाज्ञाको म्याद ननाघेका व्यक्तिमाथि निगरानी राख्ने, म्याद नाघेका विदेशीलाई खोजतलास गर्न आवश्यक छ। साथै धर्म परिवर्तन गराउन लगानी गर्ने, तयारी गर्ने, मतियार हुने, दुरुत्साहन दिने, उद्योग गर्ने र अपराध गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन एउटा छुट्टै ऐन आवश्यक देखिन्छ। यस ऐनमा प्रभावकारी संस्था र उत्तम सूचना सञ्जालको व्यवस्था जरुरी छ। सरकारको काम तिहारमा देउसी खेल्न समय तोक्ने र फागुमा बेलुनको आकार तय गर्नेमात्र होइन, विदेशीका हर्कत र अपराधतर्फ ध्यान दिनु पनि हो।

आफ्नो ढोकामा कुनै विदेशी धर्म परिवर्तन गराउन आए नागरिकले के के गर्ने त्यसबारे नागरिकलाई सचेत गर्नु पनि हो। के राष्ट्र संघलगायतका दाताले सरकारलाई यहाँको सभ्यता, संस्कृति, सम्पदा र धर्म रक्षा गर्न सहयोग देलान् ? दिएनन् भने पनि सरकारले आफ्नै स्रोतबाट संविधानको मान्यता र मर्यादा कायम राख्न सक्रियता देखाउला ? आशा गरौँ, गर्दै रहौँ। सदाचार नीतिमा जस्तो यसको मस्यौदा राष्ट्र संघका रापोर्टरकहाँ पुगी उताबाट आउने दबाब र सुझावको प्रतीक्षा भने नगरौँ। सभ्यता, संस्कृति, सम्पदा, सद्भाव र समन्वयका लागि आफ्नै निकटमा रहेका संदिग्धसँंग पनि सचेत रहौँ।

प्रकाशित: १३ मंसिर २०७५ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App