रोग लागेपछि ओखती खानु, इन्जेक्सन दिनु अथवा चिरफार गरी शारीरिक प्रक्रियालाई संशोधन गर्नु बिरामप्रतिको धारणा हो। सन्चो नहुँदा ओखतीमुलोका लागि वैद्यकहाँ धाउने र धामी/झाक्रीकहाँ झारफुकका लागि जाने चलन नयाँ होइन।
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ। यद्यपि केवल झारफुकको भरमा कसरी मानिसको लक्षण सन्चो हुन्छ त ? भन्ने प्रश्नको उत्तर सरल छैन।
दुर्गम भेगका धामीका कुरालाई अशिक्षा भनेर पन्छन सकिएला। तर राजधानीमै झाक्रीको उपचारबाट रोग ठीक भएको भन्ने मानिस पनि भेटिन्छन्। के धामीको झारफुकबाट रोग निको हुन्छ त रु भन्ने प्रश्नको उत्तर नकारात्मक नै हुन्छ। किनकि कुचो र मयुरको प्वाखले झारेको भरमा बिरामी सन्चो हुन्छ भन्ने वैज्ञानिक आधार छैन। तर के विज्ञानले देखेको कुरा नै अन्तिम सत्य हो र ?
पूर्वीय दर्शन पाश्चात्य सभ्यताको तुलनामा धेरै विकसित भए पनि पछिल्ला शताब्दीका बेलायती औपनिवेशिक अभ्यासले भारतखण्डका परम्परागत अभ्यासहरूमा शिथिलता ल्यायो। जित्नेले शासन गर्ने मान्यता कहाँ लागु हुँदैन र ?
हजारौँ वर्षदेखि प्रचलनमा रहेको आयुर्वेदको बदला अंग्रेजी दबाइ आयो। आयुर्वेद अनुसन्धान दबाबमा परेपछि पाश्चात्य उपचार परिष्कृत बन्दै गयो। जंगली ओखतीमूलोका राम्रो र खराब पक्षको पहिचान गर्नुको बदला बेरोकतोक पश्चिमा अभ्यास भित्रियो।
प्लेसिबो इफेक्टलाई औषधि विज्ञानको सबैभन्दा ठूलो आश्चर्य मानिन्छ। सामान्य भाषामा भन्नुपर्दा सबै किसिमका रोगीलाई चिनीको डल्लारूपी ट्याब्लेट अनि धाराको पानी सुइको रूपमा दिँदासमेत थला परेको बिरामी ठीक हुनुलाई डाक्टरी भाषामा प्लेसिबो इफेक्ट भनिन्छ। ओखती हुने कुनै सम्भाव्यता नबोकेको चिनी र पानी सेवनपछि रोग निको हुन्छ भने त्यसलाई नवौँ आश्चर्य किन नभन्ने ?
अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा प्लेसिबो विज्ञानमा अनुसन्धानरत चिकित्सक टेड क्याप्चुक उपचार विधिले काम गर्छ भन्ने विश्वास गर्नु नै प्लेसिबो इफेक्ट हो भन्छन्। दिमागले महसुस गर्ने धेरै किसिमका रोगमा यो अनौठो उपचार विधि प्रभावकारी हुने ठान्छन् उनी।
माइग्रेन, पेटका दर्ददेखि लिएर बेचैनी, दिमागी अशान्ति जस्ता समस्याका रोगीमध्ये आधा रोगी चिकित्सकले बिरामीलाई राम्रो हेरचाहसहित केबल औषधि जस्तो देखिने छद्म ट्याब्लेट दिँदासमेत पनि सन्चो भएर घर फर्कन्छन् भन्छन् डा. क्याप्चुक।
बिरामीलाई नक्कली ओखतीले साँच्चिकै सन्चो बनायो कि मानिसको भ्रम हो भन्ने पत्ता लगाउन रोगीको दिमागको फङ्गसनल एमआरआइ गरियो। एमआरआइ स्क्यानले दुखेर अस्पताल जचाउन आएका बिरामीको सुरुमा चलायमान भएका मस्तिष्कका विभिन्न भाग कृत्रिम ओखती सेवनपछि सन्चो हुँदा विगतका सक्रिय दिमागका खण्डहरू सुषुप्त देखिए। अथवा एमआरआइले बिरामीले बहाना बनाएको नभई उसको दुखाइ साँच्चिकै सन्चो भएको पुष्टि गर्यो। यद्यपि डा. क्याप्चुक क्यान्सर, कोलेस्ट्रोल जस्ता जैविक कैफियतका कारण उत्पन्न हुने रोगमा भने प्लेसिबो इफेक्ट प्रभावकारी हुँदैन भन्ने नबिर्सन सचेत गराउँछन्।
त्यस्तै चिकित्सकप्रति बिरामीको सकारात्मक प्रभाव छाडेको खण्डमा दुखाइ प्रायः बिसेक भएको देखिएझैँ रोगीले फलानो डाक्टर अथवा ढिस्कानो अस्पतालमा उपचार गर्दा मलाई ठीक हुँदैन भन्ने प्रारम्भमै लागे ओखतीले पनि सन्चो नपार्न सक्छ। यस्तो विपरित कित्ताको उपचारलाई नोसिबो इफेक्ट भनिन्छ। दिमाग र शरीर एकै धारमा हुँदा छद्म ओखतीले समेत दुखाइ सन्चो पारेझैँ ब्रेन र बडीको तालमेल नहुँदा पेनकिलरले पनि हुँदैन भन्ने नोसिबो इफेक्टको सार हो। प्लेसिबो र नोसिबोबीच अमिल्दो सम्बन्ध रहेको यथार्थ भुल्नु हुँदैन।
दिमागले महसुस गर्ने धेरै किसिमका रोगमा चिकित्सकको व्यवहारले उल्लेख्य भूमिका खेल्ने भएकाले उपचारमा संलग्न डाक्टरले बिरामीप्रतिको व्यवहारको महत्त्व बुझ्न आवश्यक देखिन्छ। अनि तद्नुरूपको चिकित्सकीय संहिता आवश्यक छ। सन् २०२० मा जर्नल अफ पेन रिसर्चमा प्रकाशित एक अध्ययनले नर्सहरूको व्यवहार बिरामी केन्द्रित र सेवामुखी बनाउन सके पीडामा रहेका बिरामीको उपचार कम कष्टदायी मात्र नहुने बरु हेल्थकेयर खर्च पनि निकै घट्ने भन्यो।
फर्मास्युटिकल उत्पादनबिना बिरामीलाई सन्चो पार्ने फिजियोथेरापी, वाटरथेरापी, एक्युपंचरलगायतका नन् फर्मास्युटिकल इन्टर्भेन्सन विधिहरू प्रयोगमा छन्। ट्याबलेट र सुइले सन्चो पार्न नसक्ने किसिमका दिमागी रोगहरू नाँच, गीत र कला अवलोकनमार्फत गर्न सकिन्छ कि भनी अध्ययन भए।
उल्लेख्य पैसा खर्चिइ गरिएको लामो अनुसन्धानपश्यात पनि मानसिक समस्या अनि दिमागमा लाग्ने अल्जाइमर, पार्किन्सन जस्ता रोगको इलाज सरल दिशामा नगएपछि वैकल्पिक मार्ग खोज्नु अन्यथा भएन।
दिमागी सन्तुष्टि र प्रसन्नताले प्रतिरक्षा प्रणालीको सबलीकरणमार्फत धेरै रोग भगाउन सकिने तथ्यांक सार्वजनिक भएपछि उपचारका नवीन विधि भित्रिए। पछिल्लो समय गीतसंगीतमार्पmत रोगीको उपचार गर्ने विधि साउन्ड थेरापी, डान्स थेरापी विकास भयो। भगवानको पालामा अप्सराहरूले नाचगानमार्फत देवतालाई खुसी बनाएको हिन्दु धर्मग्रन्थमा धेरै पढिन्छ। के परापूर्वकालमा स्थापित भएका विधिहरूमार्फत रोग निको पार्न सकिन्छ त ?
मन परेको संगीत सुन्दा र गीत गाउँदा दुवै अवस्थामा व्यक्तिले प्रसन्नता महसुस गर्छ। सांगीतिक क्रियाकलापले शरीरमा कोर्टिसोल मात्रा तल झर्छ भने डोपामिन हर्मोन उकासिन्छ। तनावका बखत पैदा हुने कोर्टिसोल हर्मोनको परिणाम घटाउने अनि प्रसन्नताको कारकको रूपमा पाइने डोपामिनको मात्रा उकासिने भएकाले संगीतप्रतिको लगावले व्यक्तिको दिमागले ऊर्जा पाउँछ भन्छन् न्युयोर्क युनिभर्सिटीका संस्कृति, शिक्षा र मानवीय विकास विभागका निर्देशक डा. केनिथआइजेन।
गीत र नाच एकअर्काका पर्यायवाची भएकाले डान्स थेरापीलाई केन्द्रमा राखी धेरै अनुसन्धान भए। नृत्यका क्षेत्रमा भएका अध्ययन विश्लेषण गरी गत वर्ष युरोपियन जर्नल अफ साइकोट्रमाटोलोजीमा प्रकाशित एक लेखले विविध कारणले गहिरो मानसिक घात बेहोरेका मानिसलाई सामान्य दिनचर्यामा फर्काउन नृत्य विधा निकै लाभदायक हुने देखायो।
त्यस्तै अहिलेसम्म कुनै पनि दबाइ बन्न नसकेको मस्तिष्क र शरीरकबीच सन्तुलन कायम हुन कठिनाइ हुने मानसिक रोग पार्किन्सनका बिरामीलाई नृत्य तालिकामा राख्दा रोगीको अवस्था थप दयनीय नबन्ने बरु शारीरिक अवस्था सुधारोन्मुख हुने भएकाले स्टानफोर्ड युनिभर्सिटीको न्युरोसाइन्स विभागल बिरामीका लागि नृत्य कक्षा सञ्चालन गरेको छ।
संयुक्त राज्य अमेरिकाको न्यासनल ह्युमन जेनोम रिसर्च इन्स्टिच्युट र न्यासनल इन्स्टिच्युट अफ हेल्थ ९एनआइएच० जस्ता भीमकाय अनुसन्धान संस्थाहरूको नेतृत्व गरिसकेका वरिष्ठ चिकित्सक फ्रान्सिस कोलिन्सले लेखेको पुस्तक द ल्याड्ग्वेज अफ गडले सन् २००६ मा बेस्ट सेलरको उपाधि पायो। आनुवांशिक अनुसन्धानका हस्ती चिकित्सकले आफ्नो पुस्तकमा भगवान र विज्ञानको अन्र्तसम्बन्धको चर्चा गरेका छन्।
भगवानलाई संसारको उत्पत्तिको शक्ति मान्ने डा. कोलिन्स विज्ञानका आविष्कारहरूलाई देवताको पूजा मान्छन्। वार्षिक अबौँ डलरको अनुसन्धान बजेट रहेको एनआइएचको नेतृत्व गर्दा साइन्सको सहयोगीका रूपमा संगीत, कला र नाचलाई अघि सारे। औषधि उत्पादन विज्ञानभन्दा पृथक विधिमार्फत् पनि रोग निको पार्न सकिन्छ भन्ने उनको विश्वास देखियो।
नाचगान र विश्वासका आधारमा नवीन उपचार संभव देखियो। ओखतीको भ्रम छरेर रोग बिसेक पार्ने प्लेसिबो इफेक्टझैँ के धामीको प्रभावकारिताको अध्ययन गर्न सकिन्न र रु झाक्रीप्रतिको विश्वासले रोगीको समस्या हरण हुँदैन त ?
रामायणमा वर्णन गरिएको संजीवनी बुटी जस्तै आयुर्वेदिक साइन्सको उत्थानमार्फत के अंग्रेजी दबाइले निको पार्न नसकेका रोग बिसेक पार्न नसकिएला र रु देशका धामीझाक्री संस्कार र हिमाली जडिबुटीको अध्ययन र अनुसन्धानको दायित्व नेपालीले नलिए कसले बोक्ला ?
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।
प्रकाशित: २२ फाल्गुन २०८० ०६:४४ मंगलबार