पुस फासफुस भन्ने आहान नै छ तर गएको साता (पुस १० गते) को राजनीतिक तहल्काले सबका सब हेरेको हेर्यै भए। अचम्मै भयो त्यसैले जो जहाँ उभिएका थिए त्यहीँ उभिएको उभियै परिवर्तन नियाल्न थाले। त्यसैदिन रंगीचंगी क्रिसमस मनाउने माहोल बनाइरहेका क्रिस्चियन हुन् वा गैरक्रिस्चियनमा पनि सन्नाटा छायो। कसैको ध्यान आफूले गरिरहेको काममा जानै सकेन। राजनीतिका मैँ हुँ भन्ठान्नेहरू (सत्तापक्षका हुन् कि विपक्षका) सबका सबको बोली नै बन्द भयो। आँखिभुइँ खुम्च्याउनेदेखि तन्काउनेसम्म, औँलो टोक्नेदेखि हत्केला पड्काउनेहरूको संख्या अचानक हजाराैँमा पुग्यो। अडियो, भिजुअल सञ्चार माध्यमहरूबाट ताजा जानकारी पाउन भागदौड भयो। सामाजिक सञ्जालका हाइवे जाम बने। सत्ताको पासा गल्र्याम् गुर्लुम् पल्टियो ! के भयो, यस्तो ? पुसमा यो घटना भएकाले आलेखको सुरुमा त्यसको चर्चा गरिएको हो।
कुनै पूर्वाग्रह नराखी भन्ने हो भने देशको शासनसत्तामा पाँच वर्षलाई गठबन्धनको हालिमुहाली हुन्छ भन्ने बुद्धिजीवी, कर्मचारी, पत्रकार, विश्लेषकलगायत बाह्रमासे राजनीतिज्ञको भविष्यवाणीको पासा पल्टिन पाँच घण्टा पनि लागेन। पाँच वर्षलाई अब बरालिए भनिएका वामपन्थीहरू पाँच घण्टाको बीचमा सत्ताधारी बन्न पुगे। पाँचवर्षसम्म राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेशका मुख्यमन्त्रीहरूमा एकछत्र दाबी गरिरहेका कांग्रेसीहरू नारायणहरि भए। हेर्दाहेर्दै देशका सबै कार्यकारी पदहरूबाट कांग्रेसले हात धुनुपर्यो। उनीहरूका सपना बालुवाको महलझैँ गल्र्यामगुर्लुम भयो। एकहप्तादेखि तारे होटलमा दाजुहरूसँग विदेशी स्कच ह्विस्कीमा चेयर्स गरिरहेका बिचौलिया र ठेकेदारहरू ट्वाँ भए। तैँ चूप मै चूप हुँदै बिलाए।
वामपन्थी, दक्षिणपन्थी र मध्यपन्थी एकाकार हुने समीकरणका लागि यो अवसर अन्तिम मौका बनेर देखिएको छ। उनीहरूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेर जनतासमक्ष प्रस्तुत हुन सके भने उनीहरूको भविष्य स्थापित हुनेछ होइन भने यी पनि पाँचवर्षभित्रै विगतको सरकारझैँ नारायणहरि हुनेछन्। अहिलेको राजनीतिक चमत्कारका मुख्य रचनाकार एमाले अध्यक्ष केपी ओली हुन्। ओली, प्रचण्ड, अथवा मधेसी दल वा राप्रपा वा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलता न्यूनतम साझा कार्यक्रमलाई समयमै सम्पन्न गर्नुमा हुनेछ। उनीहरू सबैका लागि काम गरेर देखाउने चुनौती हो यो। यो अवसर उनीहरूका लागि अन्तिम मौका हो। गरेर देखाउन सके भने ठीकै छ होइन भने कसैलाई जनताले छाड्नेवाला छैनन्। गृहमन्त्री रवि लामिछाने मात्र होइन, जो कसैलाई पनि जनताले शरणहरि टन्डन डुकुलन्ठन बनाइदिने छन्। रविमाथि युवाहरूले प्रश्न तेस्र्याउन सुरु गरिसकेका छन्, मन्त्री भए पुग्नेमा किन मानका खातिर मानरूपी उपप्रधानमन्त्री दाबी गरेको ? किन र केका लागि पगरी निम्ति मरिहत्ते ?
सन्तनेता कृष्णप्रसाद भट्टराईले २०४७ को संविधान किन असफल भयो भन्ने पंक्तिकारको जिज्ञासामा भनेका थिए– बाबु, हामीले प्रजातन्त्र ल्यायौँ। समयमा प्रजातान्त्रिक संविधान पनि जारी गर्न सक्यौँ तर प्रजातान्त्रिक शासन स्थापना भएपछि व्यावसायिक पुलिसिंग गर्न सकेनौँ ! पुलिस प्रशासनलाई चुस्त राख्न र न्यायालय तटस्थ खम्बाको रूपमा ठड्याउन सकेनौँ। स्वच्छ र भरपर्दो संस्थाका रूपमा कायम राख्न सकेनौँ। बाबु बरूपञ्चायतमा पुलिस र अदालत बलियो थियो।
पूर्वप्रधानमन्त्री भट्टराईले भनेकै कुरा गणतन्त्रकालमा पनि दोहोरियो। अदालत सिन्डिकेटमा चल्न थाल्यो। प्रधानन्यायाधीशहरू नै प्रयोग भए। सुशीला कार्कीदेखि गोपाल पराजुली, दीपकराज जोशी, चोलेन्द्रशमशेर राणासम्म नारायणहरि बने। डण्डा तेर्सिए। शक्तिको दुरूपयोग पराकाष्टामा पुग्यो। अदालती परमादेशमा सरकारसम्म बन्यो। न्यायालय र प्रहरी प्रशासन शुद्ध, व्यावसायिक, न्यायिक भएको भए, सबैको आस्था र विश्वासको थलो हुन्थ्यो भने न परमादेशको सरकार बन्थ्यो नत निर्मला पन्तका बलात्कारीहरू दण्डविहीन हुन्थे। तस्करी, भ्रष्टाचारी, माफियागिरी, दलाली, कालोबजारी, सिन्डिकेटको दबदबा हुँदैनथ्यो। ब्यावसायिकता हुन्थ्यो। त्यसैले चामत्कारिकरूपमा जसरी सरकार परिवर्तन भएको छ, केपी वली मात्र होइन, प्रचण्ड र रवि लामिछानेहरूका लागि काँचुली फेर्ने अन्तिम मौका हो यो। देशको अवस्था र व्यवस्था रूपान्तरणका लागि यो यस्तो अवसर हो, यसमा उनीहरू सफल भए भने फूलको माला र बेइमान ठहरिए भने जनता ढुंगा हान्न पछिपर्दैन। घण्टी बजाउनेहरूलाई उनीहरूकै घण्टी खोसेर, रालो थुतेर टाउकामा बर्साउने छन्। सावधान !
पार्टी स्थापना गरेको छ महिनामा स्वतन्त्र दललाई सत्तामा पुग्न मतदाताले जुन मत खन्याएका छन् त्यो कुनै संगठन वा पार्टीलाई प्रभावित भएर दिइएको होइन। त्यो त आक्रोश, विसंगति, बेथिति, कुशासन, अव्यवस्थाबाट दिक्क भएर त्यसलाई जवाफ दिन खसालेको मत हो। त्यसैले युवाहरूले ‘स्वार्थको टक्कर’को रूपमा जबर्जस्त सवाल उठाएको हुनुपर्छ। कुरो स्पष्ट छ, राम्रो गरे फूलको माला पहिराउने निश्चित छ तर नभए ? जगजाहेर छ, युवाहरूले के गर्नेछन्। निर्मला पन्तको कुरा उठाएर गृहमन्त्रीले जनताको मनमा गढेको पीडालाई उजागर गरेका छन्। भ्रष्टाचारी जाँचबुझ आयोग ? यस्ता आयोग त विगतमा कति बने बने। नेपाल प्रहरी काविल छ वा छैन ? अपराधी खोज्नु र त्यसलाई कानुनको कठघरामा ल्याउने काम पुलिसले गर्न सक्दैन भने पुलिस संगठन नै पुनर्संरचना गर्नुपर्छ। पुनर्गठन गर्ने आँट रविले गर्नुपर्छ। उनको सत्प्रयासलाई ओली र प्रचण्डले समर्थन गर्नुपर्छ।
एमाले अध्यक्ष केपी ओलीले राजनीतिकरूपमा एउटै ढुंगाले अनेक सिकार गरेका छन्। उनको रणनीति, योजना र राजनीतिक कलाले उनलाई राजनेताका रूपमा पुनस्र्थापित गरेको छ। उनले मैमत्त कांग्रेसलाई सत्ताच्युत मात्र पारेनन् कि उसको वैशाखी बनेका प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा स्थापित गरिदिएका छन्। ओलीले माधव नेपालको पत्ता साफ गरे, मधेसी दलहरूको विश्वास जिते, राप्रपासँगको सामीप्यताले पुरानो शक्तिको प्रभाव कम पारे, अन्य साना पार्टीहरूलाई आफूतर्फ आकर्पित मात्र गराएनन् कि उनीसँगको सहवासमा माग पूरा हुनेकुरामा आश्वस्त र विश्वस्त बनाएर सरकारमा सहभागी गराए।
समकालीन नेपालमा कसैलाई शंका छैन, ओली राजनेता हुन्। त्यसैले अब उनले राजनीतिक नेतामा मात्र आफूलाई सीमित राखिरहनु हुँदैन। राजनेता बन्न सर्वमान्य हुनुपर्छ। देश र जनताको समृद्धि निम्ति लागिरहनुपर्छ। लागेको छु भनेर मात्र पुग्दैन, जनता जनार्दन र मातृभूमिको हितमा सदासर्वदा लागिरहेको देखिनु पनि पर्छ। उनी अहिलेको समीकरणका प्रमुख हुन्। त्यसैले उनी सबैको अभिभावक बन्नुपर्छ। दूध र पानी छुट्याउने राजहाँस सावित हुनुपर्छ। अब उनले हिजोको राजनीतिक नेताले जस्तो होइन, आजको राजनेताको रूपमा जनताबीच स्थापित हुनुपर्छ। यसको लागि सबैभन्दा पहिले उनले कम बोल्न थाल्नुपर्छ। ओलीले कदापि नबिर्सिउन्, प्राकृतिकरूपमा पनि नेपाल हात्ती हुने देश हो। उनी झन् झापाकै बासिन्दा भए, हात्तीको पूर्वी मुहान हो त्यो जिल्ला। हात्तीको के हुन्छ ? आँखा साना, कान नांग्ला जत्रा ठूला, मुख देखिँदैन। चपाउने दाँत झन् देखिँदैन, नचपाउने दाह्रा मात्र देखिन्छ। केपी ओलीले पनि हात्तीको रूप र सारलाई विचार गरेर चल्नुपर्छ। कानलाई बढी सक्रिय बनाउनुपर्छ। मुखलाई कहिलेकाहीँ मात्र चलाउनुपर्छ।
अब पार्टी सत्तामा पुगेको छ। बागडोर आफ्नो हातमा छ। पराजीत विपक्षीलाई गाली होइन, देश विकास गर्न यसमा सहयोग चाहियो भनेर साथ सहयोग माग्नुपर्छ। कटु आलोचना त गर्नै हुन्न। सरकारको आलोचना प्रतिपक्षले गर्ने हो। शक्ति नभएको जोगीलाई गाली गरेर के फाइदा ? रिसाउने हो भने पनि आफ्नै मुख कि कालो कि रातो। यसो गर्नु भन्दा खुला चित्तले आउनुहोस् देश यसरी बनाउँ भनेर विपक्षीको साथ सहयोग लिएर अगाडिबढ्ने हो। यति गरेपछि चुनावमा जनताले जे गर्नुपर्ने हो गरिहाल्छन्।
केपी ओली, सन्तुलित भएर अगाडि बढ। देश र जनताको हित चिताएर अगाडि बढिरह्यौ भने पनि तिम्रो साथमा अहिले जस्तै अरू पार्टीमा रहेका युवा हुन् वा अनुभवी व्यक्तिहरू तिमीले कोरेको गोरेटोमा समाहित हुनेछन्, सहकार्य निम्ति एकाकार हुन आइपुग्छन्। यिनलाई सत्मार्गमा डो¥याउन सक्यौ भने नेपालीहरू सुखी पनि हुनेछन् र नेपाल पनि समृद्ध हुनेछ। मात्र तिमीले समीकरणको वैठकमा दलका सहभागीहरूलाई दोहोर्याइरहनुपर्छ, देश ऋणमा चुर्लुम्म डुबेको छ, कसरी उतार्ने ? ब्यापार घाटा छ, बजेट घाटामा छ। विकास विदेशी ऋण ल्याएर मात्र गर्नुपर्ने बाध्यता छ। युवालाई रोजगारीको लागि विदेश पठाउनु परिरहेको छ। रेमिटेन्सबाट परिवार पालिनुपर्ने अवस्था छ। देशबाट निकासी शून्यप्रायः छ।
चुनौती नै चुनौतीको चाङ छ। भ्र्रष्टाचार अनियन्त्रित छ। अपराधीहरू खुलेआम हिँडिरहेछन्। शान्ति सुरक्षा डग्मगाएको छ। दलाल, बिचौलिया, माफियाको जगजगी छ। वास्तविक किसान आफ्नो उत्पादनको मूल्य पाइरहेका छैनन्। धान, उखु किसान ठगबाट च्यापिएका छन्। भ्रष्टाचार संस्थागत छ। तलदेखि माथिसम्म सार्वजनिक सम्पत्ति हडप्नेहरू सांसदसम्म बनिरहेका छन्। नातावाद कृपावाद सर्वव्यापी छ।
पद बहाली गरेको दिनदेखि नै गृहमन्त्री जनताको सरोकारको अड्डामा हुने ढिलासुस्ती, घुसखोरीविरूद्ध हुँकार गर्दै अगाडि बढेका छन्। गरिबी न्यूनीकरण, सुकुमबासी समस्या सखारै छन्। देश कृषिप्रधान छ, मल उद्योग मुलुकमा छैन। बियर, वाइन, ह्विस्कीका उद्योग खुलेका खुल्यैछन्। शीतलहरले तराईका जनता कठ्यांग्रिइरहेका छन्। महँगी बढेको बढ्यै छ। प्रधानमन्त्रीसमेत अरू मन्त्रीहरूकिन स्वागत सत्कार र भोजभत्तेर खाँदै अलमलिइरहेका होलान् ? तिनको पुच्छर निमोठ्न प¥यो विधि प्रक्रियाअनुसार। मन्त्री, सांसद अक्षम भएभने पूरै ब्यवस्था र पार्टी कमजोर हुन्छन्।
देशको अर्थनीतिमा परिवर्तन नगरी मुलुकको अवस्था सुधार हुन सक्दैन। उपभोक्तामुखी अर्थनीति परिवर्तन गरेर उत्पादनमुखी अर्थनीतिलाई प्राथमिकतामा लैजान लागौँ। ओली, प्रचण्ड र रविलाई अहिले प्राप्त भएको दुर्लभ मौका फेरि कहिल्यै पाइन्न।
प्रकाशित: २० पुस २०७९ ००:३९ बुधबार