११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

नेविसंघको महाजात्रा

लोकतन्त्रको जप, स्तुति र भजन गर्दै र ब्यानर झुण्ड्याएर जय नेपालको अभिवादन गर्दै नेपाली कांग्रेस भएको भ्रमले लोकतन्त्रको महिमामण्डन हँुदैन । भ्रमले मानमर्दनमात्र हुन्छ । यतिखेर नेपालको लोकतान्त्रिक मियो मानिँदै आएको नेपाली कांग्रेसको एक सशक्त भातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वले देखाएको महाजात्राले लोकतन्त्रप्रति अलिकति विश्वास र भरोसा गर्ने आमनागरिकमा समेत निरासाबाहेक कुनै उपहार प्रदान गरेको छैन । करिब सात दिनसम्म राजधानीको मुटु भृकुटीमण्डप क्षेत्र अराजकताको पोखरी बनेको थियो । त्यहाँ जथाभावी टाँसिएका ब्यानर, छरिएका पप्लेट, बागबजार र धरहरा क्षेत्रमा दिउसै भरिएका रात्रिकालीन व्यवहारका फोहोरी दृश्य, एकापसमा शत्रुतापूर्ण भइरहेका बहसले मात्र होइन, भिडन्तका अनेक दृश्यले लोकतन्त्रको महाशक्ति मानिएको नेपाली कांग्रेस र यसको भातृ संस्था नेपाल विद्यार्थी संघलाई निर्वस्त्र सडकमा उभ्याउन पुगेको छ ।

आठ वर्षसम्म आफ्नो संस्थाको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न असमर्थ नायकहरुको नाकको लडाइँमा भरखर नयाँ उत्साह, सम्भावना र आस्थाको संकल्प बोकेर आएको नयाँ पुस्ताले आफ्ना अग्रजहरु यसरी दिउसै सडकमा निर्वस्त्र उभिएर झगडा गरिरहेको दृश्य हेरिरहेको देखिन्थ्यो । विद्यार्थी जमात अपेक्षाकृत नववयस्क आक्रामक तर चेतना र शिक्षाले उन्नत मानिन्छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई मानक मान्ने हो भने भोलिका दिनमा आजको विद्यार्थी नेतृत्व नै देशको जिम्मेवार तहमा पुग्नेछ र यो राष्ट्रको समग्रतालाई यसै वर्गले थेग्नुपर्ने हुन्छ । तर गुट, अहंकार, इष्र्या, निकृष्ट स्वार्थ, अधैर्य र त्यागविहीनताले यो वर्ग यतिखेर आकण्ठ डुबेको छ । यो वर्गलाई यसरी वर्गल्याउनेहरु नेपाली कांग्रेसका अगुवा नै हुन् । उनीहरु विद्यार्थीलाई विद्यार्थी हुनबाट रोक्ने काम गरिरहेका छन् । उनीहरु आफ्नो सत्तासिँढीको औजारबाहेक युवा पुस्तालाई अरु कुनै रूपमा देख्न चाहिरहेका छैनन् । लोकतन्त्रको राजमार्गमा अन्य कुनै अवरोध आउन खोजेमा र राष्ट्रको जीवनमा खतरा आउने सम्भावना देखिएमाबाहेक अन्य अवस्थामा विद्यार्थीलाई उनीहरुकै वर्गका रूपमा केन्द्रित गर्ने राजनीतिक नेतृत्वमा कुनै सवल इच्छाशक्ति विकसित भएको छैन । यो समस्या नेपाली कांग्रेसमा मात्र नभएर नाममात्र दर्ता गरेर निर्वाचन आयोगले मान्यता दिएका वा नदिएका सबै राजनीतिक दलहरुमा देखिएको समस्या हो । मुठ्ठीभर नेताहरुको महान् बन्ने महत्वाकांक्षाको भरिया भएकै कारण विद्यार्थीदेखि अन्य पेसा वा व्यवसायमा संगठित समूह अहिले आफँै चर्को द्वन्द्व र विरोधाभाषको शिकार भइरहेका छन् ।

निर्वाचनका समयमा हुने गुटगत प्रतिस्पर्धालाई सामान्य मानिए पनि यसले स्थायित्व वरण गर्नुले निश्चितरूपमा नेपाली कांग्रेसलाई विभाजनको गोरेटोतर्फ तानिरहेको अनुभव हुन लागेको छ ।

नेपाली कांग्रेसले पाँच वर्षपछि आफ्नो महाधिवेशन गरी गत चैतमा नयाँ नेतृत्व निर्वाचित गरेको थियो । महाधिवेशनले विगतमा रहेका अनेक गुट÷उपगुट अन्त्य गरी विभाजनका सबै धर्सा मेट्ने अपेक्षा गरिएको भए पनि त्रिकोणात्मक नयाँ धर्साहरु देखिने गरी नेपाली कांग्रेसको जमिनमा कोर्ने काम गरेको छ । स्वीकार गरे वा नगरे पनि कांग्रेसमा गुट निर्माणले स्थायी चरित्र विकास गरेको छ । समकालीन पुस्ताका शीर्ष दुई जना सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको द्वन्द्वकै कारणमात्र गुटगत स्थायी चरित्र निर्माण भइरहेछ भन्नु गलत हुनेछ । अब त तेस्रो ध्रुवका रूपमा कृष्ण सिटौलाको उदय कमजोर छैन । निर्वाचनका समयमा हुने गुटगत प्रतिस्पर्धालाई सामान्य मानिए पनि यसले स्थायित्व वरण गर्नुले निश्चितरूपमा नेपाली कांग्रेसलाई विभाजनको गोरेटोतर्फ तानिरहेको अनुभव हुन लागेको छ । पार्टीभित्रको विवादलाई भातृसंस्थाहरुदेखि शुभेच्छुक संघ÷संस्थाहरुसम्म तानिएपछि त्यो पार्टी ढिलो÷चाँडो विभाजित हुनु अनिवार्य हुन्छ । अहिलेको विद्यार्थी विवादलाई यसै कारण तान्ने र बढाउने काम भइरहेको स्पष्ट छ । विद्यार्थी विवादलाई तत्काल नटुंग्याउने र विस्तारित गर्दै जाने हो भने यो विवादको रोग अन्यत्रसमेत फैलनेछ । कामै गर्न नसक्ने, एकापसमा सहयोग गर्न नसक्ने, समझदारी गर्न नसक्ने हो भने पार्टी एउटै छ भन्ने भ्रम पाल्नुको कुनै अर्थ हुँदेैन ।

महाधिवेशनमा विवाद हुन्छन् । जीवन्त पार्टीमा अन्तरसंघर्ष निरन्तर चलिरहने प्रक्रिया हो । पार्टीमा हुने अन्तर संघर्षले पार्टीभित्रका अनेक कुण्ठा अन्त्य गर्दै पार्टी जीवनलाई परिष्कृतितर्फ बढाउने काम गर्छ । नेपाल विद्यार्थी संघको इतिहासमा पहिलो पटक सबभन्दा चर्को विवाद २०३६ सालको जनकपुर महाधिवेशनमा भएको थियो । गणेशमान सिंहका अत्यन्त निकट मानिएका वल्लभ प्रधान र मोरङमा कोइरालाहरुको विपक्षमा आफूलाई उभ्याउने प्रयास गरिरहेका हरि न्यौपानेहरुहरुले महाधिवेशन बहिष्कारसमेत गरेका थिए । तर केन्द्रीय सभापतिमा विमलेन्द्र निधी सर्वसम्मत भएपछि विवाद टुंगिएको थियो । निधीले सभापति हुनासाथ काठमाडौं र मोरङलाई तुरुन्त सन्तुलनमा ल्याउने काम गरेका थिए । यद्यपि त्यस समयमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र महेन्द्रनारायण निधी जस्ता परिपक्व नेता थिए । जसको स्वार्थ आफ्नो पक्ष र विपक्षभन्दा पनि पार्टी र नेपाल विद्यार्थी संघसँग जोडिएको थियो  । लोकतान्त्रिक आन्दोलनलाई निर्वाध राख्न उनीहरु आफ्नो वा अर्काको भन्दैनथे । योग्यंयोग्यायका पक्षमा उनीहरुको निर्णय हुने गथ्र्याे । दुर्भाग्यवस त्यस समयका जस्ता समझदारी भएका विद्यार्थी नेता पनि छैनन् र नेपाली कांग्रेसमा पनि स्वार्थरहित नेतृत्व छैन । सत्य स्वीकार गर्ने आँट नभएकाहरु अल्पसंख्यकका नाउको दयापात्र थापिरहेका छन् र अंशको याचना गरिरहेका छन् भने बहुमतमा रहेकाहरु पनि अहंकारको पारोमा थोरै अंशबन्डा गर्नसमेत त्यति उत्सुक देखिँदैनन् । रामचन्द्र पौडेल जस्तो नेपालको भविष्य बोक्नुपर्ने लोकतान्त्रिक शक्तिहरुका नेता महाधिवेशनमा भएको आफ्नो पराजयको प्रतिशोधमा लिप्त हुँदै गएपछि लोकतान्त्रिक शक्तिमा देखिने अराजकता नेपाल विद्यार्थी संघको महाधिवेशनमा जस्तै निरन्तर देखिनु अनिवार्य हुन पुगेको छ ।  

नेपाली कांग्रेसमा यसै पनि अब कांग्रेस खोज्नु असम्भव भएको छ । त्यहाँ बस्नेहरु केही पैसा तिरेर कोही सक्रिय सदस्य त कोही साधारण सदस्य लिएका भए पनि ती अन्ततोगत्वा पार्टीका कार्यकर्ता भएर बसेका छैनन् । रसिद लिनासाथ ती सबै रसिदधारी र नामधारीहरु कुनै एउटा नेताको वलेसी रुग्न पुग्छन् र कांग्रेसको सदस्य भएको सत्य बिर्सिसकेका हुन्छन् । रसिद लिनासाथ आफ्नो वलेसी कुर्न आउनेलाई मात्र आफ्नो ठान्ने चिन्तन नेपाली कांग्रेस केन्द्रका शीर्षदेखि गाउँ र वडा तहसम्मका भुरेटाकुरे नेताहरुमा व्याप्त छ । उनीहरु कांग्रेस हुनुको अर्थ आफ्नो ढोकामा बस्ने र आफूले भनेको आदेश पालना गर्ने कठपुतली हो भन्नेमा विश्वास गर्छन् । मन्त्रिपरिषद्मा पुग्न नेपाली कांग्रेसको जिम्मेवार, निष्ठावान् भएर हुँदैन, केन्द्रीय सदस्य हुन वा कुनै नियुक्ति पाउन कांग्रेसमात्र भएर पुग्दैन । रामचन्द्र वा शेरबहादुरको अब त कृष्ण सिटौलाको वा प्रकाशमान वा विमलेन्द्र निधीको मान्छे अनिवार्य हुनैपर्ने संस्कृति मौलाउँदैछ । मन्त्री पदमा नेपाली कांग्रेसबाट नियुक्ति अझै नपुग्नुको कारण त्यहाँ कांग्रेसबाट को जाने भन्ने विवाद होइन, रामचन्द्र वा देउवाको को मान्छे जाने र लिने भन्ने विवाद छ । सांसदहरु पनि नेपाली कांग्रेसमा योगदान गरेको भन्दा पनि आदरणीय दाजुहरुको मान्छे भएको हुनाले आफ्नो दावी प्रस्तुत गरिरहेका भेटिन्छन् । यथार्थमा आजको कांग्रेसमा देखिएको समस्याको जड यही नेै हो । नेपाल विद्यार्थी संघमा देखिएको ‘....गर्नेलाई भन्दा देख्नेलाई लाज’को अवस्थाको कारण पनि यही नै हो । यो कारणको अन्त्य तत्काल हुनेवाला छैन।
तर नेपाल विद्यार्थी संघको यस समय प्रत्यक्ष विवादका लागि केही अन्य कारण पनि छन् । आठ वर्षदेखि महाधिवेशन नहँुदा एक दशकको युवा पुस्ताको महत्वाकांक्षा कुण्ठित भएर लुकेको छ । नेतृत्वको त्यो भोकबाट उत्पन्न कुण्ठाको सहज निकास निर्धारित समयमा महाधिवेशन आयोजित गरेरमात्र हुन्छ ।

विधानले तोकेअनुरूप महाधिवेशन हुन सकेन भने सानाठूला जुनसुकै दल र संस्थामा पनि यो समस्या निरन्तर हुनेछ । अर्थात् अहिले तानतुन गरी महाधिवेशन गरे पनि र सामान्यतः निकास दिए पनि भोलिका दिनमा समेत यही समस्या दोहोरिने हुन्छ ।  एक दशकसम्म नेपाल विद्यार्थी संघको नेतृत्वमा पुग्ने रहर र क्षमता भएका धेरै नेताको पंक्ति छ । जसलाई व्यवस्थापन गर्ने, अरु कुनै जिम्मेवारीमा राख्ने र विशेष भूमिका दिने अवस्थामा कांग्रेस नेतृत्व देखिएको छैन । दोस्रो महत्वपूर्ण कारण हो– पार्टीमा भर्तीको तरिका र प्रशिक्षण अभाव । आफूलाई मत दिन्छ वा दिँदैन भन्ने आधारमा सदस्यहरु भर्ती गरिएको देखिन्छ । अवसर र स्थान हेरी सबैले यो अचूक सूत्र अबलम्बन गरिरहेका छन् । तर योग्यता, आवश्यकता, विवेक तथा नेतृत्वको सम्भावना यसबाट निरस्त हुन्छ भन्ने हेक्का तिनीहरुमा पटक्कै देखिँदैन । सदस्य भर्ती गरेपछि निरन्तर प्रशिक्षण आवश्यक पर्छ । नेपाली कांग्रेसमा यतिखेर कुनै पनि तहको प्रशिक्षण भएको सुनिँदैन ।

प्रशिक्षणका लागि स्थापित प्रतिष्ठानलाई हिजोका दिनमा उपसभापति रामचन्द्र पौडेलले आफ्नो प्रचारयन्त्रमा परिणत गरेको देखिएको थियो । तैपनि त्यहाँ रहेका अरु सदस्यका कारण प्रशिक्षणको केही काम त भएकै थियो । देउवा सभापति भएको पाँच महिना हुन लागेको छ । तर प्रशिक्षणसमेत हेर्नुपर्ने उपसभापति चयनै हुन सकेको छैन । सदस्यलाई धार लाउन प्रशिक्षण अनिवार्य अस्त्र हो । नेपाल विद्यार्थी संघमात्र होइन, नेपाली कांग्रेसका अरु भातृ तथा शुभेच्छुक संस्थाहरुले समेत बिनाप्रशिक्षण अन्धकारमा जंगार तर्ने काम गरिरहेका देखिन्छ । भृकुटीमण्डपको अराजकता विस्तारित हुँदै सानेपा पार्टी कार्यालयमा पुग्दासमेत नेपाल विद्यार्थी संघको विवाद अन्त्य नहुनुले अन्धकारको जंघार प्रमाणित गरिरहेको छ ।

 

प्रकाशित: १ भाद्र २०७३ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App