११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

क्यान्सर परीक्षणमा नयाँ शोध

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष फेवु्रअरीमा ‘विश्व क्यान्सर दिवस’ मनाउने गरेको छ । नेपालले पनि यही माघ २१ गते विविध कार्यक्रम गरेर यो दिवस मनायो । यस्तो कार्यक्रमले हाम्रो विगत र वर्तमानलाई पुनरावलोकन गर्ने मौका दिने रहेछ । क्यान्सरको समस्या विश्वव्यापीरूपमा डरलाग्दो किसिमले बढ्दो छ । र, त्यसमा पनि गरिब देश यसको मारमा बढी परेका छन् । गत साता मात्रै नेपाली छापाहरूले किसानमा क्यान्सर रोग बढी देखिएको समाचार प्रमुखताका साथ प्रकाशन गरे । कृषि क्षेत्रमा बढ्दो विषादीको प्रयोगले किसानदेखि आममानिस क्यान्सरलगायत विभिन्न रोगको सिकार भएको प्रस्टै छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले समेत खाद्यान्न र तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न सरकारलाई आदेश दिएको छ । क्यान्सर लाग्नुको कारण र उपचार विधिबारे यसअगाडि पनि सञ्चार माध्यममा निकै चर्चा भइसक्यो । त्यसैले प्रस्तुत लेख क्यान्सरको पूर्वअनुमान (परीक्षण) गर्ने नयाँ वैज्ञानिक शोध र नेपालमा क्यान्सर उपचारमा देखिएका जटितामा केन्द्रित छ।   

विश्व प्रसिद्ध अनुसन्धात्मक पत्रिका ‘साइन्स’ले हालै प्रकाशन गरेको एक शोधअनुसार क्यान्सरको पूर्वअनुमान गर्न सहयोगी एक वैज्ञानिक परीक्षणमा सफलता प्राप्त भएको छ । यस अनुसन्धानमा संलग्न अमेरिकाको जोन्स हपकिन्स युनिभर्सिटीका शोधकर्ताले उक्त नयाँ परीक्षणमा विभिन्न आठ प्रकारका क्यान्सरसँग सम्बन्धित डिएनए र प्रोटिनको जाँच रगतमा गरेका थिए । करिब एक हजार बिरामीको रगत नमूनामा गरिएको उक्त अनुसन्धानमा ७० प्रतिशतमा वैज्ञानिकहरूले सफलपूर्वक क्यान्सर परीक्षण गरेका थिए । उक्त अनुसन्धानमा ३३ प्रतिशत स्तन क्यान्सर, करिब ६० प्रतिशत पेट वा फोक्सोको क्यान्सर र करिब सत्प्रतिशत पाठेघर र कलेजोको क्यान्सरको परीक्षण गरिएको थियो । तर यस नयाँ वैज्ञानिक अनुसन्धानमा प्रोस्टेट क्यान्सर समावेश गरिएको थिएन । प्रोस्टेट क्यान्सरको पूर्वअनुमान गर्न यसअघिदेखि नै ‘पिसए टेस्ट’ प्रयोगमा छ।

गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले क्यान्सर पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

यस नयाँ परीक्षण विधिले क्यान्सर रोगको सुरुवात शरीरको कुन ठाउँबाट भएको हो सोसमेत पत्ता लगाउन उपयोगी हुने अनुमान गरिएको छ । ८१२ जना क्यान्सर नभएका मानिसको रगत परीक्षण गर्दा सातवटामा मात्र गलत रिपोर्ट आएको थियो । यसको अर्थ यस नयाँ परीक्षण विधि विश्वसनीय पनि देखिएको छ । यस अनुसन्धानमा ‘नेक्स्ट जेनेरेसन सिक्वइन्सिङ (एनजिएस)’ प्रविधि अनुसार रगतबाट निकालिएको डिएनएलाई सिक्वइन्स गरेर क्यान्सरको असर देखिने विभिन्न १६ वटा जिनमा जेनेटिक म्युटेसनको अध्ययन गरिएको थियो । साथै वैज्ञानिकहरूले क्यान्सर रोगको परीक्षणमा यसअगाडि पनि प्रयोग हुँदै आएको ८ वटा प्रोटिन बायोमार्करको पनि अध्ययन गरेका थिए उक्त अनुसन्धानमा।

तर चर्चा गरिएजस्तो यो विधि स्वास्थ्य क्षेत्रमा प्रयोगमा आउन अझै थप अनुसन्धान आवश्यक रहेको विशेषज्ञ बताउँछन् । किनकि उक्त शोधमा वैज्ञानिकहरूले भर्खरै क्यान्सर लागेका (सुरु अवस्थाको क्यान्सर) तर शरीरभरि नफैलिएका बिरामीको रगत स्याम्पलमा अनुसन्धान गरेका थिए । यसकारण क्यान्सरको लक्षण सुषुप्त अवस्थामा रहेका मानिसको रगत परीक्षण गर्दा के÷कस्तो परिणाम देखिन्छ, त्यस विषयमा अझै थप अनुसन्धान आवश्यक देखिन्छ।

यस नयाँ क्यान्सर परीक्षणमा टिस्युको बायोप्सी टेस्ट गरिँदैन । त्यसै पनि टिस्युको बायोप्सी परीक्षण महँगो, जोखिमपूर्ण र पीडादायी पनि हुन्छ । र, त्योभन्दा रगतको बायोप्सी (नयाँ परीक्षण) निकै सरल र सजिलो हुने देखिन्छ । क्यान्सर बिरामीको रगतमा धेरै ट्युमर डिएनए (सेल फ्री) र थोरै ट्युमर सेल हुन्छ । त्यसै कारण रगतमा डिएनए परीक्षण गर्न यस नयाँ अनुसन्धान सफल भएको हो । यस्तैखालको अनुसन्धान हालै ताइवानी ‘सेलम्याक्स लाइफ’ नामक कम्पनीले पनि ६२० जना पेटको क्यान्सर देखिएका बिरामीमा गरेको थियो । र, उक्त कम्पनी पनि रगतको बायोप्सी परीक्षण गरी क्यान्सर परीक्षण गर्न सफल भएको देखिन्छ।


क्यान्सरबाट मृत्यु हुनेमा ७० प्रतिशत गरिब तथा कम विकसित मुलुकका मानिस छन् । करिब एक तिहाइ मानिसमा क्यान्सर भएर मृत्यु हुनेको कारण खोतल्दा उनीहरूमा पोषणयुक्त खानाको अभाव, मोटोपन, फलफूल र तरकारी कम खाने, शारीरिक क्रियाकलाप कम गर्ने र चुरोट र रक्सीको लत प्रमुख देखिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरको कारण विश्वमा सन् २०१५ मा मात्रै ८८ लाख मानिसको मृत्यु भएको थियो । र हाल विश्वमा प्रत्येक ६ जनामा १ जनाको मृत्युको कारण क्यान्सरबाट हुने गरेको छ । त्यस बाहेक क्यान्सरबाट मृत्यु हुनेमा ७० प्रतिशत गरिब तथा कम विकसित मुलुकका मानिस छन् । करिब एक तिहाइ मानिसमा क्यान्सर भएर मृत्यु हुनेको कारण खोतल्दा उनीहरूमा पोषणयुक्त खानाको अभाव, मोटोपन, फलफूल र तरकारी कम खाने, शारीरिक क्रियाकलाप कम गर्ने र चुरोट र रक्सीको लत प्रमुख देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अझै पनि नेपाललगायत गरिब देशमा क्यान्सर रोगी के÷कति छन् आधिकारिक सरकारी तथ्यांक छैन जसको कारण सही र गुणस्तरीय उपचारबाट ठूलो समुदाय विश्वमा वञ्चित छन् । गरिब देशमा क्यान्सरको उपचार अझै महँगो हुने भएकोले यसको पूर्वअनुमान गर्ने परीक्षण विधि धेरै उपयोगी हुने प्रस्टै छ।  

जिन र क्यान्सरको सम्बन्ध
जिन म्युटेसन, इपिजेनेटिक, हाइपोमेथिलेसन तथा टक्सिन, भाइरसको कारण क्यान्सर हुन सक्ने वैज्ञानिक बुझाइ छ । जस्तो आर्सेनिक मिसिएको पानी पिएमा यसले डिएनएमा मेथिलेसन गरिदिन्छ जसको कारण मूत्रथैलीमा क्यान्सर हुन सक्छ । त्यस्तैगरी प्रदूषित वातावरणमा पाइने निकेल, मर्करी, क्रोमियम, लिड र क्याडमियमले पनि डिएनएमा मेथिलेसन गरिदिन्छ र क्यान्सर हुन सक्छ । प्यास्टिक बनाउन प्रयोग हुने केमिकल बिसफेनोलले डिएनएमा असाधारण इपिजेनेटिक परिवर्तन गराउँछ जुन क्यान्सरको कारक बन्छ । पेट्रोलियम पदार्थ बल्दा पैदा हुने बेन्जिनले डिएनएमा मेथिलेसन गरिदिन्छ जसको कारण ब्लड क्यान्सर हुन्छ ।
डिएनएमा भएको रासायनिक पदार्थ (न्युक्लोटाइड) पहिचान गर्न वैज्ञानिकहरूले सिक्वइन्सिङ भन्ने विधि आविष्कार गरे जुन ४० वर्षदेखि प्रयोगमा आइरहेको छ । र, पहिलो पुस्ताको सिक्वइन्सिङ गर्ने यस प्रविधिलाई ‘स्याङ्गर सिक्वइन्सिङ’ भनिन्छ । र यो विधिबाट डिएनएको सिक्वइन्सिङ गर्दा जिनमा भएको १० प्रतिशतभन्दा कम म्युटेसन (न्युक्लोटाइडको परिवर्तन)लाई यसले सही परिणाम दिँदैन । सुरु अवस्थाको क्यान्सर (फस्ट स्टेज) भएका बिरामीको रगतमा जेनेटिक म्युटेसन भएका डिएनएको संख्या ज्यादै कम हुन्छ । उदारणका लागि सयवटा डिएनएमध्ये दुई÷चारवटामा मात्रै जेनेटिक म्युटेसन भएको हुन सक्छ । त्यस्तो डिएनएको परीक्षण गर्न वैज्ञानिकहरूले हाल नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् जसलाई ’एनजिएस’ भनिन्छ । हुन त ‘स्याङ्गर सिक्वइन्सिङ’ भन्दा ‘एनजिएस’ करिब १० गुणा महँगो पर्छ तर यसबाट क्यान्सर रोगको कारक जिनमा भएको जेनेटिक परिवर्तन पहिचान सजिलै गर्न सकिन्छ । हाल विज्ञानले स्वास्थ्य उपचार पद्धतिलाई यति सरल बनाएको छ कि जस्तो क्यान्सर बिरामीको कुन जिनमा कस्तो म्युटेसन भएको छ सोहीअनुसारको औषधि वा केमोथेरापी दिन सकिन्छ इन्टरनेटमा सर्च गरेर । तर प्रश्न नेपालमा के÷कति डाक्टरले यस पद्धति अनुशरण गरेका छन् त्यसमा उपचारको गुणस्तरीयता जोडिएको छ।

वास्तवमा क्यान्सरको उपचारमा जिन म्युटेसन परीक्षण नगरी केमोथेरापी सुरु गर्नै हुँदैन । गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले बदलिँदो वैज्ञानिक परिवेशमा क्यान्सरको पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

नेपाली सन्दर्भ
नेपालमा क्यान्सर उपचारका लागि आमभरोसाको केन्द्र हो भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताल । तर यहाँ रेडियोथेरापीका लागि प्रयोग हुने केही महŒवपूर्ण उपकरण चालु अवस्थामा छैनन् । ‘थ्रिडी सिआरटी आइएम आरटी’ भन्ने मेसिन बिग्रिएको २ वर्ष भइसके पनि हालसम्म मर्मत हुन सकेको छैन । विदेशमा १ साता रेडियोथेरापी गरे पुग्ने उपचारलाई भरतपुरमा साँढे तीन महिना लाग्ने सुनियो । जसको कारण बिरामीको उपचार लागत बढेको देखिन्छ । अस्पताल स्रोतका अनुसार रेडियोथेरापी उपकरण चलाउन दक्ष बायोमेडिकल इन्जिनियरको पनि अभाव छ त्यहाँ । साथै क्यान्सर रोगको परीक्षण जेनेटिक वा मलिक्युलर लेभलमा गर्न ५ वर्षअगाडि भरतपुर क्यान्सर अस्पतालमा ‘साइटोजेनेटिक ल्याब’ करोडौँ खर्च गरेर निर्माण त गरियो तर हालसम्म उक्त प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन विषयगत विज्ञको अभावमा । फलस्वरूप बिरामीहरू गुणस्तरीय र सही उपचार सेवाबाट वञ्चित छन्।

कतिपय डाक्टरहरूले क्यान्सर रोगीको पीडामा मलमपट्टी गर्नुको साटो उनीहरूलाई पैसा कमाउने साधन बनाएको पनि सुनिन्छ बेलावखत । पाटन अस्पताल र भरतपुरस्थित क्यान्सर अस्पतालमा विदेशी ‘द म्याक फाउन्डेसन’ को सहयोगमा सित्तैँमा ब्लड क्यान्सरका बिरामीले औषधि पाउने रहेछन् तर त्यसका लागि निश्चित डाक्टरले सिफारिस गर्नुपर्ने रहेछ । ब्लड क्यान्सरका बिरामीमा उपचारको क्रममा ‘बिसिआररएबिएल’ नामक जेनेटिक परीक्षण गर्नुपर्छ तर नेपालमा नै हुने उक्त परीक्षणका लागि बिरामीको स्याम्पल भारत पुग्ने रहेछ करिब १२ हजार खर्चेर । त्यस्तै फोक्सोको क्यान्सरका बिरामीलाई केमोथेरापी सुरु गर्नुभन्दा अगाडि ‘इजिएफआर’ नामक जिनको परीक्षण गर्नुपर्छ ‘जेनेटिक म्युटेसन’ पत्ता लगाउन । र, त्यस्तो परीक्षण नै नगरी कतिपय डाक्टरले बिरामीलाई औषधि वा केमोथेरापी सुरु गरेको सुनियो । एनुयल रिभ्यु अफ प्याथोलोजी नामक जर्नलमा सन् २०११ मा प्रकाशित शोधका अनुसार फोक्सोको क्यान्सर उपचारमा ‘इजिएफआर’ टेस्टलाई अनिवार्य नै छ भनेको छ । बिरामीलाई डाक्टर भिजिटको संख्या बढाउन र औषधिको व्यापार बढाउन यस्तो गरिने रहेछ।

पैसाको लोभमा केही डाक्टरले यस्तो गलत प्राक्टिस गर्ने गरेको आरोप यसै क्षेत्रमा कार्यरत व्यक्ति लगाउँछन् । तसर्थ स्वास्थ्य मन्त्रालयले आममानिसले समेत बुझ्ने किसिमले क्यान्सर उपचार गाइडलाइन छिटै बनाउन र तत्काल कार्यावन्यनमा ल्याउन आवश्यक देखिन्छ । जसको कारण क्यान्सर पीडितले सही उपचार कम खर्चमा गर्न सकून् । नेपालमा अर्को समस्या क्यान्सर रोगको पहिचान गर्ने परीक्षण विधि र जनस्वास्थ्य कार्यक्रम पटक्कै प्रभावकारी देखिएन । किनकि अधिकांश बिरामी क्यान्सरको अन्तिम अवस्था (फाइनल स्टेज)मा मात्र स्वास्थ्य संस्था पुग्ने गरेको अध्ययन÷अनुसन्धानले देखाएको छ । अन्तमा, सरकारले क्यान्सरको परीक्षण वैज्ञानिक किसिमले गर्न आवश्यक कार्ययोजना तय गरी बिरामीलाई गुणस्तरीय उपचार सुनिश्चत गर्नुपर्छ । 

प्रकाशित: २२ माघ २०७४ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App