मंसिर चार गते सम्पन्न संघीय संसद् र प्रदेश सभा निर्वाचनको पूरै परिणाम झण्डै तीन सातापछि सार्वजनिक भएको छ। मतदाताले आफ्नो अभिमत कांग्रेस र एमाले ब्लकतर्फ स्पष्टसँग बाँडिदिएका छन्। २०७९ को चुनावमार्फत मतदाताले एउटा पक्ष कांग्रेसले र अर्काे पक्षलाई एमालेले नेतृत्व गर्ने गरी दुई दलीय व्यवस्थाको पक्षमा जबर्जस्त मोहर लगाइदिएका छन्। त्यसका साथै मतदाताले साना पार्टीहरूलाई तिनका चुनौतीको रूपमा दुई दलको बीचमा उभ्याइदिएका छन्, जो उनीहरू सुध्रिनका लागि अवसर पनि हो। मतदाताको जबर्जस्त खबरदारी छ– ठूला पार्टी हो, तिमीहरू अब पनि सुध्रिएनौ भने आउँदो चुनावमा यी र यीजस्तै सशक्त उम्मेदवारहरूको पक्षमा हाम्रो मत जानेवाला छ। अहिलेदेखि नै सावधान होऊ ! हुँदैनौ र बासी कुरा बोकेर हिँड्छौ भने तिमीहरूको भविष्य पनि भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टी जस्तै प्रभावहीन, निम्छरो र बासी गुटमा रूपान्तरण हुनेछ !
मंगलबार बिहानै राजनीतिशास्त्रका प्राध्यापकसँग निर्वाचन प्रक्रिया, त्यस दौरान र सम्पन्न पश्चात कुन प्रवृत्तिमा मत खस्यो भनेर वाद, विवाद र संवादमा माथापच्ची गरियो। उनले मतदान भएको दिन नै भनेका थिए, ६० प्रतिशतको हाराहारीमा मत खस्यो भने धन्न ! उनीसँग उनको अध्ययनको आधारबारे पनि छलफल भयो। कुन दल र कुन स्वतन्त्र उम्मेदवारले कति मत ल्यायो भन्नेबारे पनि कुराकानी गहिरियो।
प्रतिनिधिसभाको प्रत्यक्ष १ सय ६५ र समानुपातिक ११० अर्थात २ सय ७५ स्थानको कुल मत परिणाम (कांग्रेस ८९, एमाले ७८, माओवादी ३२, स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, समाजवादी १०, जनमत (सिके राउत) ६, लोसपा ४, नाउपा (रेसम चौधरी) ३, जनमोर्चा १, नेमकिपा १ र अन्यले ५ स्थान) पाएको घोषणा भएको छ। यसको अर्थ के हो ? यो जनअभिमतबारे प्राध्यापक र उनका सहायकहरूसँग घनिभूत छलफलमा आधारित छ।
१) निर्वाचनप्रति जनतामा उत्साह
निर्वाचनको सबैभन्दा महत्वपूर्ण सन्देश हो, निर्वाचनप्रति आमजनतामा उत्साह छ। जसले संख्यात्मक मात्र होइन गुणात्मक फड्को मारेको छ। निर्वाचनबाट छानिएका प्रतिनिधिमार्फत लोकतन्त्र संस्थागत, नागरिक अधिकार सुनिश्चित हुन्छ भन्नेमा मतदाताको विश्वास प्रकट भयो। संविधान प्रदत्त हक–अधिकारको ग्यारेन्टी, मुलुकमा विधिको शासन कायम रहन्छ। आवधिक निर्वाचनमार्फत सार्वभौमसत्ता प्रयोग गर्ने प्रतिनिधि छान्न सशक्त छौँ भन्ने अनुभूति निर्वाचनमा भएको जनसहभागिताले स्पष्ट पारेको छ। यद्यपि, संविधान जारीपछि २०७४ मा भएको निर्वाचनमा भन्दा ७ प्रतिशत मत कम खसेको छ।
२) कांग्रेस र एमालेको पक्षमा जनमत
पंक्तिकारसँगका हरेक संवादमा प्राध्यापक भनिरहन्थे, जटिल राजनीतिको सहज निकासका लागि देश दुई दलीय ध्रुवमा प्रविष्ट हुँदैछ। त्यसपछि मात्र मुलुकको स्थिरता कायम हुन्छ र विकासले गति लिन सक्छ। अनि मात्र समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो सपना साकार हुन संभव छ। उनले हिजोको छलफलमा आफ्नो उही भनाइ दोहोर्याइरहे। यो महानिर्वाचनको अभिमत केही नैराश्यता सँगसँगै कांग्रेस तथा एमालेको पक्षमा आएको छ। त्यसैले यी दुई दलले मात्र लोकतान्त्रिक पद्धतिमार्फत जनताको अभिमतलाई संबोधन गर्न सक्छन् र गर्नुपर्छ भन्ने निष्कर्ष उनको छ।
यो मतपरिणामको ज्वलन्त उदाहरण हो समाजवादीले प्रत्यक्षमा दश सिटमा जितेर पनि राष्ट्रिय पार्टीको मान्यता पाउने जनमत नल्याउनु नै त्यसप्रतिको अस्वीकार र एमालेप्रतिको जनसमर्थन हो। अर्कोतर्फ गठबन्धन गर्दै सिट बाँडफाँट गरेर चुनावमा होमिएको गठबन्धनको मूल पार्टी नेपाली कांग्रेसको पक्षमा मत जाहेर र राजधानीलगायत सहरी क्षेत्रमा प्रतिनिधित्व भएको छ तर कुनै समय देशकै पहिलो पार्टी भएको माओवादीलाई मतदाताले थोरै सिटमा खुम्च्याइदिनु, राजधानीलगायतका सहरहरूबाट बढार्नु र दुर्गम तथा पिछडिएको क्षेत्रमा बाहुल्य देखिनु भनेको अन्ततः एमालेको विकल्प कांग्रेस र कांग्रेसको विकल्प एमालेलाई स्वीकार्नु हो। तसर्र्थ दुई ध्रुवीय राजनीतिको प्रष्ट सन्देश यो निर्वाचनले दिएको छ।
३) असन्तुष्टि, आक्रोश र झ्वाँक
विगत शासनसत्तामा रहनेहरूको कुशासन, भ्रष्टाचार, माफिया, बिचौलिया, दलाली, ठेकेदारी, डन, अपराधीहरूको राजनीतिमा हालीमुहाली, महँगी, बेरोजगारी, अव्यवस्था, राजनीतिका मठाधीशहरूको आधिपत्य र दलभित्रैका प्यादाहरूप्रतिको विमति, आक्रोश, घृणा र झ्वाँक मतदाताले घण्टी, हलो, माइक, ढकीमार्फत जाहेर गरे। कांग्रेसको महाधिवेशनमा हाकाहाकी राजेन्द्र लिङ्देनले जनताले नेता देख्ने बित्तिकै चोर आएछ भन्छन् र रवि लामिछानेले टिभी कार्यक्रम सञ्चालन गर्दादेखि नै जनतामा विकल्प दिन्छु भनेर हिँडेको ६ महिनामा आफूलाई चौथो र पाँचौँ पार्टीमा स्थापित गरे। पञ्चायतकालमा दलहरू चौथो, पाँचौँ र छैटौँ जस्ता विद्यार्थी संगठनहरूले पञ्चायतविरुद्धको जागरण जस्तैसन्देश प्रवाहित गरिरहेछन्। बहुदल र गणतन्त्रमा आइपुग्दा चौथो, पाँचौँ, छैटौँ बरालिए, स्खलित भए तर त्यो झिल्को अहिले स्वतन्त्र पार्टी र राप्रपाले जगाइदिए। यी अब चूप लागेर बस्ने देखिँदैनन्।
४) तराई–मधेसको विर्ता
तराई–मधेसको राजनीतिलाई विर्ता ठान्नेहरूलाई पूर्वी तथा मध्य पश्चिम तराईमा मतदाताले दोहोलो काढे। वैकल्पिक शक्तिका रूपमा सिके राउत, रेशम चौधरीलाई उभ्याइदिए। यो लरतरो सन्देश होइन। अब राजनीति कसैको ‘बिरादरी’ रहेन। विकल्प रोज्ने जनता जहिले पनि स्वतन्त्र, विवेकी हुन्छ। जनता जनार्दन हुन् भन्ने सन्देश यो निर्वाचनले पनि दिएको छ। यसको साथै विखण्डनकारी भनेर आरोपित तरार्ई मधेसका मतदाताले केपी ओलीले जारी गरेको चुच्चे नक्सामा अखण्ड नेपालको अभिमतमार्फत त्यसैमा मोहोर लगाइदिए। र, एमाले कांग्रेसको उपस्थिति तराई मधेसमा मजबुत बनाइदिए। मूलधारका दुई राष्ट्रिय पार्टी नै तराई मधेसको पनि विकल्प हुन् भन्ने पुनर्पुष्टि मतदाताले गरिदिएका छन्।
५) अजेन्डा र घोषणापत्रबिनाको निर्वाचन
यो निर्वाचनमा दलका घोषणापत्र कर्मकाण्डी मात्रै देखिए। न ती समयमा जारी भए नत मतदाताकहाँ नै पुगे। घोषणापत्रभित्रका अवयवहरूबारे निर्वाचनमा चर्चा÷परिचर्चा नै भएन। निर्वाचन त केवल उम्मेदवारको अनुहारमा केन्द्रित भयो जबकि लोकतन्त्रमा निर्वाचित दललाई मिडिया, बुद्धिजीवी, जनताले प्रश्न गर्ने र कसीमा राख्ने उसको घोषणापत्र र अजेन्डाकै आधारमा हो। पाँचवर्षको रोडम्याप, ब्लुप्रिन्ट भनेकै दलहरूको घोषणापत्रमा हुनुपर्ने हो तर त्यो नभैकन मतदाताले पात्र, प्रवृत्ति र सम्बन्धलाई हेरेर मात्र मत जाहेर गरे। जसका कारण पार्टीका मै हुँ भन्ने हस्तीहरू नपत्याउँदा भनिएकाबाट बल्ड्याङ खाए।
६) महामण्डलेहरूको कन्तबिजोग
नीतिबिनाको राजनीति दिगो हुँदैन। प्राध्यापकले छलफल अवधिभर जोडदिएर दोहो¥याइरहे, बुझ्नुभयो यो निर्वाचनमा महामण्डलेहरूलाई जनताले धुलो चटाइदिएर तिनको कन्तबिजोग नै पारिदिए। उनले आक्रोशित बन्दै भने, चुनावी तालमेलको नाउँमा पञ्चायतकालका महामण्डलेहरूलाई सूर्यचिह्न दिएर सघाइदिएको जनतालाई फिटिक्कै मनपरेको थिएन। एमालेको जनप्रियतामा भएको क्षयीकरणको प्रमुख कारण महामण्डलेहरूसँगको तालमेल हो। यसले के कुरा पनि सिद्ध गर्छ भने राजनीति भनेको निर्वाचनमा केही सिट बढाउने रणनीति मात्र होइन। यो निष्ठा, बिचार, आदर्श, सिद्धान्त र अडानको परीक्षा हो। तिकडमले मात्र नयाँ पुस्तालाई आकर्षित गर्दैन। यसका लागि राजनीतिक इमानदारिता, पारदर्शिता, सुशासन, समृद्धि र जनताको समुन्नति सोच्ने हुन्। कसले आफ्नो प्रतिबद्धता निश्चित समयमा पूरा ग¥यो कि गरेन ? युवा पुस्ताले त्यो हेरिरहेको हुन्छ। दायाँबायाँ, किन्तुपरन्तु गर्यो कि चैट। नारायणहरि !
७) राजधानी र सहरीक्षेत्रमा हावा–हुण्डरी
प्राध्यापकको विश्लेषण छ, यसपालिको निर्वाचनमा सहरी क्षेत्रका मतदाताले विशेष गरेर युवा र विदेशमा बसेका नेपालीले सहरी क्षेत्रमा हावा हुण्डरी र निर्वाचनमा विकल्पको तरंग ल्याइदिए। सात दशक बढीको राजनीतिक विकल्प हामी दिन सक्छौँ भन्ने वाम–कांग्रेसको विकल्प हामी दिनसक्छौँ भनेर स्थानीय निर्वाचनमा बालेन साह र हर्क साम्पाङले सुरु गरेको स्वतन्त्र अभियानलाई सांकेतिकरूपमा लालमोहर लगाइदिए।
८) किनबेचको व्यापार कायम
यसपालिको चुनावमा सहरीक्षेत्र र शिक्षित बहुल ठाउँमा किनबेच, दलबदलु हुन पाएन। तर दुर्गम, पिछडिएको, अशिक्षित, गरिबी, असहाय, निमुखा र झुपडपट्टीमा भने एकमतको दश हजार रूपैयाँ तिरेर पनि ठेकेदार, बिचौलिया, माफिया, डन, अपराधी, तस्कर, व्यापारी र तिनका संरक्षकले विजय हात पारे। सांसदको लोगो किन्न सफल भए। धाँधलीका अवशेष पनि कायमै रह्यो। तर प्राध्यापकले प्रतिप्रश्न गरिरहे– करोडौँ लगानी गरेर जनताको मत किनेर संसद्को लोगो भिर्नेहरूले कस्तो सुशासन दिन्छन् होला ? आफैँ कल्पना गर्नुहोस् !
९) सुशासन, समृद्धि र जनजीविकाको सहजता
निर्वाचनमा जनताको प्राथमिकतामा नयाँ अनुहारमार्र्र्र्र्फत विशेष गरी युवा र विकल्पका रूपमा प्रस्तुत भएका उम्मेदवारहरू केन्द्रित देखियो। सुशासन, समृृृृद्धि र जनताको दैनन्दिनीमा शासक होइन, सेवकको रूपमा काम गर्नेछौँ भन्ने अठोटसाथ उभिएका उम्मेदवारको पक्षमा भारी मत परेको छ। कतिपय विजयी पनि भएका छन्। यो जनमतको रूप र सार दुवै अबको राजनीति शासक बन्ने होइन, जनसेवामा समर्पित जनप्रतिनिधिका रूपमा काम गर्ने पात्रहरूको छनोटमा केन्द्रित हुनुपर्छ भन्ने कुराको प्रष्ट दिशानिर्देश गरेको छ। निर्वाचनको सन्देशको चर्चा गर्दा भुल्नै नहुने कुरा हो यो, प्राध्यापकले भनिरहे। उनले आफ्नो विश्लेषण बिट मार्दै निष्कर्ष निकाले–जनताले मतदान गरेर चुनिसकेपछि अब जनमतप्रति सम्मान गर्ने पालो निर्वाचित सांसदहरूको हो– पार्टीहरू, सांसदहरू हो जनताको मत र संसद्को लोगोप्रति सम्मान गर ! जनमतको सम्मान गर ! तिमीहरूको दिनगन्ती सुरु भैसकेको छ। माला–खादाले पुरिँदै, भोजभतेरमा लुटपुटिइरह्यौ, खरिद बिक्री, किनबेच मोलमोलाहिजा, सुरासुन्दरीमा लहसियौ भने छिटै नारायणहरि हुनेछौ !
प्रकाशित: २१ मंसिर २०७९ ००:३८ बुधबार