इभान क्रास्तेभ
बुल्गेरियाको नागरिक भएको नाताले म के भन्न सक्छु भने अन्तर्राष्ट्रिय न्युज मिडियाले सानो युरोपेली मुलुकको चुनावी समाचार यसरी प्रस्तुत गर्छन्, जसरी साहित्यका प्राध्यापकले जासुसी उपन्यास गर्मी बिदामा पढ्ने विषय बनाएको होस्। पढ्नेका लागि यो एउटा सुखद् मोड होला। पढ्नेहरूले ती उपन्यासका चरित्र र उतार–चढाव केही समयमै बिर्सेलान्। सामान्यतयाः यो समस्याको कुरा होइन, तर समस्या अर्को वर्षसम्मका लागि मात्र होइन।
न्युज मिडियाले के गर्ने त? तिनले हरेक घटनालाई वैश्विक र भूमण्डलीकृत रूपमा, बृहत् अर्थले हरेक समाचारलाई नहेरी स्थानीय घटनालाई मिहीन रूपमा त्यहाँको वस्तुस्थितिअनुरूप व्याख्या गर्ने।
सन् २०१७ मा जर्मनी, फ्रान्स र नेदरल्यान्ड्समा मात्र चुनाव हुँदै छैन। ग्रिस, इटाली र मेरो जन्मभूमि बुल्गेरियामा समेत हुँदैछ। यो युरोपका लागि एउटा सत्यको क्षण हुनेछ। इन्टरनेट सामाजिक सञ्जालमा त्यो बेला झूटा समाचार र षड्यन्त्रका सिद्धान्त छताछुल्ल मात्र हुने छैनन्, तिनले पूरै कब्जासमेत जमाउने छन्। यस्तो बेलामा मूलधारका मिडियाले क्रेमलिन (रुसी जासुसी संस्थाको मुख्यालय)ले पश्चिमा प्रजातन्त्रको चुनावी राजनीतिलाई नै हस्तक्षेप गरेको भन्दै खुराक पस्किने छन्। युरोप वरिपरि जे हुन्छ, त्यसमा मस्कोकै हस्तक्षेपका कारण हुन्छ भन्ने विश्वव्यापी व्याख्या र बुझाइ हुने गरेको छ। यस्तो अवस्थामा सर्वसाधारणले सही सूचना र समाचार पाएका हुन्छन् भन्नेमा आलोचनात्मक हुनैपर्छ। मस्कोको हस्तक्षेप समाचारमा त्यति धेरै सत्यता पनि हुँदैन।
बुल्गेरियामा नोभेम्बरको राष्ट्रपतीय चुनावकै उदाहरण हेरौँ न, अमेरिकामा एयर फोर्सको तालिम लिएका रुमेन रादेभ स्वतन्त्र रूपमा चुनावमा उठे र जिते पनि। त्यो बेला उनले चुनाव जित्दा राष्ट्रपति भ्लादिमिर पुटिनको विजयका रूपमा लिइयो। बुल्गेरियाको आमनिर्वाचनकै अर्को पाटोका रूपमा मोल्दोभाको चुनावलाई पनि लिन सकिन्छ। त्यहाँ रुसी प्रशासनले हौस्याएका प्रतिनिधिले नै चुनाव जिते। अर्कोतर्फ रुसी सहयोगले गर्न लागिएको मोन्टेनिग्रोको असफल ‘कू’का समाचारले यही देखाउँछ– पूर्व सोभियत प्रभावमा रहेका मुलुकहरूमा यतिबेला रुसले पुनः आफ्नो प्रभाव जमाउन थालेको छ।
के बजार हल्ला भएजस्तो यी कुरामा सत्यता छ त?
चुनावमा भोट हाल्ने अधिकांश बुल्गेरियाली नागरिकलाई वैदेशिक नीति आलोचनात्मक रूममा विरलै चासोका क्षेत्रमा पर्छ। सत्य नै बोल्ने हो भने पनि मस्कोको प्रभाव यतिबेला सल्बलाएको होइन– यो त लामो समयदेखि छँदैछ। बुल्गेरियाली नागरिकको ठूलो समुदाय नाटोको सदस्यतालाई एउटा उपलब्धिका रूपमा लिन्छन्। झन् युरोपेली संघको सदस्यता त उनीहरूलाई महŒवको छँदैछ। तर, ऐतिहासिक र सांस्कृतिक कारणहरूले मस्कोलाई दुस्मनका रूपमा हेर्न तयार छैनन्। त्यसैले जनरल रादेभ र उनको सेन्टर–राइट विपक्षीले रुसमाथि लागेको प्रतिबन्ध हटाउने वा प्रतिबन्धको विरोध गर्नु र मस्कोसँगको सम्बन्धलाई सुधार गर्ने कुरालाई आश्चर्यजनक रूपमा लिनु आवश्यक छैन।
मैले बुल्गेरियाको यो कथा किन भनेको भने अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेमलिनको भूमिकालाई लिएर यतिबेला शीतयुद्धको छनक हुने गरी समाचारहरू आइरहेका छन्। शीतयुद्धकालीन हेराइले बुल्गेरियाजस्ता सानो मुलुकको राजनीतिलाई हेर्नु भनेको उपलब्धिहीन खोजाइ हो। यो कोणमा मुख्यतः तीन ठूला समस्या देख्छु म।
पहिलो, यो कोणबाट राजनीतिलाई हेर्दा सर्वसाधारणलाई स्पष्ट पार्नुको सट्टा झनै दोधारमा पारिदिन्छ। सन् १९७० र ८० को दशकमा ठूलो संख्याको तेस्रो विश्वका नागरिकको स्वतन्त्रता प्रेमलाई पश्चिमा मुलुकले कम्युनिस्टविरुद्धको आन्दोलनका रूपमा हेरे। वास्तवमा त्यो बेलाको स्वतन्त्रता आन्दोलन रुसी कम्युनिस्टविरुद्धको आन्दोलन थिएन। त्यो त राष्ट्रवादी स्वतन्त्रता आन्दोलन थियो। यसलाई त्यो बेला गलत तरिकाले पेस गरिएको थियो। अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धको अवस्था ल्याएर ऊर्जा मात्र खेर फाले। उनीहरूले राष्ट्रवादीहरूलाई कम्युनिस्टको बिल्ला भिराएर आफ्नो कमसल जानकारीको परिचय दिए। कहिलेकाहीँ राष्ट्रवादी आन्दोलनलाई कम्युनिस्टको बिल्ला भिराउँदा विपक्षीहरूले लगाएको आरोप प्रमाणित हुन पुग्छः आखिर कम्युनिस्ट नै भनिहालेपछि हामी कम्युनिस्ट हुँदा के नै फरक पर्छ र भन्ने भावनाले कहिलेकाहीँ काम गर्न थाल्छ। त्यो बेला भएको पनि त्यही थियो। कम्युनिस्टको बिल्ला भिराएपछि कैयौँ मुलुक सोभियत संघको पक्षमा पुगेका थिए। यसको पाठ के हो भने, निरन्तरको बिल्ला भिराइएपछि लोकप्रिय पार्टीहरूले आफ्नो झुकाव रुसतिर ढल्काए र क्रेमलिनको साथी बन्न पुगे भने यसमा कुनै अनौठो नमाने हुन्छ।
दोस्रो, शीतयुद्ध फर्कंदैछ भनेर निरन्तर रूपमा पश्चिमाले हल्ला गर्नुको अर्थ हो– रुसको अन्तर्राष्ट्रिय प्रभाव क्रमशः विस्तार र सशक्त भइरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको पश्चिमा रोइकराइको अन्तर्यमा उनले हालै खोज गरेको ‘सफ्ट पावर’ हो। हालैका दिनमा न्युज मिडियाले भनेअनुसारको कुरा सत्य हो भने र साँच्चिकै मस्कोले अमेरिकी चुनाव अपहरित गरेको हो भने बुल्गेरियाजस्तो सानो मुलुक र अर्को वर्ष फ्रान्समा हुने राष्ट्रपतीय चुनावलाई आफूअनुकूल परिणाम ल्याउन भूमिका नखेल्ला भन्न सकिन्छ र? रुसको आकर्षणको शक्ति हिजोआज केमा छ? यसको सिद्धान्त र वादमा छ र? पक्कै पनि छैन। बरु सर्वसाधारणको आकर्षणको मूल विषय भनेको सशक्त छवि हो। पुटिनको छवि कस्तो छ त? उनको हरबखत र जहाँ पनि जित्ने इर्ष्यालाग्दो छवि बनेको छ। र, त्यही छविप्रति सबै आकर्षित छन्।
तेस्रो र अन्तिम पक्ष भनेको भूमण्डलीकृत विश्व हो। अहिलेको जस्तो भूमण्डलीकृत विश्वमा आमचुनावमा वैदेशिक हस्तक्षेप तपाईंले छल्नै सक्नु हुन्न। निजी नागरिक मात्र होइन सरकारका इमेल पनि ह्याक (चोरी) भएका छन्। इन्टरनेटमार्फत् झूटा समाचार र षड्यन्त्रमूलक सिद्धान्तहरू ह्वारह्वारी छरपष्ट पारिएका छन्। यस्तो अवस्थामा विदेशी नेताहरूको इज्जत ध्वस्त पारिएका छन्। एक्लो ह्याकर र साना चोट्टा राजनीतिक समूहले संसारभरिका चुनावी परिषद्का सर्भरहरू सहजै ध्वंश गराइदिन सक्छन्। हामी यस्तो अवधिमा छौँ जहाँ आफ्नो क्षमता प्रदर्शन गर्ने निहुँमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइरहेको छ र कैयौँका लागि आफ्नो देशको सीमाबाहिर सम्पत्ति कमाउने सहज मार्ग र अहम् प्रदर्शन गर्ने उपयुक्त अवस्थाका रूपमा यस्ता ‘ह्याक’ हुने गरेका छन्। यसमार्फत् उनीहरूले चाहेको भनेको सामाजिक अव्यवस्थाको बीऊ रोप्नु नै हो। वास्तवमा शीत युद्धकालीन कथाले यस्ता नयाँ वास्तविकतालाई बिल्कुलै बेवास्ता गरेको छ। यसैको परिणाम स्वरूप अतिप्रतिक्रिया र विवादको खतरा बढ्न पुगेको छ। परस्पर व्यवधान पुर्याउने भूमण्डलीकृत संसारमा एकअर्कालाई अझै बढी क्षति पुर्याउने राज्यप्रेरित र राज्यद्वारा मच्चाइने विध्वंशमा फरक नै के रहला र!
त्यसैले रुसी इतिहासमा महŒवपूर्ण वर्षका रूपमा गनिने सन् १०१७ जस्तोको अवस्था सन् २०१७ मा अवस्था नआओस् भन्ने हिसाबले न्युज मिडियाले बुद्धिमत्तापूर्वक काम गर्नुपर्ने अवस्था आएको छ। न्युज मिडियाले के गर्ने त? तिनले हरेक घटनालाई वैश्विक र भूमण्डलीकृत रूपमा, बृहत् अर्थले हरेक समाचारलाई नहेरी स्थानीय घटनालाई मिहीन रूपमा त्यहाँको वस्तुस्थितिअनुरूप व्याख्या गर्ने। जेसुकै र जतिसुकै परिवर्तनका कुरा भए पनि वा ग्लोबल मिडियाको युग रहे पनि राजनीति त सधैँ लोकल (स्थानीय)नै रहन्छ नि, हैन र?
अध्यक्ष, भियतनामस्थित सेन्टर फर लिबरल स्ट्राटेजिज
प्रकाशित: ११ पुस २०७३ ०५:२३ सोमबार