सुरक्षा निकायले आयोजना गरेको एउटा भोजमा भेटिएका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यथा नमान्नुहोला, नेपाल बिग्रनुमा नेताको जति हात छ, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ।’
उनले अझ अगाडि थपे, ‘म केही समय मिडियासम्बन्धी नै काम गर्ने जिम्मेवारीमा थिएँ। झण्डै दुई वर्ष मैले सबै पत्रिका पढेँ। सम्पादकीय त झन् दैनिक नै पढेँ। त्यो काम छाडेपछि मैले पत्रिका नछोएको दुई वर्ष भयो।’
बीचैमा अर्का पत्रकार आइपुगे। कुरा यताउता भए। तैपनि उनीसँग बिदा भएर फर्केपछि निकैबेर उनका कुरामा मन गइरह्यो। उनले मिडियाबारे राखेका अवधारणाको केही कारण अवश्यै छ भन्ने मनमा लागिरह्यो। ‘धेरै नकारात्मक भयो,’ उनको कुरा थियो।
पत्रकारिता स्कुलको पढाइमा धेरै चर्चित प्रसंग हो -कुकुरले मान्छे टोक्यो भने समाचार हुँदैन तर मान्छेले कुकुर टोक्यो भने समाचार हुन्छ। तर, कुकुरले धेरै मान्छे टोक्यो भने स्वाभाविकरूपमा समाचार बन्छ। प्रायः हामीले पढ्ने पढाउने गरेको हो- अस्वाभाविक घटना समाचार हो।
अब समय फेरिएको छ। अस्वाभाविक घटनाको खबर दिन समाचार माध्यम नै नचाहिने हो कि भन्ने आम भ्रम पनि भएको छ। प्रत्येक व्यक्ति एउटा प्रसारक बनेको छ। हातहातमा भएका स्मार्ट फोन र प्रविधिले हरेक व्यक्तिलाई समाचार सार्वजनिक गर्ने ठाउँमा पुर्याएको छ। तर, पुराना माध्यमले सूचनाको जंगलबाट सही बाटो पहिल्याउन मद्दत गर्ने भूमिका झन् आवश्यक भइसकेको छ। को मान्छे कोसित हिँडिरहेको छ भन्ने चियोचर्चो गर्ने ठाउँमा केही मिडिया पुगिसकेका छन्।
परम्परागत मिडिया वा आमसञ्चार माध्यमको भूमिका त्यो थिएन। सर्वजन हिताय अर्थात् धेरैको आवश्यकतालाई हेरेर यसले काम गर्छ। धेरै मानिसलाई प्रभाव नपार्ने हो भने त्यस्तो समाचार दिनुको पनि कुनै अर्थ हुँदैनथ्यो। तर, अहिले त्यस्तै विषयवस्तुले बढ्ता प्रभाव पारेको छ, जहाँ सूचना भन्दा बढी मनोरञ्जन छ। छिनछिनमा अहिले टिकटक, रिल्स वा सर्ट्स हेर्ने बानी लाग्नुको कारण यही हो।
यही अवस्थाले गर्दा आज हिजो भन्दा बढी व्यक्तिले सञ्चार सामग्री उपभोग गरिरहेका छन्। तिनको ‘स्क्रिन टाइम’ बढ्ता भइरहेको छ। पत्रिका हातमा नलिने व्यक्तिले पनि समाचार र यससँग सम्बन्धित सामग्री उपभोग गरिरहेका छन्। अखबार पढिनँ भन्दाभन्दै पनि तिनै पत्रकारले उत्पादन गरेका सामग्री अन्य मञ्चबाट प्राप्त गरिरहेका छन्।
अब अलिकति तिनै सुरक्षा अधिकारीसम्म पुगौँ, जो नेपाल बिग्रनुको जिम्मेवार राजनीतिक व्यक्ति र मिडियालाई ठान्छन्। राजनीति र मिडियालाई किन सँगै राखिएको हो ? यसको गहिरो र मुख्य कारण हो-राजनीतिक परिवर्तनमा मिडियाको सक्रिय भूमिका।
नेपालका प्रत्येकजसो राजनीतिक परिवर्तनमा सञ्चार माध्यम साथमा छ। २०४६ सालको जनआन्दोलन सफल पार्नमा त्यतिबेलाका साप्ताहिक अखबारको मुख्य भूमिका छ। त्यो बेलाका अनेकन अखबारमध्ये साप्ताहिक विमर्श, समीक्षा, पुनर्जागरण, देशान्तर, दृष्टिलगायतका पत्रिकाको भूमिका थियो। तिनले आफ्नो सुरक्षालाई भन्दा मुलुकको राजनीतिक परिवर्तनका निम्ति सूचना र सामग्री पस्किने गरेका थिए। राजनीतिक समय परिवर्तनसँगै तिनको भूमिका पनि फेरियो।
२०४६ सालको राजनीतिक परिवर्तनले ठूलो आकारका अखबारका निम्ति बाटो सहज भयो। संविधानले नै कुनै पनि पत्रिकाको दर्ता खारेज नहुने र प्रेस सामग्री जफत नहुने व्यवस्था ग¥यो। पूर्ण प्रेस स्वतन्त्रता उपभोग गर्ने वातावरण बन्यो। त्यसपछि आएका ठूलो लगानीका अखबारले मुलुकमा लोकतन्त्रलाई प्रवद्र्धन गर्न काम गरिरहे। २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि फेरि यी यी सञ्चार माध्यमले आफूलाई सक्रिय बनाए। त्यसैको परिणामस्वरूप जनआन्दोलन २०६२/६३ सालका बेला यिनलाई ‘आठौैँ दल’ को उपमासमेत सर्वसाधारणले दिए। वास्तवमा तिनको भूमिकाकै कारण आन्दोलनले उचाइ हासिल ग¥यो।
जनआन्दोलनको सफलतापछि फेरि दलका हातमा शासनसत्ता आइपुग्यो। सञ्चार माध्यमलाई पनि आफ्नै कारणले यो सफलता हात लाग्यो भन्ने परिरह्यो। उसले आफूलाई जहिल्यै राजनीतिक नेतृत्वको आलोचकका रूपमा उभ्याउँदै पद्धति सुधारका निम्ति काम ग¥यो। एकातिर, प्रविधि परिवर्तन भइरहेको थियो।
अर्कोतिर, दलका नेताहरूलाई सञ्चार माध्यमको यो आलोचनात्मक भूमिका मन परिरहेको थिएन। पुराना सञ्चार माध्यम दलका नेता, नयाँ प्रविधिमा रमाउने समुदाय र पुरानो शक्ति गुमाएका सबैका निम्ति आँखाको कसिंगर पनि भइसकेका छन्।
त्यसैले यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने ध्याउन्नमा ती रहिरहे। कहिले कुन कानुन बनाउने नाममा त कहिले कुन नीतिका नाममा यसलाई अप्ठ्यारो पारिएका उदाहरण छन्। कतिपय वस्तुको उत्पादन, वितरण, बेचबिखन र खानपिन गर्न हुन्छ, तर विज्ञापन गर्न हुँदैन भन्ने दृष्टिकोण जनस्वास्थ्य भन्दा पनि सञ्चार माध्यमलाई कमजोर बनाउने रणनीतिअन्तर्गत थियो।
अन्यथा, न्युयोर्क टाइम्सले छाप्न सक्ने विज्ञापन नेपाली प्रेसले छाप्न नपाउने भन्ने हुँदैन। तर, यहाँ अमेरिकामा भन्दा बढी क्रान्तिकारी बन्ने प्रयास भएको छ।
सञ्चार माध्यमले आफूलाई अहिलेको शासन व्यवस्थाको प्रमुख ‘स्टेकहोल्डर’ अर्थात् सरोकारवाला ठान्नु नै गल्ती जस्तो हुन पुगेको छ। राजनीतिक नेतृत्वलाई आफूसरह सञ्चार माध्यम पनि आन्दोलनमा सरिक भई उपलब्धि हासिल गरेको भनाउन मन भएन। सञ्चार माध्यमले आफ्नो आलोचनात्मक चेत पनि बिर्सिएन। धेरैले अहिले पनि नेपाली परम्परागत मिडिया ‘स्वतन्त्र’ रहेको र आलोचनात्मक दृष्टिका साथ काम गरेको ठान्छन्। यही स्थिति भारतमा छैन जहाँ मिडियाले सरकारको आलोचना गर्ने हैसियत राख्दैनन्।
यस्तो स्थितिमा एकातिर नयाँ मिडियाको जबर्जस्त आगमन भएको छ। प्रत्येक नेता, व्यापारी र सर्वसाधारणले त्यसलाई प्रयोग गरेर आफूलाई अगाडि बढाइरहेका छन्। तैपनि यहाँको पुरानो मिडियाले आफ्नो वर्चस्व कायम गरिरहेको धेरैलाई चित्त बुझेको थिएन।
विशेषगरी नयाँ मिडिया प्रयोग गरेर आएका नयाँ दलको उपस्थिति पुरानो माध्यमका कारण बलियो हुन पाएन भन्ने सोच भयो। त्यसैकारण ‘१२ भाइ सम्पादक’ भनेर यसलाई बदनाम गर्न खोजियो। यसो भएपछि बिस्तारै यी माध्यमको अन्त्य भई बाटो फराकिलो हुन्छ भन्ने पर्न थाल्यो। पुराना माध्यममा काम गरिरहेका एक पत्रकारले नयाँ माध्यम खोलेर काम थालेपछि आएका प्रशंसाबाट पनि ती माध्यमविरुद्ध सुनियोजित किसिमले काम भइरहेको बुझ्न सकिन्छ।
२०५२ सालमा सुरु भएको नेकपा (माओवादी) को ‘जनयुद्ध’ का बेला पनि सञ्चार माध्यमको शक्ति पर्याप्त थियो। त्यसैकारण तिनलाई सुदूर गाउँका ‘लालसेना परेड’ देखाएर सहरसम्म त्यसको विस्तार गरिएको थियो। पछि खुला राजनीतिमा आएपछि तिनै माध्यममाथि आक्रमण भएको पनि देखिएकै हो।
२०७९ को निर्वाचनका बेला नयाँ शक्तिहरूले व्यापक रूपमा नयाँ माध्यमलाई प्रयोग गरे। अब तिनका निम्ति पुराना माध्यमको कुनै अर्थ थिएन्। प्रत्येक पटकको राजनीतिक परिवर्तनपछि नयाँ माध्यम प्रकट हुँदै गएका छन्। त्यसैले नयाँ परिस्थितिअनुसार तिनले आफ्नै अनुकूलका माध्यम विकास गर्नु आवश्यक ठानेका छन्।
सूचना प्रविधिको विकाससँगै नयाँ दलको उपस्थितिमा नयाँ भाष्य निर्माण हुँदैछ, त्यो भनेको नेपाल बिगार्ने भनेका पुराना दल र सञ्चार माध्यम हुन्। यसका निम्ति दुवैलाई बदनाम गर्नु आवश्यक छ। यी दुवैको अवसानमा मात्र नयाँलाई यथोचित आसन प्राप्त हुन्छ भन्ने बुझाइ देखिँदैछ। त्यसका निम्ति वातावरण बन्दै गएको देखिन्छ। अन्यथा, पुराना माध्यमलाई जोगाउने गरी नीति बन्न सक्थ्यो। राज्य आफैँले सञ्चार उद्यमलाई उद्योगको मान्यता दिन सकेको छैन भने अरू के अपेक्षा गर्ने?
गत साता म संक्रमणकालीन न्यायसम्बन्धी एउटा छलफलमा सहभागी थिएँ। त्यहाँ धेरै सहभागीको राय थियो-हिजो जुन परिस्थितिमा मिडियाले काम गरेको थियो, आज अवस्था त्यस्तो छैन। त्यति मात्र होइन, न मिडियाकर्मीमा त्यसप्रति जाँगर छ, न माध्यमहरू आफैँ बलिया छन्। जबकि यिनै माध्यम थिए, जो सशस्त्र विद्रोहका बेला हेलिकोप्टर लिएर रिपोर्टिङ गर्नसमेत पुगेका थिए।
मुलुक २०६३ सालमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि त्यसयता परिस्थिति यसरी बदलियो कि कसैले पनि त्यसका पीडिततिर ध्यान दिनु आवश्यक ठानेनन्। बितेका १८ वर्षमा पीडित आफैँले पनि आफूलाई बिर्से कि भन्ने अवस्था छ। यो सम्झाइरहने ठाउँमै सञ्चार माध्यमको आफ्नो किल्ला कायम छ, अवसर पनि त्यहीं छ।
अब आजका सूचनाका स्रोत फेरिएका छन्। सर्वसाधारण आज प्रभावित भइरहने तिनले सुनेका र उपभोग गरेका माध्यमबाटै हो। पाठक र स्रोता घटेका छैनन्, प्रभाव मात्र फेरिएको हो भन्ने बुझ्न केही घटना हेरे पुग्छ।
पत्रकार बबिता बस्नेतले घटना र विचार डटकममा बुधबार लेखेको ‘देवी प्रतिभा र धर्मशास्त्रमा सम्बन्धबिच्छेद’ शीर्षक लेख शनिबार साँझसम्म एक लाख ५४ हजार बढीले सेयर गरिसकेका थिए। त्यसयता त्यो क्रम बढिरहेको छ। यसले पनि राम्रा अन्तर्वस्तुको आवश्यकता यथावत् रहेको देखिन्छ। तर्कयुक्त सामग्रीले समाजको चेतना बढाउन र स्वस्थ बहसमा मद्दत पुर्याउँछ।
यो लेख यति चर्चित हुनुपछाडि पशुपतिमा प्रवचन गर्न आएका देवीहरूको आमजनमा भएको जिज्ञासाले हो। तिनका बारेमा चर्चा गर्ने माध्यम आज नयाँ नै हुन्। तिनलाई हेरेर मानिसले आफ्ना धारणा बनाइरहेका छन्।
मैले सडकमा हिँड्दा कैयन् मानिसले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बारे चर्चा गरेको सुनेको छु। तिनलाई चर्चामा ल्याउने माध्यम पनि यिनै नयाँ माध्यम हुन्। जसले जनमतलाई प्रभावित गरिरहेको छ। त्यसैले जनमतलाई नयाँ दिशा र दृष्टि दिने हो भने त्यस्तै अन्तर्वस्तुको आवश्यकता हुन्छ। अन्यथा, पुराना दल र पुराना सञ्चार माध्यम उही हुन् वा तिनले एकअर्कालाई मद्दत गर्छन् भन्ने जुन जबर्जस्त भाष्य निर्माण गरिँदैछ, त्यसैले आउने दिनमा अलि भिन्न बाटो तय गर्ने निश्चित छ।
परम्परागत मिडियाको अन्त्यसँगै उदारवादी अवधारणा र लोकतन्त्रका लागि लडेका दल र संरचना सबैको अवशान हुन्छ भन्ने बुझ्नु जरुरी छ।
प्रकाशित: २० श्रावण २०८१ ०७:२५ आइतबार