२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गणतन्त्रमा मार्सी!

मोही माग्ने ढुुंग्रो लुकाउने!

नेपाली बृहत् शब्दकोश (प्रथम संस्करण, २०४०)ले मार्सीलाई एक जातको असल धान वा त्यसको चामल भनेर परिभाषित गरेको छ। अनि गणतन्त्रलाई त्यसले देशको शासन प्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालन हुने राजनीतिक व्यवस्था हो भनेको छ।

यो आलेखको शीर्षक यी दुई शब्दको मिश्रण जस्तो भएको छ। जसको अर्थ शब्दकोशले लगाएभन्दा भिन्न छ।  शीर्षकले मार्सी भात खुवाउनेले जुटाएका नेताद्वयको टक्करलाई औल्याउन खोजेको छ। मार्सी भात खुवाएर दुई शीर्षस्थ नेतालाई मिलाउने दुर्गा प्रसाई नै यतिखेर टक्करका कारक बनेको सतहमा देखिएको छ। तर के प्रसाई नेपाली वामपन्थी आन्दोलनका दुई जबर्जस्त नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जुटाउने र फुटाउने कारक हुन् वा सतहमा मात्र उनी देखिएका हुन्? प्रश्न जति सरल छ, अन्तर्य भने धेरै नै गंभीर छ। मार्सी भातले जुटाएको एकतालाई मार्सीले फुटाएको कथा दिन/परदिन पेचिलो मात्र बनिरहेको छैन, यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भाँडतन्त्रतर्फ धकेलिरहेको भान हुन्छ।

मार्सी भातको प्रभाव नेपाली राजनीतिमा दुरगामी छ। मार्सी भातमै जेलिएको छ नेपाली वामराजनीतिक संबन्ध पनि। त्यसैले वामराजनीतिलाई मार्सीको भात मान्दा फरक पर्दैन। वामपन्थी विभाजनका जराहरू मार्सी धानको जरा जस्तै छन्। एक छाक मार्सी भात खुवाएर बहुचर्चामा आएका  प्रसाई दुई प्रभावशाली वामपन्थी नेताहरू जुटाइदिने मात्र होइन, तिनीहरूलाई टक्कर दिने राजावादीहरूको अन्तिम हतियार बनेर मंसिर ७ गते प्रदर्शनीमा उत्रन थालेको बहुप्रचार गर्दैछन् राजावादीहरू।

नेताहरूले नीति छाडेपछि राज्य व्यवस्था कमजोर हुन पुगेको हो। नेताहरूलाई खबरदारी गर्नुपर्ने बुद्धिजीवीहरू कि दास छन् कि त आशमै लिप्त छन्। न बोल्छन्, न लेख्छन् नै। एकले अर्को दललाई भ्रष्टाचारी, तस्करीको मतियार, गुण्डागर्दीको नाइके भन्दाभन्दै सबै सर्वांगै भएका छन्।

दल र नेताहरूले तत्कालको फाइदा मात्र हेरे, दूरगामी र जनताकेन्द्रित बनेनन्। आफ्नो स्वार्थ, परिवार, गुट र स्वार्थी समूहहरूको झुण्डकेन्द्रित मात्र बनिरहे। यसबाट नै लोकतान्त्रिक गणतन्त्रवादी दलहरू दिन/परदिन कमजोर बनेका हुन्। राजनीति अस्थिर बन्दै गएको हो।

सरकार र प्रतिपक्षमा बस्ने दल र नेताहरू जनसरोकारका सवालमा हरदम दत्तचित्त भईरहनुपर्ने हो। वैदेशिक रोजगारीमा पलायन भएका युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्न लागिरहनुपर्ने हो। सुशासन, समृद्धि र समन्यायका लागि गणतन्त्र हुनुपर्ने थियो तर भैदियो अर्कै। यी कुरा प्राथमिकतामै परेनन्। सत्ताको न्यानोले उनीहरूलाई मतान्ध बनाइरह्यो। आलोचनाबाट जोगिन नेताहरू दल होइन, गुट बलियो बनाउन लागे।

कुनै पनि घटना भयो भने नेपाली समाज कि समर्थन कि त विरोधमा तत्काल उत्रिइहाल्छ। सर्वसाधारणबीच उत्तिखेरै धारणा छरपस्ट हुन पुग्छ। उत्तेजना संहालिनसक्नु भैहाल्छ।

 घटनाको बहुप्रचार र व्यक्तिको दानवी/देवत्वकरण यति धेरै गरिन्छ कि कुन ठीक कुन गलत तत्काल ठम्याउनै सकिँदैन। अलमल हुन्छ। विरोध र समर्थनका एकसेएक तर्क/कुतर्क अगाडि सारिन्छन्। जसले समाजमा छाडापन बढाउने मात्र होइन, अराजकतालाई चुल्याउनु चुल्याइरहेछ। त्यसबाट जोगिन दलका नेताहरू आफ्नै पार्टीलाई ‘बनाना रिपब्लिक’झैंँ परनिर्भर बनाउन अग्रसर भैरहन्छन्। दम्भ, अहंकार र घमण्डले उनीहरू एकपछि अर्को खाल्डोमा जाकिइरहेका छन्।

अचम्म त के भने स्वाभिमान, नैतिकवान, आदर्श र क्षमता भएकाहरू नेतृत्वको नजर र अजेन्डामै पर्दैनन्। पर्न सके झुटको खेती विस्तारै मासिन थाल्ने थियो। चालीसको दशकमा पार्टीमा नेतृत्व गरेकाहरूलाई असीको दशकमा पनि आफैँले नेतृत्व गर्नुपरेको छ। दलप्रतिको वितृष्णा र नेतृत्वप्रतिको आक्रोश यही प्रवृत्तिको परिणाम हो।

सिद्धान्त, आदर्श र नीति कार्यक्रमका आधारमा घटनाको सही विवेचना गर्न सक्ने र त्यसका प्रभावहरूको विश्लेषण गरेर सही दिशातर्फ अग्रसर हुन सकेको भए अहिलेको जस्तो घृणा, अविश्वास, आक्रोश नेतृत्वविरूद्ध अभिव्यक्त हुने नै थिएन।

प्रतिपक्षको होस पुगोस्!

मंसिर ७ गते के हुँदैछ? राष्ट्रिय मिडिया मौनप्रायः छन्। भनिँदैछ, त्यस दिन राजधानीमा शक्ति प्रदर्शन हुँदैछ। एकातिर  प्रसाई र राजावादीहरू, अर्कोतर्फ एमालेका युवा विद्यार्थी र महेश बस्नेत। प्रमुख प्रतिपक्ष एमालेका युवा विद्यार्थी संगठनहरू महँगी, भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने तयारीमा छन्। युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत झापा मोरङमा गएका बेला उनको गाडी तोडफोड गरेको कुराले क्रुद्ध छन्। त्यस दिन कुनै पनि बेला मुठभेड हुन सक्ने भनेर शान्ति सुरक्षाका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले एकै ठाउँमा प्रदर्शन गर्न नदिने भनेर सूचना जारी गरेको सुनिएको छ।

युवा संघ र प्रसाईबीच घमासान हुने प्रचार व्याप्त छ। सरकारमा बस्नेहरू खुच्चिङ भन्दै कुइनो हल्लाइरहेछन्। सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षबाट व्यक्त सिंगौरी खेल्ने विचारले पनि अवस्थालाई तताएको छ।

राज्यसत्तामा कांग्रेस–माओवादी र मधेसीको गठबन्धन छ तर विपक्षी दल प्रदर्शनकारीसँग लड्न जान्छु भनेको पो सुनियो।

सरकारमा बसेर जथाभावी गर्ने गठबन्धन अनि लड्न जाने एमाले ? कुनैबेला एमालेको केन्द्रीय सदस्य बनाइएका प्रसाई र अहिले पनि एमालेको नेतृत्वमा रहेका महेश बस्नेतबीच हुन सक्ने भिडन्तले परिस्थितिलाई थप जटिल बनाउने निश्चित छ। संयोग पनि कस्तो? प्रसाई एमाले अध्यक्षलाई हजुरबा भनेर संबोधन गर्थे भने बस्नेत ओलीलाई बा भन्ने गर्छन्। झट्ट हेर्दा केपी ओलीका छोरा र नातीको झडप जस्तो लाग्ने भए पनि उत्तेजनाकारीहरूले जुनसुकै बेला भीडमा पसेर उपद्रो गर्न सक्छन्।

बुझ्न नसकिएको कुरा के भने राजावादीले गरेकै दिन एमालेले प्रदर्शन गर्नुको कारण र उद्देश्य के हो ? किन मंसिर ७ गते नै प्रदर्शन गर्नुपर्‍यो? जनता विश्वस्त हुने गरी तर्कपूर्ण जवाफ दिनुपर्छ। अनि मात्र जनताले साथ दिन्छन्। झापा, मोरङमा पूर्वराजावादीसँग भएको घटनाको आक्रोशले काठमाडौँको प्रदर्शन अराजक भयो र थप मुठभेड निम्तियो भने त्यसले एमालेलाई मात्र क्षति पुग्नेछ। फुकीफुकी पाइला चाल्नुको विकल्प यो दलसँग अर्को देखिँदैन। मुठभेड होस् भन्ने पक्षमा सत्तापक्षको अप्रत्यक्ष मनसाय जगजाहेर छ।

 चतुर माओवादी प्रधानमन्त्री दाहालले राजावादी पूर्वपञ्चसँग एमालेलाई भिडाएर उसको शक्ति त्यतै अल्मल्याउन चाहनु उनको राजनीतिक चाल हुन सक्छ।

सत्तामाथि हुन सक्ने प्रमुख प्रतिपक्षको दबाबबाट सरकारलाई मुक्त पार्न उनले चाल नचल्लान् भन्न सकिँदैन। उनको विगत नै यसको दशीप्रमाण हो। यसअर्थमा मार्सी भातका आयोजक  प्रसाईमाथि उनको धाप छैन होला भनेर अड्कलबाजी गर्दै माथापच्चिसी गरिरहनै पर्दैन।

राजावादीहरूको सहयोगमा पूर्वराजालाई पुनः गद्दीमा बसाउने आन्दोलन सुरु हुने दिन एमालेका युवा विद्यार्थी प्रदर्शनमा जानुपर्ने कारण के हो? एमालेले आफूविरुद्धको चक्रव्यूहलाई बुझेर होसियार बनेन भने इतिहासबाट विलुप्त हुनबाट कसैले जोगाउन सक्दैन। उसले अहिले गर्नुपर्ने भनेको प्रमुख प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह नै हो।

जिम्मेवार राजनीतिक दलका रूपमा देश र जनताले सामना गर्नु परिरहेका महँगी, घूसखोरी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने अपराध, टनका टन सुन तस्करी, ललिता निवास प्रकरणविरुद्ध आन्दोलन सिर्जना गरेर जनताको आशा एवम् विश्वास जित्न सक्नुपर्छ। एमालेले प्रतिक्रियाको राजनीति गर्न छाड्नुपर्छ। सिर्जनशील र क्रियाशील बन्नुपर्छ। अर्काले के क्रिया गर्छ भनेर प्रतिक्रिया जनाउने होइन, जनता र राज्यको आवश्यकता अध्ययन गरेर योजनाबद्ध कार्यक्रम अगाडि बढाउनुपर्छ। एमाले भनेको अहिलेका लागि ‘प्राइममिनिस्टर इन वेटिङ’ हो, मार्सी होइन! 

प्रकाशित: ६ मंसिर २०८० ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App