शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले बन्धक बनाएका इजरायली नागरिक शिरी बिबासको भएको पुष्टि भएको उनको परिवारले शनिबार जनाएको छ।
रेड क्रसको अन्तर्राष्ट्रिय समितिले शुक्रबार कसको हो भनी नबताई थप मानव अवशेषहरू इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरेको बताएपछि नीर ओजको इजरायली किब्बुट्ज समुदायले शनिबार बिबासको मृत्युको घोषणा गरेको थियो।
बिबास परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा पहिचान प्रक्रियापछि आज बिहान हामीले शिरी बिबासको मृत्युको प्रमाण पायौँ। शिरीलाई बन्धक बनाएपछि हत्या गरिएको थियो र अहिले उनी आफ्ना छोराहरू, पति, बहिनी र परिवारका सबै सदस्यहरूलाई आराम दिन घर फर्किएकी छिन्।”
परिवारले इन्स्टाग्राममा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूको भाग्यको लागि हाम्रो डरको बावजुद अब हामी शिरीसँग छुट्टिएका छौँ र यसले हामीलाई दुःखी बनाएको छ। करिब १६ महिनादेखि हामीले निश्चितता खोजेका थियौँ र अब हामीसँग कुनै सान्त्वना दिने आशा छैन, अब शिरीको खोजीको अभियान टुङ्गिएको छ।”
बिहीबार हमासले शिरी बिबास, उनका दुई साना छोरा र एक वृद्ध बन्धकको भन्दै चार वटा शव हस्तान्तरण गरेको थियो। उनका दुई छोरा र बन्धक बनाइएका वृद्धको शवको सकारात्मक पहिचान भए पनि इजरायली अधिकारीहरूले चौथो शव शिरी बिबासको नभएको बताएका थिए।
हमासले शुक्रबार नै शवको सम्भावित ‘घुलमिल’ भएको हुनसक्ने भन्दै रेडक्रसलाई नयाँ अवशेष हस्तान्तरण गरेको थियो। हमासले लामो समयदेखि इजरायलको हवाई आक्रमणमा बिबास र उहाँका छोराहरू केफिर र एरियलको मृत्यु भएको बताउँदै आएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले गाजामा युद्ध सुरु गरेपछि बिबास परिवार इजरायलले भोग्नुपरेको बन्धकको पीडाको प्रतीक बनेको थियो। एएफपी
प्रकाशित: १० फाल्गुन २०८१ १३:१२ शनिबार