१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

स्वाभिमान खोज्ने बेला

कान्तिपुरका राजा प्रताप मल्लले रानीपोखरी बनाएपछि त्यहाँ सयौँ तीर्थ र पवित्र नदीको जल मिसाइयो। वसन्तपुर दरवारबाट उषाकालमा राजा दिनहुँ स्नान गर्न त्यहाँ जाने गर्थे। दुर्भाग्यवश रानीपोखरी जान थालेपछि राजा धेरै दुब्लो भए। उनको उपचार गराउन वैद्य, तान्त्रिक र गुभाजुले अनेक उपाय गरे। तान्त्रिकले राजा प्रताप किचकन्नीको मायाजालमा परेको पत्ता लगाए। राजालाई धागोको डल्लो दिएर खुसुक्क किचकन्नीको लुगामा बाँधिदिनू भनेर सिकाए।

भोलिपल्ट तान्त्रिक समूह धागो पहिल्याउँदै रानीपोखरी जाँदा एउटा हीमा धागो बाँधिएको भेटियो। ही जलाएर खरानी माटोमा गाडियो। त्यसमाथि राजा, उनकी रानी र राजपुत्रको मूर्तिलाई ढुंगाको हात्तीले कुल्चेको अवस्थामा राखियो। ही फेला परेपछि राजा तंग्रिए। उनको स्वास्थ्य राम्रो भयो। रोगको निदान भएपछि मात्रै व्यक्ति, समाज र राष्ट्र बलियो हुन्छ।  

नेपाल किन रोगी, असुरक्षित, अस्थिर, शिथिल र परावलम्बी बन्दैछ भन्ने पत्ता लगाएर उपचार गर्न हामीले पनि यस्तै ही खोज्नुपर्ने बेला भएको छ। अस्थिर राजनीति, दिशाहीन कूटनीति, अभूतपूर्व बाह्य हस्तक्षेप र गैरजिम्मेवार प्रवृत्तिलाई सहज नमान्ने हो भने नेपाल प्रश्नचिह्नमय अवस्थामा छ। यो हाँसेर वा यस्तै हो भनेर टार्ने बेला होइन। हामीले विदेशीलाई मद्दत गर्नेहरूलाई चिन्नु आवश्यक छ।  

विश्व जटिल बन्दैछ। भारत र चीनबीच अवस्थित नेपाल भूराजनीतिक कारणले धेरै अप्ठ्यारोमा परिरहेको छ र अझ विषम परिस्थितिको शिकार बन्नेछ। तर स्पष्ट मार्गचित्र नहुँदा हामी निद्रामा लठ्ठ छौँ। विभ्रम र निद्राबाट हामी कहाँ पुगेर बिउँझिन्छौँ भन्ने प्रश्न पनि अनुत्तरित छ।

भारतमा अंग्रेजले दुई सय पचास वर्ष र विदेशी मुसलमानले सात सय पचास वर्ष शासन गरे। एक हजार वर्ष पराधीन रहेको भारत पचहत्तर वर्षपहिले स्वतन्त्र भए पनि अंग्रेजकै पदचिह्नमा हिँडेर संस्कृति बिर्सेको भन्दै चर्को आलोचना हुने गरेको छ। हिन्दी, बंगाली, उडिया, राजस्थानी, तमिल, बिहारीलगायतका भाषा बोल्नेलाई भन्दा सरकारी कार्यालयमा ‘इङलिस’ बोल्ने मानिसको धेरै इज्जत छ। उनीहरूलाई सर वा म्याडम भनेर कुर्सीमा राखिन्छ। यस्तो मानसिकता दासत्वको विरासत हो भनेर धेरैले लेखे।

यो हाँसेर वा यस्तै हो भनेर टार्ने बेला होइन। हामीले विदेशीलाई मद्दत गर्नेहरूलाई चिन्नु आवश्यक छ।

अमेरिकी क्रिश्चियन शासकहरूसंग भारतीय ‘हिन्दू’नेताहरूको अनुपम प्रणयबारे धेरै चर्चा हुन थालेको छ। चीनलाई दक्षिण एसियामा प्रभावहीन हुन नदिन, अमेरिका भारत, जापान र अस्ट्रेलिया एकीकृत बनेर एसिया–प्यासिफिक रणनीति सफल बनाउन र आफ्नो प्रभाव विस्तार गरेर चीनलाई अमेरिकाले घेरामा पार्न खोजेको चीनका मिडिया र बुद्धिजीवीको आरोप छ।  

यो सबै बुझेको कुरा हो, चीनले अफ्रिकी राष्ट्रहरू, युरोप र एसियामा नयाँ ढंगले कूटनीतिक चातुर्य देखाउन थालेको छ। चीनले नेपालमा चीनमैत्री सरकार बनोस् भन्ने चाहेको जगजाहेर छ। भारत र अमेरिका पनि नेपाललाई आफ्नो स्वार्थपथमा हिँडाउन चाहन्छन्। यसले द्वन्द्व, षड्यन्त्र तथा घात÷प्रतिघातको नवीन सिलसिला सुरु हुने टड्कारो देखिन्छ। अफगानिस्तान, कम्बोडिया, इराक, सिरिया र लेबनान जस्ता धेरै राष्ट्र यस्तै चक्रब्यूहमा परेका हुन्।  

इयुका उच्च प्रतिनिधि जोसेफ बोरेलको चीन भ्रमण अन्तिम अवस्थामा रद्द भयो। चीनका प्रधानमन्त्री ली छ्याङले हालै युरोप पुगेर चीन र युरोप मिल्नुपर्ने आग्रह गरे। चिनियाँ पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयमा चिनियाँ प्रधानमन्त्रीले युरोपको औपचारिक भ्रमण गरेको जनाइएको छ। यस्तै, चीनमा अमेरिकी उच्च व्यक्तिहरूले गरेका पछिल्ला भ्रमणले अमेरिका चीनलाई कमजोर मान्दैन भन्ने बुझिन्छ। अमेरिका र चीन ठूलै प्रतिस्पर्धामा छन्।

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

सन् २००२ मा नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री छँदा त्यहाँको हिंसात्मक घटनामा करिब एक हजार मुसलमान मारिए। अमेरिकी सरकारले मोदीलाई घोर अनुदारवादी भन्यो। मोदीका विरुद्ध हजारौँ खबर छापिए। सन् २०२३ जुन २३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको खुबै प्रशंसा गरे। मोदीलाई अमेरिकामा ठूलो स्वागत गरियो। कुनै बखत पुष्पकमल दाहाललाई आतंककारी भन्ने नेपाली कांग्रेस, एमाले र राप्रपाले दाहाललाई प्रधानमन्त्री मानेर अघि लगाएझैँ हिजोका मानव अधिकार विरोधी र ‘घोर अनुदारवादी’ मोदी अमेरिकी दृष्टिमा डेमोक्रेसीका मिथक बनेका छन्।  

कसले कसलाई कहिले र किन प्रयोग गर्छ, त्यो ‘काम छउन्जेल भाँडो, काम सकियो ठाँडो’भन्ने उखान जस्तै हुन्छ। ‘समृद्ध एसिया प्यासिफिक’ र चीनलाई घेराउ गर्ने नीतिमा भारतलाई राम्रोसँग ‘इस्तेमाल’ गर्न सकिन्छ भन्ने वासिङ्टनका खेलाडीलाई राम्ररी थाहा छ। नयाँ हुन् वा पुराना, नेपालका धेरै दलको छुट्टै अस्तित्व हराएको छ। उनीहरू आशावादी होइन, आशामुखी र परावलम्बी हुँदैछन्। तसर्थ, राष्ट्रको अस्तित्व बचाउन जनताले पहल गर्नुपर्छ।  

राष्ट्र सर्वोपरि हुन्छ र राष्ट्रको प्राण बचाउन साहसी, इमानदार, सज्जन र देशभक्त नेतृत्व चाहिन्छ। आफूले हजारौँ मानिसको हत्याको जिम्मेवारी लिन्छु भनेपछि ती मानिस परेको मुद्दा पन्छाएर राखिएको छ। पटकपटक राजनीतिक दलहरू सत्तामा पुगेर अनेकौँ वाचा गरे पनि स्थिति झन् भयाबह बनेको देखिन्छ। बार्गेनिङ गरेर, भागबन्डा मिलाएर वा नेपालीको शिर झुक्ने काम गरेर राष्ट्रघातमा संलग्न रहनेहरू र उनीहरूको भक्तिगान गाउने सबै विकारमा जेलिएका छन्। यसले गर्दा अन्तर्राष्ट्रियस्तरका मञ्चहरूमा नेपाल र नेपालीको अवमूल्यन भइरहेको देखिन्छ।  

नेपालीलाई संविधानले नै ‘नेपाली’मात्रै हुन दिएन। बाहुन, क्षत्री, वैश्य र शुद्र मात्रै नभएर भूगोलको आधारमा नेपालीको एकता खलबल्याउन खोजिएको छ, संविधानमा। संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

सयौँ वर्षसम्म अटोमन साम्राज्यअन्तर्गत थियो, इजरायल। सन् १९१७ मा ब्रिटेनको भयो। वरिपरि अरबहरू रहेको इजरायल छुट्टै अस्तित्व खोज्दै थियो। यहुदी धर्मावलम्बीको बाहुल्य भएको सो भूमि लामो संघर्षपछि सन् १९४८ मा स्वतन्त्र र स्वाधीन राष्ट्र भयो। यसका प्रथम राष्ट्रनायक थिए। इतिहासकारहरू भन्छन्– “समयले एउटा शक्तिशाली, राष्ट्रवादी, साहसी, निडर तथा दृढनिश्चयी खोजिरहेका बेला उनले जनताको नेतृत्व लिए।”

राष्ट्रनायक भनेको अल्छी, विलासी, कृतघ्न, लोभी, द्रव्यपिशाच र ‘रुम टाइगर’ हुँदैन। आत्मकेन्द्रित हुँदैन। समय र जनताको आवाज सुन्छ उसले। समस्यासँग भागेर हिँड्दैन। डेभिड बेन गुरियनले इजरायल कसरी जन्माए, त्यो इतिहास पढ्नेहरू नतमस्तक हुन्छन्। उनीप्रति धेरै श्रद्धा बढेर आउँछ। कहिले पनि पराधीन नभएको नेपाल आज राष्ट्रिय चरित्र बचाउन असफल भएको छ। गणतन्त्र त आयो तर राष्ट्रिय एकता गयो। सद्भाव गयो। स्वाभिमान गयो। राष्ट्रको संरक्षण, सम्बर्धन र सम्पोषण गर्नुपर्छ भन्ने भावनाको मृत्यु भयो। समाधानका हजार उपाय छन् तर बलियो राष्ट्रनायक नहुँदा बर्बाद भयो।

जजसलाई जनताले भरोसा गरे, तीमध्ये धेरै ज्युँदै मरे। कतिपय समर्थक र दासहरू त्यो निर्जीव देहमा फूलमाला चढाउँदै खुशी देखिन्छन्। उनीहरूलाई थाहा छैन, यी लुटेरा हुन्। सत्तरी नाघेका हुन् वा युवा भन्न रुचाउने अल्लारेहरू, राष्ट्र सर्वोपरि हुन्छ भन्ने चेतना देखिएन। त्यो चेतना टुसाएको भए, आफूलाई राजावादी भन्नेहरू समेत पदकै लागि मरिहत्ते गर्ने थिएनन्। जघन्य अपराधीलाई सलाम ठोक्ने थिएनन्। ‘मरेकै जुनी’ भनेको यही हो।

जनताले नै साहस गरे भने उनका सन्तान र वंशजले सयौँ वर्षपछि पनि चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फर्फराउन पाउने छन्। त्योबेला उनीहरूले छाती फुकाएर गीत गाउने छन्–  

“रातो र चन्द्र सूर्य  

जंगी निशान हाम्रो  

ज्युँदो रगत सरि यो  

बल्दो छ सान हाम्रो।  

यो जन्मँदै जगत्मा  

सयौँ प्रहार आए

साम्राज्य दुई हारे  

हारेन सान हाम्रो...”

प्रकाशित: ५ श्रावण २०८० ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App