विश्वविद्यालय तहबाट प्रवीणता प्रमाणपत्र तह हटाई विद्यालय तहमा दस जोड दुईका रूपमा प्रतिष्ठापित गरेपछि स्कुल तहको पूरै पाठ्यक्रम परिवर्तन गर्ने क्रमले यस वर्ष पूर्णता प्राप्त गरेको छ। यसै सत्रबाट कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु भइसकेको छ। नेपालको विद्यालय तहको शिक्षाको इतिहासमा अहिले लागु भएको पाठ्यक्रम विश्वपरिवेश, अन्तर्राष्ट्रिय असल अभ्यास र नवीन मूल्यमान्यतालाई समेत आत्मसात् गरी निर्माण गरिएको अत्याधुनिक पाठ्यक्रम हो। विद्यार्थीमा रहेको घोकन्ते प्रवृत्ति र लिखित परीक्षालाई मात्र सबै भन्दा ठुलो उपलब्धि ठान्ने परम्परागत मानसिकतालाई यस पाठ्यक्रममा आधारित मूल्याङ्कन पद्धतिले चिर्ने अपेक्षा गरिएको छ।
पाठ्यक्रम निर्माण गर्ने सन्दर्भमा र कार्यान्वयनका सिलसिलामा समेत ठूलो आर्थिक लगानी गरिए पनि कार्यक्षेत्रमा जुट्ने शिक्षकलाई पर्याप्त तालिम र तयारी नगराएकाले कार्यान्वयनमा भने शङ्का विद्यमान छन्।
विद्यालय तहका पाठ्यपुस्तकहरू यसपटक समयमै विद्यार्थीका हातमा पुगे। यसलाई राम्रो उपलब्धि मान्न सकिन्छ। समयमा पाठ्यपुस्तक पुगेकाले पठनपाठन क्रियाकलाप पनि सत्रको सुरुबाटै सुचारु भएको छ तर कक्षाकोठाका क्रियाकलाप र शिक्षण सिकाइको अभिन्न र महत्त्वपूर्ण अङ्ग मूल्याङ्कन विधिका बारेमा पर्याप्त छलफल, अन्तरक्रिया र तालिमहरू सञ्चालन गर्न नसकेकाले सबैतिर अन्योल देखिएको छ।
परम्परागत पद्धतिमा पाठ्यपुस्तकमा दिइएका सूचना कण्ठ गरेर निश्चित समयमा लिखित परीक्षाका माध्यमबाट तिनै सूचना र तथ्य प्रस्तुत गर्न सक्ने विद्यार्थी सर्वोत्कृष्ट ठहरिने गरेको थियो। उस्तै किसिमका प्रश्नपत्रहरू दोहोरिने, मूल्याङ्कनका अन्य साधनहरूको प्रयोग नहुने र विद्यार्थीको अभिवृत्तिमा के/कस्तो परिवर्तन आयो भन्ने कुराको मूल्याङ्कन नहुने भएकाले विद्यार्थीले परीक्षामा कस्तो गर्छ भन्ने कुराले उसका वर्ष दिनका सम्पूर्ण क्रियाकलापको प्रतिनिधित्व गर्ने व्यवस्था रहेको थियो।
वर्तमान पाठ्यक्रम एक्काइसौँ शताब्दीका सिकाइ सिप कक्षाकोठाका क्रियाकलापबाट विद्यार्थीले आर्जन गर्न सकून् भन्ने मनसायका साथ निर्माण गरिएकाले विद्यार्थीका सिपको मूल्याङ्कन परम्परागत लिखित परीक्षाबाट मात्र सम्भव हुन सक्दैन। यसका लागि विद्यार्थीको ज्ञान, सिप, अभिवृत्ति, मूल्य र काम गर्ने क्षमता वा तत्परताको परीक्षण गर्न सक्ने किसिमका साधनका माध्यमबाट मात्र सही मूल्याङ्कन हुन सक्छ। यसैले नयाँ पाठ्यक्रमअनुसार पठनपाठन भए पनि यदि मूल्याङ्कनको परम्परागत साधन मात्रै प्रयोग गरियो भने विद्यालय तहको पाठ्यक्रम सुधार गर्नका लागि गरिएको ठूलो लगानी बालुवामा पानी बन्ने छ।
सरकारी दुई निकाय पाठ्यक्रम विकास केन्द्र र परीक्षा बोर्डका बीचमा समन्वय हुन नसक्दा विरोधाभाषपूर्ण कार्यक्रमहरू अघि सारिएको स्पष्ट देखिन्छ। पाठ्यक्रमअनुसार मूल्याङ्कन हुनुपर्नेमा परीक्षा बोर्ड भने एकांकीरूपमा पाठ्यक्रमको उद्देश्य र एक्काइसौँ शताब्दीका अभ्यास विपरीत स्तरीकृत प्रश्न र परीक्षाको रटान लगाउँदै उल्टो यात्रामा उद्यत रहेको छ।
पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण विधिका बारेमा काम गरे पनि मूल्याङ्कनका साधनका बारेमा समयमा अपेक्षित तयारी गर्न सकेन। यसैले आन्तरिक मूल्याङ्कन सर्वाङ्गीण उपलब्धिको सूचक हो वा प्रयोगात्मक परीक्षा मात्र हो भन्ने विषयमा मोफसलमा मात्र होइन, सुविधा सम्पन्न राजधानीका विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूसमेत अन्योलमा छन्।
कक्षा १–३ मा पूर्णरूपमा नियमित र निरन्तर मूल्याङ्कन अनि कक्षा ४–८ मा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्कन गरी विद्यार्थीको समग्र पक्षको मूल्याङ्कन गर्ने र उनीहरूको सक्षमता पहिचान गर्ने उद्देश्य पाठ्यक्रमले राखेको छ।
यसैगरी ९ कक्षादेखि १२ कक्षासम्म हरेक विषयमा २५ प्रतिशत आन्तरिक मूल्याङ्कनको व्यवस्था गरी विद्यार्थीलाई सूचना कण्ठस्थ गर्ने मात्र नभई सिकाइ सिप र अभिवृत्ति विकास गर्ने उद्देश्य पाठ्यक्रमले राखेको छ।
पाठ्यक्रमका उद्देश्य राम्रा हुँदाहुँदै पनि शिक्षकहरूलाई समुचित तालिमको व्यवस्था नभएकाले कक्षा चारदेखि आठसम्म ५० प्रतिशत प्रयोगात्मक र ९–१२ मा पनि २५ प्रतिशत शिक्षकले स्वेच्छाले दिन सक्ने प्रयोगात्मक अङ्कको व्यवस्था गरिएको भन्ने बुझाइ धेरैजसो शिक्षकमा रहेको देखिन्छ।
यदि आन्तरिक मूल्याङ्कनको अङ्कलाई शिक्षकले स्वेच्छाले दिने हो भने विद्यार्थीको पठन संस्कृति झनै धराशायी हुने छ। उनीहरूले आफ्नो उमेरअनुसारको कक्षामा सिक्नुपर्ने आधारभूत सिपहरू सिक्न सक्ने छैनन् र विद्यालयको शिक्षा झनै तहसनहस हुने छ। शिक्षामा यस किसिमको विकराल अवस्था आउन नदिन मूल्याङ्कनका साधनहरूका बारेमा छलफल र तालिमहरू चलाउनु अत्यावश्यक छ।
रुब्रिक्स निर्माण गर्ने, चेकलिस्ट र श्रेणी मापन स्केल बनाउने, समूह कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्यमा विद्यार्थीलाई सहभागी गराउने हो भने मात्र पाठ्यक्रमले राखेको उद्देश्य पूरा हुन्छ। अपेक्षित सिप मापनका लागि निर्धारित मापन विधिको प्रयोग भएन भने मूल्याङ्कनको नतिजासमेत अर्थपूर्ण बन्न सक्दैन।
व्यक्तिको विद्वत्ता मापन गर्ने सन्दर्भमा उसको रूप र शारीरिक सङ्गठन गौण भएझैँ पाठ्यक्रमको उद्देश्य पूरा नगर्ने मापन र मूल्याङ्कनले सिप सिकाइमा तात्त्विक अर्थ नराख्ने मात्र होइन, विद्यार्थीको सिकाइलाई समेत निरुत्साहित गर्ने सम्भावना बढ्छ। यसैले आन्तरिक मूल्याङ्कनका सन्दर्भमा रहेका अस्पष्टता हटाउनका लागि अब शिक्षकहरूलाई शिक्षण विधि र मूल्याङ्कनका साधनहरूबारे स्पष्ट पार्नु आवश्यक छ।
निरन्तर मूल्याङ्कन र आवधिक मूल्याङ्कन दुवैलाई के/कसरी समायोजन गर्ने र विद्यार्थीका समग्र क्रियाकलापको मूल्याङ्कन गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि के–कस्ता कार्यमा जोड दिने भन्ने सन्दर्भमा सम्बद्ध सबैलाई स्पष्ट पार्नै पर्दछ। नयाँ पाठ्यक्रमले हरेक विषयमा रुब्रिक्स निर्माण गर्ने कुरालाई जोड दिएको छ। ४–१० को पाठ्यक्रम सक्षमतामा आधारित भएकाले विद्यार्थी कक्षाकोठामा जानुभन्दा अगाडि नै मैले के कति काम गरेँ भने कस्तो अङ्क प्राप्त गर्दछु भन्ने जानकारी प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरिएको हुनुपर्दछ। यसका लागि अति आवश्यक पर्ने रुब्रिक्स निर्माण र विद्यार्थीलाई स्वमूल्याङ्कनको अवसर सिर्जना गर्नका लागि शिक्षकको मेहनत र सिप अति आवश्यक देखिन्छ।
परम्परागत रूपमा जस्तै कक्षाकोठामा गएर पाठ्यपुस्तक भट्याउने अनि केही ठाउँमा व्याख्या विश्लेषण गरिदिने काम गर्दैमा शिक्षकको जिम्मेवारी पूरा हुँदैन।
विद्यार्थीलाई परीक्षाको निश्चित तालिका दिएर पूर्वनिर्धारित प्रश्नपत्रका आधारमा लिखित परीक्षा सञ्चालन गरी नतिजा निकाल्दैमा मूल्याङ्कन पनि हुन सक्दैन। यसैले पाठ्यक्रममा सामयिक परिवर्तन भइसकेको सन्दर्भमा ठूलो परिवर्तन शिक्षकको मानसिकतामा हुनु आवश्यक छ। अध्ययनशील शिक्षकले आफूलाई नयाँ पाठ्यक्रममा अनुकूलित गरिसकेका भए पनि पाठ्यक्रम भनेकै पाठ्यपुस्तक हो भन्ने धारणा राख्ने शिक्षकको सङ्ख्यासमेत ठूलो रहेकाले उनीहरूलाई पाठ्यक्रमसँग अभ्यस्त बनाउन स्थानीय तहले पहलकदमी लिनु आवश्यक छ।
प्रकाशित: २४ भाद्र २०८० ००:२८ आइतबार