४ कार्तिक २०८१ आइतबार
image/svg+xml
विचार

तथ्यांकमा तजबिजी

मुलुकको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री युवराज खतिवडाले पाँच महिनाको अवधिमा मुलुकको अर्थतन्त्रबारे फरकफरक धारणा व्यक्त गरेर शंका पैदा गराउने काम गरेका छन् । अर्थमन्त्रीमा नियुक्तिको डेढ महिनापछि गत चैत १६ गते अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दै उनले मुलुक वित्तीयरुपमा टाट पल्टेको घोषणा गरेका थिए । त्यसको करिब पाँच महिनापछि बुधबार उनले अर्थतन्त्र सबल र सक्षम रहेको दाबी गरे । यो पाँच महिनाभित्रै सरकारले केकस्तो जादु गरेर टाट पल्टिएको अर्थतन्त्रलाई सबल र सक्षम बनाएको हो, त्यसबारेमा अर्थमन्त्रीले कुनै खुलासा गरेनन् बरु उल्टै उनले सरकारले गरेका राम्रा कामको परिणाम तत्काल खोज्न नहुने भन्दै नतिजा थाहा पाउन केही समय कुर्न आग्रह गरे।

श्वेतपत्रमा उनले विगतका सरकारले आर्थिक अनुशासन उल्लंघन गरेका कारण मुलुकको ढुकुटी रित्तो हुन पुगेको बताएका थिए । केही वर्षयताका सरकारको वित्तीय अनुशासनको पक्ष अत्यन्त कमजोर भएका कारण सार्वजनिक वित्त व्यवस्थापनमा वित्तीय अराजकता निम्तिएको उनको दाबी थियो । अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्सहित विभिन्न मन्त्रालयबाट हचुवाको भरमा र निहित राजनीतिक स्वार्थ राखेर भएका निर्णयबाट राज्यकोषमाथि दीर्घकालीन रुपमा ८ खर्बभन्दा बढी दायित्व थप भएको बताएका थिए । यसको पाँच महिनापछि उनैले अर्थतन्त्र स्वस्थ र सबल अवस्थामा रहेको दाबी गरे । मुलुकको अर्थतन्त्र अहिले कुनै खतराको विन्दुमा छैन, यसमा निश्चिन्त भए हुन्छ भन्ने उनको दाबी थियो । खतिवडाले एकदुईवटा परिसूचक केही घाटामा छन् भनेर समग्र अर्थतन्त्रलाई त्यसको नकाबले नढाकिदिन आग्रह गरे।

अर्थमन्त्री आफैंले बजेट कार्यान्वयन सुरु भएको भर्खरै ६ सातामात्र भएको भन्दै अहिल्यै परिणाम मागे अतिशयोक्ति हुने बताएका छन्। फेरि कसरी टाट पल्टेको अर्थतन्त्र पाँच महिनामै सबल र सक्षम बन्यो? अर्थमन्त्री खतिवडाले तथ्यांक तोडमोड गरेर श्वेतपत्र प्रस्तुत गरेका हुन् वा अहिले सबल र सक्षम छ भनेर डाँटे? प्रश्न अनुत्तरित छ।

खतिवडालाई श्वेतपत्र जारी गर्दा तथ्यांकमा खेलेर अघिल्ला सरकारहरुको आलोचना गरेको आरोप पूर्वअर्थमन्त्री रामशरण महतलगायतका अर्थशास्त्रीले लगाएका थिए । पाँच महिनाभित्रमा सरकारले कस्ता काम ग¥यो, जसले टाट पल्टिएको अर्थतन्त्रलाई एकैचोटि सबल र सक्षम बनायो ? अर्थशास्त्रीहरुमात्र होइन, आम नागरिकले पनि यसमा चासो देखाएका छन् । खतिवडाले श्वेतपत्र जारी गर्दा मुलुकको अर्थतन्त्रको अवस्था जस्तो थियो, त्यसमा अहिले ताŒिवक भिन्नता देखिँदैन । अर्थतन्त्रका प्रमुख परिसूचकहरुमा खतिवडा अर्थमन्त्री बनेपछि जादुमय परिवर्तन भएको देखिँदैन । आर्थिक वृद्धि, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिति, सरकारको वित्त घाटा, व्यापार घाटा, बजेट खर्च गर्ने क्षमता, भुक्तानीका दायित्वलगायतका परिसूचक अहिले पनि पाँच महिनापहिलेकै हाराहारीमा छन् । यस्ता परिसूचकमध्ये देखिने गरी र प्रभाव पार्ने गरी कसैमा पनि सरकारले चामत्कारिक सुधार गरेको छैन । अर्थमन्त्री आफैंले बजेट कार्यान्वयन सुरु भएको भर्खरै ६ सातामात्र भएको भन्दै अहिल्यै परिणाम मागे अतिशयोक्ति हुने बताएका छन् । फेरि कसरी टाट पल्टेको अर्थतन्त्र पाँच महिनामै सबल र सक्षम बन्यो ? अर्थमन्त्री खतिवडाले तथ्यांक तोडमोड गरेर श्वेतपत्र प्रस्तुत गरेका हुन् वा अहिले सबल र सक्षम छ भनेर डाँटे ? प्रश्न अनुत्तरित छ।

अर्थमन्त्री खतिवडामात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रत्येक सार्वजनिक भाषणमा विगत सरकारहरुले मुलुकलाई खोक्रो बनाएको र त्यसलाई सुधार्न समय लगेको भन्दै आफ्नो सरकारले विकासका काम गरेको दाबी गर्दै आएका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा बोकेको ओली सरकारले वास्तवमै मुलुकको विकासका लागि कुनै नौलो काम गर्न सकेको छैन । सरकारले आगामी दिन कसरी काम गर्दैछ भन्ने कुरा उसको बजेटले देखाउने हो । बजेटमा राखिएका कार्यक्रमबाट नै त्यो वर्ष कसरी अर्थतन्त्रको विकास हुन्छ, जनताले के पाउँछन् भन्ने देखिन्छ । तर चालू बजेटमा त्यस्तो कुनै कार्यक्रम राखिएको छैन, जसले मुलुकलाई चाँडै समृद्ध बनाओस् र जनता सुखी होऊन् । चालू बजेट विगतका भन्दा कुनै पनि हिसाबले भिन्न छैन । पुँजीगत बजेटको अधिकांश हिस्सा पुराना कार्यक्रमका लागि विनियोजित गरिएको छ भने छुट्टै पहिचान हुनेगरी कुनै नयाँ कार्यक्रम सार्वजनिक गरिएको छैन । परम्परागत रुपमा आएको यस्तो बजेटले मुलुक समृद्ध र जनतालाई सुखी बनाउन सक्छ भन्नेमा शंका छ।

कुनै पनि वस्तुलाई सकारात्मक र नकारात्मक दुवै पाटोबाट हेर्न र विश्लेषण गर्न सकिन्छ । आधा गिलास भरिएको पानीलाई आधामात्र भरिएको भनेर नकारात्मक रुपमा र आधा त भरिएको छ है भनेर सकारात्मक दृष्टिबाट पनि हेर्न सकिन्छ । खासमा मुलुकको अर्थतन्त्रका परिसूचकलाई अर्थमन्त्री खतिवडाले आफ्नो स्वार्थअनुसार दुवै पक्षबाट विश्लेषण गरेको देखिन्छ । श्वेतपत्र जारी गर्दा उनले तथ्यांकहरुलाई नकारात्मक रुपमा चित्रण गरे भने अहिले सकारात्मक पाटोबाट । सरकार भनेको जनताको अभिभावक हो । अभिभावकले राखेका कुराहरुलाई जनताले विश्वास गर्छन् र गर्नुपर्छ पनि । तर अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका बारेमा राखेका परस्पर विरोधी भनाइले न त अभिभावकत्व ग्रहण गर्न सकेको छ न राजनीतिक इमानदारी नै । सरकार आफ्नो अनुकूलतालाई हेरेर तथ्यांक तोडमोड गर्न र प्रोप्रग्यान्डा गर्न उद्यत देखिन्छ । यस्तो प्रवृत्तिले नागरिकमा आशंकामात्र जन्माउँछ।

प्रकाशित: १५ भाद्र २०७५ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App