७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

बाइराेडकाे बाटाेमा: आकाश-जमिनको अन्तर

बाइराेडकाे बाटाेमा

दुई साता अन्तरमा दुई ठुला दुर्घटनाको पीडा मुलुकले बेहोर्नुपरेको छ। पहिलो हो– नारायणगढ–त्रिशूली खण्डमा पर्ने सिमतालमा दुई बस हराउँदा यात्रुको शव अझै फेला परिसकेको छैन। दोस्रो हो-काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको बस त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो भने एकजना चालक बाँचे।

यी दुई दुर्घटनाबीच दुई सरकार रहे। पहिलो दुर्घटना हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार चलाइरहेका थिए। बसमा चढेका ६५ मध्ये तीनजना मात्र बाँचेका छन्। लेदोले बगाएर त्रिशूलीमा हालेको बसका यात्रुमध्ये अहिलेसम्म २५ जनाको मात्र शव फेला परेको छ। हवाई दुर्घटना हुँदा देशमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेससँग मिलेर बनेको सरकार छ।

अघिल्लो दुर्घटना हुँदा तत्कालीन प्रधानमन्त्री दाहालले चासो व्यक्त गरेको र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए। दोस्रो दुर्घटना हुँदा प्रधानमन्त्री ओलीलगायत उच्च पदस्थ व्यक्तिहरू विमास्थलमै पुगेर यसबारे जानकारी लिए।

 सरकारको नेतृत्व कसले गरेका छन् भन्ने पक्ष मुख्य होइन, सरकारले के गर्‍यो भन्ने पक्षचाहिँ मुख्य हो। दुईवटा बसमा ६० भन्दा बढी व्यक्ति बेपत्ता हुँदा प्रधानमन्त्री त के अन्य जिम्मेवारले पनि त्यहाँ पुग्नु आवश्यक ठानेनन्। जो नियमितरूपमा यस काममा खटिएका थिए, ती मात्र पुगे।

हवाई यातायातको इतिहासमा अहिलेसम्म भएका सबैजसो दुर्घटनामा परी मृत्यु हुनेको संख्या करिब नौ सय ५० पुगेको छ। तर सडकमा ज्यान गुमाउनेको संख्या बितेका ६ वर्षमा मात्रै करिब १४ हजार पुगेको छ। सडक दुर्घटनामा घाइते हुनेको संख्या अझ यो भन्दा कैयन् गुणा बढी हुन्छ। अप्रिल २०२२ देखि अप्रिल २०२३ बीचमा मात्रै  दुई हजार तीन सय २० को सडक दुर्घटनामा ज्यान गएको छ। यसैबीचको घाइते संख्या  २८ हजार आठ सय ५६ छ। असावधानीपूर्वक सडक यातायात सञ्चालन, गलत निर्माण र यान्त्रिक गडबडीका कारण यतिका धेरै मानिसले अनाहकमा ज्यान गुमाउँछन्।

कार्ल माक्र्सले उहिल्यै वर्गका कुरा गरेका थिए। त्यही वर्गीय स्थितिका आधारमा राजनीतिक र सैद्धान्तिक चेतना सुनिश्चित हुन्छ। नेपालको सन्दर्भमा पनि हवाईजहाज चढ्ने र बस चढ्ने दुई वर्गीय प्रतिनिधि हुन्। हवाईजहाज चढ्न सक्ने व्यक्ति नेपाली समाजका हुनेखाने वर्ग हुन्। त्यसैले राज्यमा पनि त्यही हुनेखाने वर्गको प्रतिनिधित्व हुन्छ। हवाईजहाजमा भएको लगानी, यसमा संलग्न व्यक्ति, यसमा यात्रा गर्नेहरू सबै एउटा वर्गका हुन्। अर्को वर्ग छ–बसमा यात्रा गर्ने। तिनले जस्तोसुकै अवस्थामा पनि बस नचढी हुँदैन। तिनीहरू कुनै समस्यामा परे भने पनि राज्यलाई कमै छुन्छ। यतिबेला तिनै मानिस आफन्तको शबको अन्तिम दर्शन गर्न मात्रै पाए पनि हुन्थ्यो भनेर छट्पटाएका छन्।

संयोग कस्तो पर्‍यो भने एकथरीको शव पनि फेला परेको छैन, अर्कोथरीको दुर्घटना भएकै भोलिपल्ट देशमा आधा झण्डा झुकाएर देशले शोक व्यक्त गरेको छ। प्रधानमन्त्री फरक हुन सक्छन् तर राज्यको चरित्र फरक हुन सक्दैन। बसका दुर्घटनामा परेका व्यक्ति हराइरहदा आधा झण्डा झुकाएर राज्यले शोक प्रकट गर्नु आवश्यक भएन। तर हवाईजहाज दुर्घटना भएपछि शोक व्यक्त गर्नु आवश्यक भयो।

आखिर मृत्यु सबैको उस्तै पीडादायी हुन्छ। मृत्यु पनि मान्छेपिच्छे फरक हुने सोच वर्गीय दृष्टिले मात्र भिन्न हुन्छ। त्यही भएर कसैको मृत्यु सगरमाथाभन्दा गह्राैं र कसैको त्यज्य हुनु हुँदैन। अझ आर्थिक दृष्टिले बसमा यात्रा गर्नेहरूको अवस्था कमजोर हुन्छ। तिनले बिमा आदि सुविधा पाउने अवस्था पनि रहँदैन।

पद वा सुविधामा हुँदा सबैतिर राम्रो भएको देखिन्छ। सिंहदरबारबाट ठूला गाडीमा सुरक्षाकर्मीसहित ओहोरदोहोर गर्दा र आफैँले मोटरसाइकल वा सार्वजनिक यातायातमा यात्रा गर्दा नेपालको चित्र भिन्न देखिन्छ। गाडीका ठुला चक्काले सडकका खाल्डा थाहा नपाउन सक्छ। सडकको बेहाल बुझ्न भने सार्वजनिक यातायात वा आफ्नै सवारी चलाएर हिँड्नुपर्ने हुन्छ। त्यही भएर सरकारमा बसेका बेला खासै ठूला समस्या देखिँदैनन्। त्यतिबेला मानिस पनि अलि सुकिलामुकिला र खाइपिइ गरेकै भेटिन्छन्। विकासको चिन्ता पनि बढी तिनकै निम्ति गर्नुपर्ने हुन्छ।

त्यस्तो हुँदैनथ्यो भने सडकको अवस्थाबारे जानकारी लिने, यान्त्रिक जाँच गर्ने र निरन्तर अनुगमन गर्ने निकाय अवश्यै हुन्थ्यो। हवाईजहाजको यान्त्रिक अवस्थाबारे जानकारी लिने, सुरक्षाका निम्ति निरन्तर खटिने व्यक्ति हुन्छन्। हवाईजहाज दुर्घटना हत्पति हुँदैन भन्ने ठानिन्छ। हामीकहाँ सुरक्षा व्यवस्थामा ध्यान नदिएका कारण मात्र धेरै हवाई दुर्घटना भएका हुन्। हवाई यातायात सडकभन्दा धेरै सुरक्षित छ। सुरक्षित भएको पनि यसमा अनुगमन बलियो भएर हो।

हाम्रो सडक किन परित्यक्त छ? किनभने एउटा वर्गले हाम्रा सडक प्रयोग नै गर्दैन। प्रयोग गरिहाल्यो भने पनि ऊसँग सुविधाजनक सवारी हुन्छ। प्रत्येक वर्ष कर्णाली सडकको चर्चा हुन्छ। यसलाई स्थानीयले त ‘मृत्यु मार्ग’ उपनाम नै दिएका छन्। राज्यले गर्ने अनेकन खर्च छन्। कैयन् अनुत्पादक क्षेत्रमा पनि खर्च हुन्छ। तर त्यो सडकको स्तरोन्नतिका निम्ति कमै ध्यान पुग्छ।

यस पटकका यी दुई घटना र तिनीमाथि गरिएको अलग-अलग व्यवहारबाट पनि हाम्रो राज्यको चरित्र छलङ्ग हुन्छ। एकथरी व्यक्तिलाई नेपाल बस्नु नै छैन। तिनलाई यहाँ कमाइधमाइ गरेर विदेशमा बस्ने छोराछोरीलाई पठाउनु छ। आफैँ पनि अवकास लिएपछि उतै जाने हो। अर्काथरी छन्, जसलाई यहाँको विकास निर्माण र काममा कम ध्यान छ। राज्यका उपल्ला स्थानमा तिनको उपस्थिति यहाँ जिम्मेवारीमा रहुन्जेल मात्र हो। वास्तवमा ती यहाँका केही समयका ‘लाहुरे’ मात्र हुन्। ती समय भएपछि फर्किन्छन्।

हाम्रो मुलुकमा कालले भन्दा अकालमा मृत्यु हुने संख्या धेरै छ। दुर्घटनाबाट हुने नियमित मृत्युबाहेक प्रदूषण पनि अर्को ठुलो काल बनेर आउने गरेको छ। बर्सेनि ५० हजार मानिसको मृत्यु नेपालमा मात्र प्रदूषणबाट हुने गरेको छ। समयमा उपचार नपाएर, पोसिलो खानेकुरा खान नपाएर मर्नेको संख्या कसैले गणना गरेको छैन। किनभने यस्ता मानिस भनेका राज्यको कम ध्यान पुग्नेहरू हुन्।

हाम्रो राज्य संरचनामा पनि वर्गीय भावना बोकेर पुगेका भए पनि त्यहाँ गएपछि तिनको वर्ग परिवर्तन हुन्छ। जुन वर्गका साथ लिएर गइन्छ, बाँकी तिनीहरू तलै छुट्छन्। अनि त्यहाँ भेट हुन्छ अर्को वर्ग जसले सबैतिर प्रभाव पार्न सक्षम भएको छ। सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले यो वर्गलाई छुट्याउन भन्ने गरेका थिए-बुट जुत्ते र खाली खुट्टे। यहाँ पनि जहाज चढ्न सक्ने वर्ग बुट जुत्ते हो। बस चढ्नेचाहिँ खाली खुट्टे। त्यही भएर खाली खुट्टेको मृत्युले धेरैलाई सताएको छैन। राज्यका निम्ति पनि यो विभेद सामान्य छ। त्यसैले उड्नुको उत्साह नै  बेग्लै छ।

आकाशमा उड्ने हवाईजहाजका यात्रु हुन् वा जमिनमा गुड्ने बसका यात्रु एउटै मानिस हुन् तर तिनलाई गर्ने व्यवहार भने आकाश–जमिनकै फरक रहेछ।  

प्रकाशित: १३ श्रावण २०८१ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App