३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

सुन्दर हिमाल, विरूप विचार

दसैँपछि फेसबुकमा धेरै व्यक्तिले आफू घुम्न गएको ठाउँको सुन्दर फोटाहरू राखे। सेतो हिमाल, हरियो वन, नदीको सौन्दर्य देख्नेहरूले  ती ठाउँको फोहोर र विरूपता पक्कै देखे होलान्! तर, फेसबुकमा विरूप धरतीको फोटोचाहिँ आएन।

‘राराको सौन्दर्यबाट पर्यटनको विकास भनेर विचार गर्नेहरूले, राराको छेउमा तारे होटेल खोल्ने व्यापारीले, मुगु फोहोर भए राराको सौन्दर्यको मजै के हुन्छ र भन्ने किन नसोच्ने होला? दसैँभरि काठमाडौँ उपत्यका मन्दिरहरू घुम्दा, भगवान्लाई बेस्सरी अक्षता र फूल कोच्दा त्यो कुहिएर फोहोर भएको, दुर्गन्धित भएको देख्दा मनमा लाग्यो के यही हो मन्दिरको सौन्दर्य? जनकपुरमा जानकी मन्दिर भनेर गर्व गर्नेहरूले जानकी मन्दिरको फोहोर आँगन, हिलोधुलोले भरिपूर्ण जनकपुरबारे किन नसोचेका होलान्, मलाई आश्चर्य लाग्छ । अहिले यदि जनकी जनकपुर आइन् भने यिनले के ठान्ने थिइन् होला? मनमनै म कल्पना पनि गर्छु।

महोत्सवको बेलामा पनि जथाभावी खाएर फ्यालेका खानेकुराका प्याकेट, प्लास्टिक र कागजका बट्टा छरिएका हुन्छन्, तिनलाई कुल्चेर सबै जना हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन्। महोत्सव हुँदा कसले विचार गर्छ, सफाइको उत्सव पनि गर्नुपर्छ भनेर!

छठमा सिँगारिने जनकपुरका तालहरू वर्षभरि फोहोर हुन्छन्। अनि कसरी सुन्दर छ भन्नु जनकपुरलाई? त्यहाँ पुग्ने तीर्थयात्रीलाई भनेर शौचालय बनाउने ठाउँ वा कतै अन्य सुविधा छ कि छैन भनेर कसैले ध्यान दिएको नदेख्दा लाग्छ, किन यति अपवित्र बनाइएको जानकीको प्रशिद्ध सहर?

गुजरातबाट नेपालमा पशुपतिको दर्शन गर्न आएकी पल्लवी पटेलले काठमाडौँ र ललितपुर घुमेपछि मसँग भनेकी थिइन्– 'कस्तो फोहोर गरेर राखेको मन्दिरवरिपरिका स्थान र सहरहरू? यहाँ नगरपालिका छैन? तिम्रो घरतिर जाँदा पनि प्लास्टिक र कागजको थुप्रो ठाउँठाउँमा छ, थापाथलीको नदी त ढल भएको रहेछ!' पशुपतितिर जाँदा त्यहाँको दुर्गन्धले उनी अस्तव्यस्त भएकी थिइन्। 'तिमीहरू कसरी यस्तो ठाउँमा शव पोल्छौ? शवको अपमान गरेजस्तो लाग्दैन?' उनले मलाई सोधिन्।  मलाई थाहा थियो कि पल्लवीले सही कुरा गरेकी थिइन्। म के नै भन्न सक्थेँ र! चुपचाप मुस्कुराएँ मात्र। अन्य पर्यटकले पनि मनमा त यस्तै सोच्दा होलान्, तर भन्दैनन् वा भनेर सुनाउने मान्छे पाउँदैनन्।

 नेपालगन्ज, विराटनगर र वीरगन्ज ३ वटै ठाउँमा ठूलाठूला व्यापारी घराना छन्। लाखौँ मानिस आउने–जाने गर्छन्, ठूला होटेल खोलिएका छन्, तर ३ वटै ठाउँ अति फोहोर छन्। पान खाएर थुकेका भित्ता, खकारले भरिएको फुटपाथ, कुनाकुनामा थुप्रिएका फोहोर, नालीको पिसाबले दुर्गन्धित कुनाहरू हेर्दा कसले भनिरहला नेपाल सुन्दर छ भनेर!

नेपालको जुनसुकै कुनामा पुगेपछि मेरा आँखा त्यहाँका हिमाल र हरियोपन भन्दा त्यहाँको फोहोरमा पर्न जान्छ। चाहे लुम्बिनी होस् वा सुदुर पश्चिमका क्षेत्र। स्याङ्जाको सिरुवारीको प्रसिद्धि सुनेर त्यहाँ जाँदा देखेँ, केही घरवरपर सफा छ। तर, सिरुवारी गाउँ त फोहोर नै रहेछ, कसैले पनि सिरुवारीको सौन्दर्यबारे कुरा गर्दा गाउँको फोहोरका विषयमा कुरा गर्दैनन्। सायद फोटो पनि खिच्दैनन् होला!

किन सबै धार्मिक पर्यटकीय र आर्थिक कारोबार हुने ठाउँमा सामान्य सफाइको समेत कसैले वास्ता गर्दैन? सफाइ नभए कसरी सुन्दरता हुन्छ? हिमालको स्तुति गर्नेहरूले धरती फोहोर भएर विरूप भएको किन नदेखेको होलान्? मेरा कतिपय विदेशी साथी हिमाल देखेर मन्त्रमुग्ध हुँदा म भन्छु– 'प्रकृतिले हामीलाई सुन्दर हिमाल त दिएको छ, तर हामीले नेपालको धरतीलाई चाहिँ कुरूप पार्दै लगेका छौँ। सफाइ गर्नतिर हामी कोही पनि लाग्दैनौँ, फोहोर गर्न हामी खप्पिस छौँ। हामी घर सफा राख्छौ र घरको फोहोर लगेर सडकमा फाल्छौँ, नदीनालामा फ्याक्छौँ। त्यसैले तिमीहरू हिमालतिर मात्रै हेर। नेपालको धरती हेरे तिमीहरूको मनको नेपालप्रतिको सुन्दरता धूमिल हुन सक्नेछ।'

 हिमालहरू– मनास्लु, लोत्से, गौरीशंकरको सौन्दर्य अवर्णनीय छ, तर के गर्नु त्यहाँबाट नजर झुकाएर धरतीमा हेर्दा फोहोरले दिक्क भइन्छ। स्वयम्भु, बौद्ध  र लुम्बिनी फोहोर छ, पशुपति गुह्येश्वरी  फोहोर छ। गोसाइँकुण्ड जाने यात्री जति उत्साहका साथ त्यहाँ जान्छन्, त्यहाँ वरिपरि फोहोर देखेर त्यति नै दिक्क मानेर फर्कन्छन्। तीर्थ जाँदा मन प्रसन्न भएर भने के फाइदा भयो र? तीर्थ जाँदा  त्यहाँको फोहोरले मनमा आएको उत्साहलाई भरंग पार्छ भने प्रश्न उठ्दैन त के नेपाल साँर्च्च नै सुन्दर छ?

भृकुटीमण्डप वरिपरिका क्याम्पसअगाडि, अस्पताल छेउछाउ जताततै फोहोरको थुप्रो छ। तर पनि नेपालको सौन्दर्यको व्याख्या गरेर हामी कहिले थाक्दैनौ। ठूला नारा लगाउने विद्यार्थीका आँखामा ती फोहोर पर्दैनन्? किताबमा स्वच्छता  छ। सडक, पार्क, स्कुल, मन्दिरमा भने स्वच्छताशून्य छ। कुनै पर्यटक आएर फोहोर नदी, प्लास्टिकका थुप्राहरूको फोटो खिचेर 'यस्तो छ नेपालको कुरूपता' भनी फेसबुक र युट्युबमा हालिदियो भने के होला? बसको ‰यालबाट पोको फ्यालेको तस्बिर, स्कुल र अस्पतालको फोहोर आँगन र शौचालयको फोटो खिचेर साथीहरूलाई इमेल पठायो भने नेपालमा पर्यटक आगमनमा प्रभाव नपर्ला र?

पर्यटकले भरिपूर्ण पोखरा होस् वा धरान सबै ठाउँ फोहोर छ, सफाइको व्यवस्थापन कोही उत्सुक हँुदैन! विदेशी पर्यटकलाई हिमालले मुग्ध पार्छ, आन्तरिक  पर्यटक के बोलून् सुन्दर हिमाल तर विरूप आफ्ने धरतीको बारेमा?

 ठाउँठाउँमा महोत्सव गर्नेहरूले कार्यक्रम सकिएपछि फोहोर गरेर छोडेको चउर सफा गर्ने कसले होला? महोत्सवको बेलामा पनि जथाभावी खाएर फ्यालेका खानेकुराका प्याकेट, प्लास्टिक र कागजका बट्टा छरिएका हुन्छन्, तिनलाई कुल्चेर सबै जना हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन्। महोत्सव हुँदा कसले विचार गर्छ, सफाइको उत्सव पनि गर्नुपर्छ भनेर! महोत्सवमा कतिपय नेतालाई १० किलोको माला चढाउँछन् आयोजकहरू। पछि त्यही माला कुहिएर गन्हाउँदाचाहिँ कसैलाई वास्तै हुँदैन।

टुँडिखेलमा कुनै खेल र कार्यक्रम सकिएपछि त्यो ठाउँ कागज, बदाम र सुन्तलाको बोक्राले भरिन्छ। पाटन वा भक्तपुरको जात्रापछि त्यो ठाउँ हेरिनसक्नु हुन्छ। कुनै भोज भएको ठाउँमा कार्यक्रम सम्पन्न भएपछि कागजका प्लेट, प्लास्टिकका गिलास, मासुका टुक्रा, आलुको अचार जताततै छरिएको हुन्छ। यस्तो अवस्थामा 'नेपाल सुन्दर छ, पर्यटकलाई लोभ्याउँछ' भनेर कति लेखिरहने? कति सुनिरहने र सुनाइरहने? यति हुँदाहुँदै पनि कुनै नेता, व्यपारी, होटेल मालिक यस विषयमा बोल्दैनन्। सफा गर्न के गर्ने भनेर कुराकानी कोही गर्न चाहँदैन! सुन्दर छ हिमाल भनेर फेसबुकमा पोस्ट गर्नेहरूले मनमनै भन्लान्– हामी बस्ने गाउँ, सहर र नेपाल पूरै फोहोरले कुरूप भएछ!

प्रकाशित: ५ कार्तिक २०७३ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App