२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

श्रीरामको महिमा अपरम्पार

भगवान् श्रीरामको नामको महिमा प्राचीन कालदेखि नै अपरम्पार रहिआएको पाइन्छ। त्यसैले श्रीरामको नाम अलौकिक साबित भएको छ। यसको शास्त्रीय प्रमाण र व्यावहारिकतामा हेर्दा पनि राम नामको महिमाको पुष्टि हुन्छ।  

प्राचीनकाल अर्थात् सत्य युगको प्रारम्भिक कालदेखि नै लिने हो भने महर्षि वाल्मीकिको उदाहरण हाम्रो सामुन्ने आउँछ। रत्नाकरजस्ता डाँकुले राम नामको उल्टो ‘मरा, मरा’ जपेर महर्षि बने, वाल्मीकि बने। १५ औं शताब्दीमा तुलसीदासले ‘राम चरित मानस’ लेखे। राम चरित मानसका हरेक शब्द मन्त्र हुन्। जप, तप, साधनाका माध्यमबाट कैयौं साधु सन्तले ती मन्त्र सिद्ध गरेर मनग्य फाइदा लिए। यही राम चरित मानसकै आधारमा अझै पनि लाखौं मानिस धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि प्रयासरत छन्। प्राचीनकालमा अरू पनि धेरै प्रमाणहरू छन्, जसमा गिद्ध, अजामिल र शबरीजस्ता महान् भक्तहरू थिए जसले राम नाम जपेकै आधारमा प्रभु रामको दर्शन प्राप्त गर्न सकेका थिए र मोक्ष प्राप्त गर्न सफल पनि भएका थिए। त्यस्तै सदन कसाईं, माझी, शरभंग, अंगद, जामवंत, विभीषण, हनुमान्, भारद्वाज, वशिष्ठ, विश्वामित्र आदि ऋषि महार्षिहरूले राम नामको महिमालाई उजागर गरेका थिए।  

राम नामको सारतत्व र सत्यताको असंख्य प्रमाणहरू मध्यकालीन युगमा पनि पाइन्छ। जसलाई आजका बुद्धिजीवी एवम् वैज्ञानिकहरूले समेत नकार्न सक्दैनन्। किनभने यस समयमा सुरदास, तुलसीदास, कबिर, संत, तुकाराम, गुरु नानक आदि महामानवहरूले त्यस समयमा भक्तिमय काव्य, महाकाव्य रचना गरेर त्यसमा राम नामकै महिमालाई प्रकाशित गरेर विश्वमा आलोकित गरेका थिए। उनीहरूका काव्य, महाकाव्यका शब्द, स्वर सम्पूर्ण रसमय एवम् अमृत समान छन् जसलाई पढेर सुनेर हृदय रोमाञ्चित हुन पुग्छ।  

तुलसीदासको जीवनकालको एउटा घटना हो। जब तुलसीदास राम दर्शनका लागि व्याकुल हुँदा उनको मनस्थिति पागलजस्तै भयो। उनले जसलाई देखे पनि सोध्न थाले, ‘के तपाई राम हुनुहुन्छ ?’ तब उनले आफ्नो राम चरित मानसमा लेखे, ‘सिय राम मय सव जग जानी। करुहुँ प्राम जोरी जुग पानी।’ भगवान् राम प्राप्त गर्न भक्तलाई पागल बन्नुपर्छ, भक्तिबाट प्राप्त हुँदैन अर्थात् प्राप्त गर्न सकिँदैन। यसका लागि त परमभक्तिको आवश्यकता हुन्छ।  

यसैप्रकार कबिरदासको जीवनमा पनि अनौठो खालको प्रसङ्ग छ। कबिर जुलाहा थिए। धागो बाटेर कपडा बुन्नु र बेचेर ग्राहकहरूलाई प्रसन्न पार्नु नै उनको काम थियो। उनले जुनसुकै ग्राहकलाई पनि कपडा दिँदा यसो भन्दै दिन्थे, ‘राम यो कपडा हजुरका लागि हो। हे राम, यो कपडा मैले हजुरकै लागि बनाएको हुँ।’ अब ग्राहकले उसलाई चाहे पैसा देओस् वा नदेओस्, केही मतलब राख्दैनथे। उनले त ग्राहकलाई राम नै सम्झेर दिने गर्थे। यस्तै एकजना अर्का भक्त थिए ती हुन भक्त रैदास। भक्त रैदास जुत्ता बनाउँथे र ग्राहकलाई यसो भनेर दिन्थे, ‘हे राम ! यो जुत्ता मैले हजुरकै लागि बनाएको हुँ, यो जुत्ता हजुरकै हो।’ अनि ग्राहकले त्यस जुत्ताको पैसा चाहे देओस् वा नदेओस् उनले ग्राहकलाई जुत्ता दिन्थे।

भक्त शिरोमणि मिराको ‘पायो जी मैंने राम रतन धन पायो’ मा कति धेरै मार्मिक चित्रण छ, कति धेरै मार्मिक हृदयस्पर्शी छ उनको राम नामको मधुर स्वर सरितामा। मिरा भन्छिन्, ‘वस्तु अमोलक दी मेरे सत्गुरु’ अर्थात् मेरो सद्गुरुले रामनामरूपी यस्तो बहुमूल्य वस्तु दिनुभयो जसको कुनै मूल्य नै छैन। ‘हरष–हरष रस गायो’ अर्थात् खुसी खुसी राम नामरूपी रस मैले पिएँ, कृष्ण रसरूपी रसको मैले पान गरें, राम नामरूपी, कृष्ण रसरूपी अमृतको पान गरेर म धन्य भएँ, अमर भएँ।  

यसप्रकार भक्तिकालका यस्ता असंख्य प्रमाण भेटिन्छन् तर आजकलका अति बुद्धिवादी विद्वान् व्यक्तिहरूको बुद्धिले के सम्झिन्छन् र ?

आधुनिककाल अर्थात् वर्तमान समयमा पनि राम भक्तिभावका धेरै प्रमाणहरू भेटिन्छन्। एकातर्फ महात्मा गान्धी, संत विनोबा भाबे, संत ज्ञानेश्वर, एकनाथ, रामकृष्ण परमहंस, विवेकानन्द, ओशो आदि छन् भने अर्कोतर्फ आज पनि हाम्रोसामु अनेक सिद्धपुरुष छन्, जसले राम नामको दिव्य अलौकिक महिमाको महत्वलाई पूर्णता दिएका छन्।  

रामभन्दा ठूलो रामको नाम छ। यस विश्व ब्रह्माण्डमा प्रत्येक १०० वर्षमा प्रत्येक कुलमा, वंशमा, सम्प्रदायमा एक महान् पुरुषको जन्म हुन्छ जसले आफ्नो कुलको वंशमा आफ्नो धर्मको देवता बनेको हुन्छ। यो राम नामकै समान हुनेछ। बजरंगबली हनुमानरूपी सिया राममय व्यक्तित्व प्रत्येक १०० वर्षको अन्तरालमा अवश्य नै अवतार लिने छन् र आफ्नो धर्ममय कार्य गरेर यस नश्वर संसारबाट बिदा लिन्छन्। उदाहरणस्वरूप महान् दार्शनिक सुकरात, भक्त शिरोमणि मिरा, आदि जगद्गुरु शंकराचार्य, महर्षि दयानन्द सरस्वती आदि हुन्।

प्रकाशित: ९ पुस २०७९ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App