११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

प्रजातन्त्रले नछोएको औषधि विज्ञान

क्यान्सर केमोथेरापीमा नेपालमा अत्यधिक प्रयोग हुने ‘एड्रियामाइसिन’ माटोमा पाइने ‘स्ट्रेप्टोमाइसिनपसिस’ भन्ने व्याक्टेरियाबाट सजिलै निकाल्न सकिन्छ तर यस विषयमा कसैले चासो लिएको देखिदैन।  

आज देशले तामझामसाथ प्रजातन्त्र दिवस मनाइरहँदा हजारौँ बिरामी औषधि उपचारको अभावमा भौतारिरहेका छन् । उपचारको गुणस्तरीयता औषधिको सुपथ मूल्य र सहज उपलब्धतासँग जोडिएको छ । तर देशमा जटिल प्रकृतिका रोग, जस्तै– क्यान्सर, मिर्गाैलालगायत उपचारमा प्रयोग हुने विदेशबाट आयातीत औषधि दुई हजार गुणासम्म महँगोमा बिक्री भइरहेको स्वास्थ्य अधिकारी नै बताउँछन । मूल्य नियन्त्रणका लागि अल्पकालीन समाधानका रूपमा विदेशी औषधि खरिद प्रक्रियामा सुधार र स्थानीय बजार हस्तक्षेप गर्न सकिने कुरा त छँदैछ । तर यो समस्याको स्थायी समाधान खोज्ने हो भने अब राज्यले औषधिमा विदेशी परनिर्भरता घटाउन देशकै प्राकृतिक स्रोत प्रयोग गरेर औषधि उत्पादन गर्नुपर्छ।

नेपालमा औषधि ऐन बनेको ४ दशक र फर्मास्युटिकल कम्पनी खुल्न सुरु भएको ४८ वर्ष भइसक्यो । तर सोचेअनुसार प्रगति हुन सकेको छैन । नियम कानुन बनाउन त हामी सिपालु नै छौँ तर त्यसको सफल कार्वान्वयन हुन सक्दैन । जस्तै नेपालले वि.सं. २०१८ मा नै जडीबुटी र औषधिसम्बन्धी गुरूयोजना त बनायो तर त्यो कागजमा नै सीमित हुन पुग्यो । हाल देशमा खुलेका ५१ वटा फर्मास्युटिकल कम्पनीले ४६ प्रतिशतमात्र औषधिको माग पूरा गर्न सकेका छन् र बाँकी औषधि मुख्यतः भारतबाट नै आपूर्ति हुने गरेको छ । नेपाली फार्मास्युटिकल कम्पनीले पूर्णरूपमा नेपाली स्रोत (कच्चा पदार्थ) प्रयोग गरेर एउटा पनि औषधि उत्पादन गर्न सकेका छैनन्।

नेपाली कम्पनी त केवल ‘फिनिस्ड प्रडक्ट’ (तयारी औषधि) मात्र उत्पादन गर्छन् विदेशबाट आयातीत औषधिजन्य कच्चा पदार्थ प्रयोग गरेर । निजी क्षेत्रले खोलेका प्रत्येक फर्मास्युटिकल कम्पनीमा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ भन्ने डिभिजन हुन्छ तर त्यहाँ औषधिको विकाससम्बन्धी अनुसन्धान शून्य हुने र ‘प्रडक्ट डेभलपमेन्ट’ को मात्र काम हुने सरकारी अधिकारी बताउँछन्।
भक्तपुर क्यान्सर अस्पताल स्थित फार्मेसी स्रोतका अनुसार क्यान्सरको कुनै पनि औषधि नेपालमा उत्पादन हुँदैन । अचेल दैनिकजसो समाचारमा आउने गरेको छ– क्यान्सरको औषधि अत्यधिक महँगो भयो देशमा । तर जति समाचार छापिए पनि सरकारी अधिकारीले बजारमा यसको मूल्य नियन्त्रण गर्न सकेका छैनन् । वास्तवमा नेपालमा नै क्यान्सर केमोथेरापीमा प्रयोग हुने टेक्सोल र एड्रियामाइसिन जस्ता औषधि आफ्नै प्राकृतिक स्रोतबाट उत्पादन गर्न सकिन्छ तर यस विषयमा चर्चा हुन थालेको ३ दशक भइसके पनि कुनै प्रगति हुन सकेको छैन । र, त्यस्ता औषधि उत्पादन हुन नसक्नुमा बाधक तत्व अब राज्यले पहिचान गर्नुपर्छ।

हाल विश्वमा बिक्री हुने सम्पूर्ण औषधिमध्ये क्यान्सरको औषधिको बजार हिस्सा २८ प्रतिशत छ । विगत ५ वर्षको अध्ययन गर्दा विश्वमा ४२ प्रकारका क्यान्सरको औषधि अत्यधिक प्रयोगमा आएको देखिन्छ । तर हालसम्म २ सय ५० वटा औषधि विश्व प्रसिद्ध अमेरिकी संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ ले क्यान्सर उपचारके लागि सिफारिस गरेको पाइन्छ । तर विडम्बना क्यान्सरको औषधि जति धेरै आविष्कार भए पनि यसको माग अत्यधिक भएकाले विश्वभरि नै यसको मूल्य आकासिँदो छ । नेपालमा मात्र होइन, प्रायः धेरैजसो देशमा सार्वजनिक चासोको विषय बनेको छ क्यान्सर उपचारको मूल्य । अमेरिकी संस्था ‘सिबिएस न्युज’ का अनुसार पाँच वर्षको दौरान ब्रेन ट्युमरको औषधि ‘लोमुस्टिन’ को मूल्य अमेरिकामा नै १४०० प्रतिशतले बढेको छ । त्यसैगरी पाकिस्तानमा क्यान्सरको औषधि ‘डोसिटेक्सेल इन्जेक्सन’ ३ गुणा महँगोमा बेचिने गरेको समाचार गत सातामात्र छापाहरूमा आएको थियो ।  भारतमा सात हजार पर्ने ‘डोसिटेक्सेल’ पाकिस्तानमा ३६ हजार पर्ने रहेछ।

‘इन्टरनेसनल ड्रग प्राइस इन्डिकेटर’ का अनुसार ८० मिलिग्राम ‘डोसिटेक्सेल’ को मूल्य १६ देखि ८७ अमेरिकी डलर पर्छ कम विकसित देशहरूमा । तर बुझ्दा सोही परिणामको ‘डोसिटेक्सेल’ को मूल्य काठमाडौँमा १७ हजार रुपियाँ पर्ने रहेछ (अर्थात् करिब शतप्रतिशत बढी मूल्य) । ऐनले तोकेको अनुगमन निकाय ‘औषधि व्यवस्था विभाग’ मा हाल करिब १९ हजार औषधि दर्ता छन् तर त्यस विभागले दुई वर्षअगाडि राजपत्रमा एक सूचना निकालेर ९६ वटामात्र औषधिको न्यूनतम बजार मूल्य तोकेको छ त्यो पनि नेपाल फार्मेसी काउन्सिलको चर्को दबाब थेग्न नसकेर । यस क्षेत्रका जानकारहरूको आरोप छ– औषधि व्यवस्था विभाग ठूला औषधि व्यवसायीको इच्छा विपरीत देशमा दर्ता भएका सबै औषधिको मूल्य तोक्न सक्दैन।
क्यान्सरको औषधि टेक्सोल

देशमा औषधि विज्ञानसम्बन्धी आधुनिक राष्ट्रिय नीति नहुँदा क्यान्सरको औषधि निकाल्ने प्राकृतिक स्रोत कौडीको मूल्यमा विदेश जान्छ र त्यही चिज प्रशोधित भएर औषधिका रूपमा सुनको मूल्यमा नेपाल भित्रन्छ । त्यसका उदाहरण वा प्रमाण धेरै छन् । लौठसल्लाबाट निकालिएको टेक्सोल स्तन, पाठेघर, छातीको क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको छ । नेपालको हिमाली भेगमा पाइने लौठसल्लाले विश्वमा उत्पादित टेक्सोलको आधा हिस्सा ओगटेको अनुमान छ । ‘सिग्मा–एल्ड्रिच’ नामक बहुराष्ट्रिय कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक ग्राम टेक्सोलको मूल्य करिब ३५ लाख पर्छ । लौठसल्लाबाट सिधै टेक्सोल निस्किने होइन । त्यसको पात तथा डाँठबाट पहिला ‘टेन–डिएबी’ (छोटकरी नाम) नामक रासायनिक पदार्थ निकालिन्छ । र, त्यस ‘टेन–डिएबी’ मा एउटा थप रिआक्सन गरेर सेन्थेटिक रासायनिक पदार्थ जोडेपछि बजारमा पाइने टेक्सोल (प्याक्लिटेक्सेल) उत्पादन गर्न सकिन्छ । त्यसैगरी ‘टेन–डिएबी’ बाट अर्को महŒवपूर्ण क्यान्सरको औषधि पनि बनाउन सकिन्छ । ‘टेन–डिएबी’ मा ‘इस्टेरिफिकेसन’ (एसिड र अल्कोहलबीचको रिआक्सन) गरेपछि त्यसबाट ‘डोसिटेक्सेल’ भन्ने औषधि बन्छ जुन ‘प्याक्लिटेक्सेल’ भन्दा पनि महँगो र उपयोगी छ । ‘टेन–डिएबी’ भन्ने रासायनिक पदार्थ ‘टेक्सस बाकाटा’ भन्ने वनस्पतिबाट निकालिन्छ जुन नेपालमा प्रशस्तै पाइन्छ । स्मरण रहोस्, टेक्सोल सन् १९६२ मा नै पत्ता लागे पनि औषधिका रूपमा यसको प्रयोग सन् १९९३ बाट मात्र सुरु भएको हो।  

अन्तर्राष्ट्रिय बजारमा लौठसल्लाबाट निकालेको एक ग्राम ‘टेन–डिएबी’ को मूल्य करिब १ करोड २२ लाख पर्छ । नेपालबाट हालसम्म टेक्सोल वा ‘टेन–डिएबी’ उत्पादन गरेको प्रमाण भेटिएको छैन कमजोर वैज्ञानिक पूर्वाधारका कारण । त्यसबाहेक लौठसल्लामा पाइने एक प्रकारको ढुसी (एन्डोफाइटिक फन्जाइ)बाट सिधै टेक्सोल निकालेको पनि भेटिन्छ विदेशमा । यस विषयमा भारतीयहरूले जोडतोडका साथ अनुसन्धान गरेको पाइन्छ । केही नेपाली वैज्ञानिकको बुझाइमा नेपालको हिमाली भेगमा पाइने लौठसल्लामा पाइने ढुसी चोरी निकासी गरेर भारत पुग्ने गरेको छ र त्यसैबाट भारतीय संस्था (वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्)ले टेक्सोल निकालेको शंका छ।

लौठसल्लाको पात प्रशोधन गरी तेल उत्पादन गर्न माछापुच्छ्रे हर्बल, नेचुरल फ्लावर एन्ड हर्बल र ज्ञान हर्बल प्रालिलाई वन मन्त्रालयले अनुमति दिएको छ । त्यसको अर्थ प्रतिबन्धित लौठसल्लाको कच्चा पदार्थ नै विदेश निकासी भइरहेको शंका छ । ती कम्पनीमध्ये माछापुच्छ्रे हर्बलकी अध्यक्ष पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार हुन् । देशमा क्यान्सरको औषधि ज्यादै महँगो भएको पृष्ठभूमिमा किन नेपालले आफँै लौठसल्लाबाट टेक्सोल उत्पादन नगरेर यसको कच्चा पदार्थ वा रसायनको व्यापार गर्न निजी कम्पनीलाई अनुमति दिएको छ जुन सार्वजनिक चासोको विषय बनेको छ आज । त्यसैगरी क्यान्सर केमोथेरापीमा नेपालमा अत्यधिक प्रयोग हुने ‘एड्रियामाइसिन’ नामक औषधि माटोमा पाइने ‘स्ट्रेप्टोमाइसिनपसिस’ भन्ने व्याक्टेरियाबाट सजिलै निकाल्न सकिन्छ । तर यस विषयमा पनि कसैले चासो लिएको देखिदैन।  
कानुनी व्यवस्था
वि.सं. २०५८ सालमा प्रकाशित राजपत्रले लौठसल्लालाई संरक्षित वनस्पतिको सूचीमा राखेको छ । उक्त सूचनामा लौठसल्लालाइ प्रशोधन गरेर निकासी गर्न पाउने पनि भनिएको छ । तर सरकारले हालै वैशाख १० गते जारी गरेको नयाँ कानुन ‘संकटापन वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियम तथा नियन्त्रण ऐन २०७४’ का अनुसार ‘संरक्षित सूचीमा रहेको लौठसल्ला’को कच्चापदार्थ (वा यसको कुनै पनि भाग) निकासी व्यापार गर्न पाइँदैन । नेपालले ‘अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि १९७३’ को पक्ष राष्ट्र भएको कारण उक्त कानुन ढिलै भए पनि (५५ वर्ष पछाडि) जारी गरेको छ । उक्त ऐनको दफा ६(१) र ८(३) अनुसार संरक्षित वनस्पतिको हकमा अनुमति लिएर निम्न कार्य गर्नमात्र पाइन्छ– १) वनस्पति रोप्न वा हुर्काउन,  (२) वनस्पतिको नमुना उत्पादन गर्न, ३) स्वदेश वा विदेशमा वनस्पतिको नमुना खरिद बिक्री गर्न,  (४) अध्ययन÷अनुसन्धान, परीक्षण, तालिम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न । त्यसैले सरकारले अब लौठसल्लाको कच्चा पदार्थको गैरकानुनी व्यापार तत्काल रोक्नुपर्छ।

देशमा क्यान्सरको औषधि ज्यादै महँगो भएको पृष्ठभूमिमा किन नेपालले आफ लौठसल्लाबाट टेक्सोल उत्पादन नगरेर यसको कच्चा पदार्थ वा रसायनको व्यापार गर्न निजी कम्पनीलाई अनुमति दिएको छ ? जुन सार्वजनिक चासोको विषय बनेको छ आज।

औषधि उत्पादनको क्षेत्रमा बुझ्नुपर्ने अर्को कुरा विश्व स्वास्थ्य सङ्गठनको ‘अत्यावश्यक औषधि’ को सूचीमा रहेका ९५ प्रतिशत औषधिमा कसैको पनि पेटेन्ट अधिकार (उत्पादनको अग्राधिकार) छैन । यसको अर्थ यस्ता औषधि विश्वका जुनसुकै फार्मास्युटिकल कम्पनीले सजिलै उत्पादन गर्न सक्छन् । त्यसैगरी बहुराष्ट्रिय कम्पनी ‘इभालुएट फार्मा’ का अनुसार सन् २०१६ मा करिब २६७ विलियन अमेरिकी डलर बराबरको औषधिले अन्तर्राष्ट्रिय पेटेन्ट गुमाएका छन् । र, नेपाली फार्मास्युटिकल कम्पनीले त्यस्ता औषधि सिधै नेपालमा उत्पादन गर्ने हो भने पक्कै पनि क्यान्सरलगायतका औषधिको बजार मूल्य घट्ने प्रस्टै छ।
अन्तमाः सार्थकरूपमा प्रजातन्त्रको आभास आमजनतामा पुराउन स्वास्थ्यमा उनीहरूको पहुँच सुनिश्चित हुनुपर्छ । त्यसका लागि क्यान्सरको औषधि टेक्सोल, एड्रियामाइसिनलगायत अन्यको उत्पादन देशभित्रै गर्न औषधि विज्ञानका क्षेत्रमा अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App