९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

गन्तव्यहीन गठबन्धन

राजनीतिमा अब असम्भव भन्ने केही रहेन। व्यक्तिको राजनीतिक स्वार्थका अगाडि राष्ट्रको सर्वोपरि हितका कुरा गौण हुँदै गए। पछिल्लो घटनाक्रमले यो सिद्ध गर्‍यो कि जसले राष्ट्रलाई ठग्दै गयो, राजनीतिमा जसले झुटो बोल्न जान्यो, त्यही व्यक्ति राष्ट्रभक्त र राजनेता कहलियो। 

राजनीतिक मर्यादा समाजमा अलिकति पनि बच्न सकेन, परिणाम परिवार समाज र पूरै राष्ट्र राजनीतिको फोहोर खेलले दुर्गन्धित बन्यो । इमानको राजनीति गरेर पटक–पटकको आन्दोलनबाट अग्निपरीक्षामा उत्तीर्ण भएका सबै राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए। जहाँ आध्यात्मिक चिन्तन र अध्ययन छैन, त्यहाँ नैतिकता रहन्न, जहाँ नैतिकता छैन, त्यहाँ अनैतिकताले जरा गाडिरहेको हुन्छ। अनि सबैजना पथभ्रष्ट हुन्छन्।

द्वापर युगमा पाण्डव र कौरवबीच राज्यसत्ताका लागि लडाइँ भएको आख्यान सबैलाई थाहा छँदैछ। जुवा खेलाउने सकुनीको कपटबाट कंगाल हुन पुगेका पाण्डवहरूले आखिरमा द्रौपदीलाई दाउमा राख्छन् । दुशासन जस्ता कुपात्रले नारी अस्मिताको धर्म बचाउन चाहेनन्। 

द्रौपदीले लाजका गहना बचाउन भगवान श्रीकृष्णको पुकार गरिन्। दुशासन आदिले उनको सारी बलजफ्ती तान्दै गए तर, मातृशक्तिका अगाडि दुशासनको केही चलेन। त्यही बेला पाँचवटै पतिलाई इमानदारिता र साहसको मन्त्र सिकाउँदै द्रौपदीले भगवानसँग गरिएको प्रार्थनाको याद आउँछ:

जगदीश कृपा निधान भो, अति संकष्ट यहाँ परेँ प्रभो सहसा यसबाट उम्कन सकिने छैन कृपा नभै कन।

ससुराहरू छन् बुढावडा, पति पाँचै जना छन् यहीँ खडा तर दीन अनाथिना बनी, म रुँदी छु सुनिदिन्न क्यै पनि।।

अहिले राजनीतिक हालत द्रौपदीको रुवाइजस्तै छ। नेपाल आमाको रुवाइ सुन्ने कोही छैनन्। कार्यपालिकाको बेथिति अवस्थाका साक्षी बनेका छन्, न्यायपालिका र व्यवस्थापिका जस्ता निकाय। अरू  संवैधानिक निकायका अंग र सर्वसाधारणको पहँुचभन्दा बाहिरको विषय भइसक्यो। नेपाली माटो र नेपाल आमालाई वर्तमानका नेताहरू कसैले पनि बुझ्ने कोसिस गरेनन्। 

नेपाल हिमाललाई शिरमा राखेको मुलुक हो। यहाँका कन्दरा र गुफाहरूमा ऋषिमुनीहरूले तपस्या गरे। पूर्वको पाथीभरा र हलेसी गुफा, मध्यको पशुपतिनाथ, मनकामना, मुक्तिनाथ सुदूरपश्चिममा मालिका, त्रिपुरासुन्दरी जस्ता शक्तिपीठहरूले बासस्थान रोजे, तराईमा जनक नन्दिनी सीता जन्मिन्, गढीमाईले नेपाली माटोको बास्ना छरिन्। देवीदेवताको पुण्यभूमि नेपालको महिमा नबुझेर पापकर्मद्वारा हत्या हिंसा बढ्यो। परिणाम, अस्थिर राजनीतिले जन–जनमा अविश्वासको जरा गाड्यो।

एकदलीय व्यवस्थालाई बिदा गर्‍यौँ। राजदरबार हत्याकाण्डपछिको राजनीतिमा अब गणतन्त्र ल्याउनुपर्छ भन्ने नेताहरूको विचारका पछि लाग्यौँ। हामी नागरिकले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागी जिन्दगी अर्पण गर्‍यौँ। अमर सहिद जन्मायौँ, नेताहरूलाई भगवानसरी पुज्यौँ, जन्म घर छाडेर कामको खोजीमा विदेश पनि गयौँ, रेमिट्यान्स स्वदेशमा पठायौँ। 

सबैथरी राजनीतिक पार्टीका नेताहरू मिलेर देशमा सुशासन कायम गर, मित्रवत् व्यवहार गर, देशमा विकास गर, मन्त्रिमण्डल फेरबदल गर्दै नगर, दक्षिण एशियाली मुुलुकमा आफ्नो देशलाई नमुनाको मुलुक बनाउँ भनी युवालगायत समाजका प्रबुद्ध वर्गले धेरैपटक सल्लाह पनि दियौँ। 

विशाल जनसंख्या भएका दुई छिमेकी मुलुक चीन र भारतका बीचमा आँखाको नानी जस्तै रहेको नेपालको जनसंख्या करिब तीन करोड मात्र छ। मिलेर बसेको सुन्दर मुलुक छ। यो विनाशको नभएर विकासको मुलुक हो। सरकारमा जुन पार्टी रहे पनि हुन्छ जनतालाई यसको चासो छैन। जनताको भावना र लोकहितकारी काम गर भन्यौँ तर जनताका आशालाई वास्ता नगरेर वर्तमानमा पनि हाम्रा नेताहरू अराजकताको भुमरीमा राष्ट्र र जनतालाई फसाइरहेछन्। विश्वसामु नेपाली जनताको बदनामी गराइरहेछन् केही सीमित व्यक्तिबाहेक कुनै पनि नेपाली नागरिकलाई यी कुरा पाच्य छैनन्।

२०७४ सालको गठबन्धनबाट बनेको झण्डै दुईतिहाइको वाम सरकार किन ढल्यो ? बूढानीलकण्ठमा देउवाको ढोकामा पुगेर प्रधानमन्त्री बनिदिनुहोस् भन्दै प्रचण्ड, माधवहरूले किन याचना गरे ? २०७९ मा कांग्रेस, माओवादी, समाजवादीलगायत दलले गठबन्धनको अस्थायी गाँठो किन कसे ? ८९ सिट ल्याएर संसद्मा ठूलो राजनीतिक दल बनेको कांग्रेस र ७९ सिट ल्याएको एमाले अनि ३२ सिट ल्याएर तेस्रो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डलाई किन प्रम पद सुम्पे ? प्रमका लागि खुमलटारबाट बालकोट दरबारमा केपी ओलीसँग गठबन्धन गरी केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माण गरिसकेको प्रचण्ड सरकारलाई एक महिनापछि कांग्रेसले विश्वासको मत किन दियो ? यी सबै कुराका साक्षी नेपाली बौद्धिक समाज छ।

गएको फागुन ७–१० गतेसम्म गोदावरीमा सम्पन्न कांग्रेस महासमिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा नौ सय बढी हस्ताक्षर हिन्दु धर्मका पक्षमा संकलन गरी सभापति देउवालाई बुझाएको थियो। कार्यसमितिबाट सो प्रस्ताव पास भएन। एउटा लोकतान्त्रिक पार्टीमा देशका जल्दाबल्दा राजनीतिक मुद्दाबारे छलफल गरिनु स्वाभाविक हो।

माओवादीसँगका सहकार्यबारे कुरा उठ्नुलाई अस्वाभाविक मानिँदैन। त्यसअघि पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा कांग्रेसबारे खरोरूपमा आलोचना गरिएका कुरा बाहिर नआएका होइनन् तर त्यसबारे लोकतान्त्रिक मूल्य/मान्यता बुझेको पार्टीले कुनै टीकाटिप्पणी गर्न चाहेन। 

सरकारमा रहँदा तत्कालीन अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबारे असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री दाहालले देउवासँग खुलेर कुरा गर्न नचाहनुको वास्तविकता बिस्तारै बाहिर आउँदै थियो तर चतुर प्रचण्ड पुनः बालकोटमा पुगेर गठबन्धन परिवर्तनकै खिचडी पकाउँछन् भन्ने चाल नपाउनु काङ्गे्रसको तत्कालका लागि भूल थियो।

कुनै समय केपीका कट्टर विरोधी बनेका दाहालले उनैलाई राष्ट्रकै बेइमान, गणतन्त्र विरोधी, धोकेबाज नेताको उपमा दिएका थिए। अहिले केपी नै प्रचण्डका प्रिय र राजनीतिक गुरु बन्न पुगे । तिनै शब्द प्रयोग गर्दै उनी कांग्रेसमाथि खनिन थालेका छन्। तत्कालीन सरकारमा सहभागी मन्त्रीहरूसँग असन्तुष्टि नै हो कि केवल बहानाबाजी मात्र थियो भन्ने केही झलक वर्तमान गठबन्धनको सरकारमा माओवादीका तर्फबाट सहभागी मन्त्रीहरूको निरन्तरताबाट पनि प्रष्ट हुन्छ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै एक कार्यक्रममा ‘प्रतिक्रियावादीहरूले आफूलाई घेरा हाल्न खोजेको तर आफू बच्दै आएको र आफू बाँचुन्जेल राष्ट्रमा उथलपुथल ल्याइरहने’ कुरा सुनाए। प्रधानमन्त्रीको कुर्सीमा बसेको देशको अभिभावकले यी र यस्ता भाषा प्रयोग गर्नु शोभनीय हो ? प्रतिक्रियावादीहरूलाई लात्ताले हानेर मिल्काउनुपर्छ भन्नेसम्मको उनको भाषा समाजले पचाउला र ? प्रश्न गम्भीर छ।

सत्ता प्राप्तिका लागि जे गर्दा पनि हुन्छ, जस्तो बोली बोल्दा र जस्तो व्यवहार गर्दा पनि हुन्छ भन्ने आगामी पिँढीका राजनीतिकर्मीलाई पाठ सिकाउने प्रचण्डको नजरमा प्रतिक्रियावादीहरू को हुन ? उनलाई कसले सिध्याउन खोजे ? प्रष्टरूपमा बताइदिँदा हुन्छ। 

२०६५ सालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति पदका लागि प्रस्ताव राख्ने प्रचण्डले एकाएक रामराजाप्रसाद सिंहलाई अगाडि किन सारे ? यो बेइमानी हो कि होइन ? गत पुस दोस्रो साता कांग्रेसका संस्थापक बिपी कोइरालाको मेलमिलाप दिवसको सन्दर्भमा प्रचण्डले मेलमिलापको नीति हिजो देशमा जति सान्दर्भिक थियो वर्तमान र भविष्यमा पनि त्यत्तिकेै सान्दर्भिक रहनेछ भनेका थिए।

१० वर्षे सशस्त्र युद्धबाट क्रान्तिकारी नेता बनेका प्रचण्ड एकाएक कांग्रेसलगायतका पार्टीसँग मेलमिलापका हात झिक्न पुगे किन ? यसैगरी ‘ओली कालो सर्प हो जुनसुकै बेला यसले डस्न सक्छ, यसबाट टाढा बसेर लोकतन्त्रको रक्षा गर्नुपर्छ’ भन्ने माधवकुमार नेपालले किन कोटेश्वरस्थित निवासमा पुगेका प्रचण्ड र ओलीलाई खुसी हँुदै आशीर्वादसहित फर्काए ? इमान र निष्ठाभन्दा राजनीतिक पद सबैथोक हो भन्ने पात्रका रूपमा उनी पनि परिचित बने। शायद, आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा इलाम २ बाट शायद पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई गठबन्धनको उम्मेदवारका रूपमा प्रस्तुत गर्नका लागि हो या भविष्यमा आफू पनि प्रधानमन्त्री बन्नका लागि लोभिएर ओलीसँग मित्रवत् व्यवहार गरेका हुन सक्छ।

१४ महिनामा तीनपटक गठबन्धन सरकार बन्यो, झण्डै ६० जनाभन्दा बढी मन्त्री पदासीन भए। यसबीच सातवटै प्रदेशमा राजनीतिका फोहोरी नदी बगे। माइतीघर मण्डललगायत देशका धेरैजसो प्रादेशिक राजधानीले विश्राम गर्न पाएनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निडर भएर हरेक क्षेत्रका भ्रष्टचारीहरूको नाम सार्वजनिक गरिरहेको छ। सर्वोच्च अदालतले निष्पक्षरूपमा न्यायको तराजु उचालिरहेको छ। सर्वसाधारणलाई भ्रष्टचारीको अनुहार सरकारले दण्डित गरेको हेर्न मात्र पाए हुन्थ्यो भन्ने लागिरहेछ।

नेपाली समाज समस्याका पीडाले थिलोथिलो बनिरहेछ। आफ्नो राजनीतिक साख जोगाउन वर्तमान गठबन्धन सरकारले विवादित अनुहारलाई मन्त्रिमण्डलमा समावेश गरेर राजनीतिक सुशासनको धज्जी उडाइरहेको छ।

राजनीतिमा इमानदारिता नै अन्तिम नैतिक अस्त्र हो भन्ने गणेशमान सिंहको भनाईमा बिपी राष्ट्रका लागि इमानदार नेता भएकाले पञ्चायतकालका कठिन दिनहरूमा पनि तत्कालीन राजाका अगाडि उनले कहिल्यै घुडा टेकेनन्। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त २० सिटमा कोसी प्रदेशमा पूर्वसर्तअनुसार मतदाताले गठबन्धनका उम्मेदवारलाई मत खसाल्नै पथ्र्यो तर मतदाताले त्यसो गरेनन् जुन कांग्रेसका मतदाताको भूल थियो। यस घटनाबाट चिढिएको माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले यसको बदला लिएको पनि मान्न सकिन्छ।

प्रकाशित: १ चैत्र २०८० ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App