भनिन्छ-भोको पेटमा धर्म हुँदैन, अनि धर्मबिनाको रोटीको पनि महत्त्व छैन। अर्थात् जीवन र धर्म, जीवनको स्रोत र संस्कारसँग जोडिनु नै मानव सभ्यताको नियमित जीवनचक्र हो। भर्खर उज्यालोको प्रतीक, धनधान्य र समृद्धिको प्रतीक अनि दिदीभाइ र दाजुबहिनीबीचको पारिवारिक प्रेम र उत्सवले भरिएको तिहार पर्व सकिएलगत्तै मनाइने छठ पर्व जारी छ। जसमा तराईदेखि पहाड र हिमालसम्मका मानिस सरिक छन्।
जीवनको प्राण ऊर्जा ठीक गर्न र उज्यालो एवं समृद्धिका लागि सूर्य भगवानको पूजा आराधना गरी अर्घ दिएर अहोभाव व्यक्त गरिने छठ पर्व जीवनको स्रोत पञ्चतत्त्वसँग सिधै सम्बन्ध राख्छ। नदी किनार या पोखरी र तलाऊ किनारमा पूजा आराधना गरिने प्रचलनले पनि पृथ्वी, जल, अग्नि, वायु र आकाशको प्रतिनिधित्व गर्दै जीवन ऊर्जाको पूजन भएको अनुभूति गर्न सकिन्छ। सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पुराणहरूमा समेत उल्लेख छ।
अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ।
कात्तिकमा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ। सूर्यले सबै प्राणीलाई समानरूपमा प्रकाश दिन्छ। त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिएको हो। सत्य, अहिंसा र मानवबीच मधुरता एवं सहिष्णुता वृद्धि गर्नु नै धर्म संस्कृतिको औचित्य हो। कल्याणकारिता, श्रद्धा एवं भक्ति नै मानवीय गुणवत्ता हुन् जुन कुरा पूजा, आराधना, आस्था र संस्कारको निरन्तरताले विकास गर्छ।
स्थानीय उत्पादन र कृषिको महत्त्व
छठ पूजामा आवश्यक पर्ने धेरैजसो समान बाँस र माटोले बनेका हुन्छन्। त्यसैले यो पर्व सुरु हुनुअगाडि नै बाँसको सामान बुन्ने, माटोका भाँडा बनाउने काममा स्थानीय सिप भएका मानिस व्यस्त देखिन्छन्। यसले लोप हुन लागेको स्थानीय एवं पुख्र्यौली पेसाले फेरि महत्त्व पाएको र उत्साह बढाएको अनुभूति हुन्छ।
माटो र जीवन, प्रकृतिसँग जोडिएको जीवनमा रमाउनेहरूलाई आधुनिक बजारले विस्थापित गरिरहेको समयमा स्थानीय पेसाले अवसर पाउनु हरेक पर्वको अर्को महत्त्वपूर्ण विशेषता हुन आउँछ। छठ पूजामा प्रयोग हुने केरालगायतका फलफूलको उत्पादन र बिक्री वितरणले स्थानीयहरूको व्यापार, व्यवसाय र कृषि उत्पादनको भूमिकालाई अरू बढी महत्त्वका साथ हेरिन्छ। कृषि र जीवन, कृषि र पर्व अनि कृषि र धर्मबीचको समन्वय नै मानव जीवनको अभिन्न आयाम हुने गर्छ।
समग्रमा भन्नुपर्दा छठ पर्व र सूर्यको पूजा जसले जीवनका सबै आयाममा अन्धकार मेटिएर उज्यालो अर्थात् सुख र शान्तिको लक्षण प्राप्त होस् भन्नु नै हो। सूर्य सत्यको प्रतीक हो र सूर्यको आराधना गर्नु भनेको हाम्रो जीवनमा भित्रबाट अझैं पनि अन्धकार छ, त्यो हटोस् भन्ने बोध हो।
प्रार्थनाले तुरुन्तै फल नदेला तर व्रत बस्दा हुने चित्त शुद्धिले र पूजाले पूजा गर्ने व्यक्तिमा क्षणिकरूपमै भए पनि मन शान्त हुन्छ र चेतनाको स्तरबाट पनि आफूलाई सकारात्मक भएको अनुभूति मिल्छ। बाहिर ब्रह्माण्डको तेजोमय सूर्यले जसरी संसारभर प्रकाश प्रदान गरेको छ त्यसैगरी हरेक मानवभित्रको ब्रह्माण्डमा पनि आन्तरिक सूर्य छ जसको प्रकाशले मात्र मानव जीवन शान्त र आनन्दित बन्छ। चेतनाको स्तरबाट प्रकाशमय हुनासाथ मानव जीवनका सबै अन्धकार मेटिएर जानेछन्।
ज्ञानी, मुनि र सन्तहरूको मत पनि यही छ कि मानवभित्र चेतनाको स्तरबाट आफूलाई शान्त पाएको छ भने उसमा दिव्य प्रकाशको बोध भैसकेको मानिन्छ। भित्रको दीप जल्न सकेमात्र भित्रको ब्रह्माण्ड तेजोमय हुन्छ, सारा अन्धकार र अहंकार बिलाएर जान्छन्। सूर्यको पूजा आराधना गर्नुको अर्थ यही हो कि त्यो प्रकाशमय दिव्यता हामी सबैभित्र घटित होस्। हामी भित्र अन्धकार र अहंकारमय तत्त्वले बास नगरोस्। हाम्रो चेतना सूर्यको प्रकाशसँग गहिराइमा जाेडिएर रहिरहाेस्।
प्रकाशित: २२ कार्तिक २०८१ ०५:४१ बिहीबार