पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।
विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ। विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन्।
पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ। पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन्। यसअनुसार अविश्वास प्रस्ताव पारित गर्ने पक्षमा एक सय ७२ भोट भए पुग्छ। प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट छ। उनको सरकार गठबन्धनका सहयोगी दलको समर्थनमा चलिरहेको छ।
खान नेतृत्वको सरकारलाई पाकिस्तान मुस्लिम लीग कायद–ए–आजम (पीएमएल–क्यू) र मुत्ताहिदा कौमी मुभमेन्टको समर्थन छ। तर यी पार्टीका शीर्ष नेताले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन्। अहिलेसम्म प्रधानमन्त्री खानको विपक्षमा उभिने स्पष्ट संकेत गरेका छैनन्।
विपक्षीको विरोधपछि प्रधानमन्त्री खानले पेट्रोल र बिजुलीको मूल्यमा केही कटौतीको निर्णय गरेका छन् । खान सन् २०१८ अगष्टमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
प्रकाशित: २५ फाल्गुन २०७८ ०५:१९ बुधबार