४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा जनविद्रोह: व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ। आन्दोलन चर्किएका कारण बंगलादेशतर्फ पठाइएका एक दर्जन बढी मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। बंगलादेशतर्फ पठाइएका कन्टेरन नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बंगलाबन्धमा रोकिएका हुन्। बंगलादेशबाट नेपालमा सामान ल्याउन लोड भएका कन्टेनर पनि आउन पाएका छैनन्।

बंगलादेशमा आरक्षणको विषयमा आन्दोलन चर्किएपछि रोकिएको व्यापार सामान्य अवस्थामा फर्किएको अवस्थामा सोमबार फेरि आन्दोलनले उग्र रूप लिँदा प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुपर्ने अवस्था आएपछि फेरि आयात निर्यात रोकिएको हो।

बंगलादेशसँग नेपालको ठुलो व्यापार नभए पनि त्यहाँ उत्पन्न राजनीतिक अस्थिरताको असर नेपालमा पनि पर्ने वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले बताए। ‘दक्षिण एसियाली मुलुकमा राजनीतिक अस्थिरता आउँदा त्यसको बाछिटा नेपालमा पनि आउँछ,’ ओझाले भने, ‘बंगलादेशसँग गर्न लागिएका सम्झौतामा पनि असर पर्न सक्छ।’ ओझाका अनुसार नेपाल बंगलादेशसँग दुईपक्षीय व्यापार सम्झौता गर्ने तयारीमा छ । अब यो सम्झौता पनि अनिश्चित हुन सक्ने उनले बताए।

अहिले रोकिएको आयात, निर्यात अवस्था सामान्य हुनासाथ पुरानै अवस्थामा फर्किने अपेक्षा गरिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब २२ करोड ५६ लाख रूपैयाँको वस्तु बंगलादेशबाट आयात भएको छ। त्यस्तै नेपालबाट ५५ करोड ४६ लाख रूपैयाँका सामान निर्यात भएको छ। 

नेपालबाट दाल, जडिबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङरोगनलगायतका पदार्थ बंगलादेश निर्यात हुन्छ । यसैगरी, बंगलादेशबाट जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट, चकलेटलगायत सामग्री आयात हुने गरेको भन्सार विभागले जनाएको छ।

विद्युत् व्यापार सम्झौता अनिश्चित

बंगलादेशमा उत्पन्न राजनीतिक अस्थिरतका कारण नेपाल र बंगलादेशबीच हुने भनिएको बिजुली खरिदबिक्री सम्झौता अनिश्चित भएको छ। बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने तयारी थियो। यही साउन १३ मा सम्झौता गर्ने तयारी भए पनि बंगलादेशमा आन्दोलन चर्किएपछि रोकिएको हो। नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुलहमिदको उपस्थितिमा सम्झौता गर्ने तयारी थियो। 

बंगलादेशमा प्रधानमन्त्रीले नै देश छाडेकाले अब यो सम्झौता कहिले हुन्छ भन्ने टुंगो छैन। यो कुरा आन्दोलनले लिने रूप र अन्तरिम सरकारले लिने नीतिमा पनि भर पर्नेछ। नेपालबाट बंगलादेशमा वर्षायामका ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने योजना छ। १५ जुनदेखि १५ नोभेम्बरसम्म बिजुली निर्यात गर्ने तालिका बनाइएको थियो। बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट कायम गर्ने गरी प्रक्रिया अघि बढेको थियो। बंगलादेशलाई विद्युत् बिक्री गरेर नेपाल विद्युत् प्राधिकरणले करिब सवा अर्ब रूपैयाँ रकम भित्र्याउने योजना छ। यसै योजनाअनुसार सम्झौता प्रक्रिया अघि बढाइएको थियो।

२५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत्बाट उत्पादन गरेको विद्युत् नेपालले ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गर्ने योजना छ। बंगलादेशमा विद्युत् निर्यात गर्नेगरी दुई देशबीच विद्युत् खरिद बिक्री सम्झौता प्रक्रिया अघि बढेको थियो। यसका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुनमा बंगलादेशको ढाकामा बार्ता भएको थियो।

प्रकाशित: २३ श्रावण २०८१ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App