२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा गहिरिँदै संकटः राष्ट्रपति र प्रधानमन्त्री निवासमा आक्रोशित भिड

श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले प्रहार गरेको अश्रुग्यास। तस्बिर: अमिता थेनाकुन/एपी

आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ। हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनलाई मध्यनजर गर्दै सरकारी अधिकारीहरूले शुक्रबारदेखि निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसलाई उल्लंघन गर्दै राजधानी कोलम्बोमा विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिको सरकारी आवासनजिकै जम्मा भएका प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गर्न थालेपछि राष्ट्रपति गोटाबाय राजापक्षेलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए। तथापि उनलाई कहाँ लगियो भन्ने कुरा गोप्य राखिएको छ। प्रदर्शनकारीहरूको भिड रोक्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र हवाई फायरसमेत प्रयोग गरेका थिए। तर प्रदर्शनकारीहरू निरन्तर अघि बढेपछि सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न असफल भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति निवासवरिपरि घुमिरहेको, उनी बस्ने सुविधासम्पन्न कोठाहरूमा बसिरहेको र स्विमिङ पुलमा पौडी खेलिरहेको देख्न सकिन्छ।

राष्ट्रपति निवासमा घुसेको प्रदर्शनकारीहरूको भिड दिउँसो प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शन बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले सर्वदलीय सरकार निर्माणका लागि आफूले पदबाट राजीनामा दिने तयारी गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामाबारे जानकारी गराएका हुन्। उनले यसबारे पार्टीका नेताहरूलाई पनि जानकारी गराएको बताएका छन्। उनले नागरिकको सुरक्षालाई सुनिश्चित गर्न पदबाट राजीनामा दिन लागेको दाबी गरेका छन्। शनिबार भएको प्रदर्शनमा श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या पनि सहभागी भएका थिए।  

श्रीलंकामा मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा लामो समयदेखि विरोध प्रदर्शन जारी छ। यसअघि प्रदर्शनकारीहरूले मार्च ३१ मा राष्ट्रपतिको निजी आवासबाहिर आगजनी गरेका थिए। विरोध प्रदर्शन बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले गत  

मेमा पदबाट राजीनामा गरेपछि विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रदर्शनकारीहरूले राष्ट्रपति राजापाक्षेको राजीनामाको माग गरिरहेका छन्। आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोल, खाद्य सामग्री र औषधिको समेत अभाव भइरहेको छ।  

श्रीलंका हाल इतिहासको सबैभन्दा खराब आर्थिक संकटबाट जुधिरहेको छ। उक्त देशसँग इन्धन तथा औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न पनि पैसाको अभाव भइरहेको छ। हाल श्रीलंकाले विद्युत् संकटसमेत भोगिरहेको छ। विदेशी मुद्रा सञ्चितिको अभावसँगै आर्थिक संकट सुरु भएपछि नागरिकहरूमा सरकार र राजनीतिज्ञहरूप्रतिको आक्रोश बढिरहेको छ। संयुक्त राष्ट्रसंघले श्रीलंका मानवीय संकटको दिशातर्फ अघि बढिरहेको जनाएको छ। श्रीलंका आर्थिक संकटतर्फ जानुका पछाडि सरकारको व्यवस्थापकीय कमजोरी भएको त्यहाँका नागरिकहरूले बताउने गरेका छन्।  

विज्ञहरूका अनुसार पछिल्लो एक दशकमा श्रीलंकाको सरकारले सार्वजनिक सेवाका लागि विदेशबाट ठुलो परिमाणमा ऋण लिएको छ। बढ्दो ऋणका अलावा प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण पनि त्यहाँको अर्थतन्त्रमा ठुलो नोक्सानी पुगेको बताइएको छ। विदेशी ऋण तिर्ने क्रममा विदेशी मुद्रा सञ्चिति न्यून हुँदा विदेशबाट अत्यावश्यक वस्तुसमेत आयात हुन सकेको छैन। जसले गर्दा श्रीलंकामा अत्यावश्यक वस्तुको अभाव हुन पुगेको हो।

प्रकाशित: २६ असार २०७९ ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App