जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। सोमवार आएको ७.६ रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।
क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्।
सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।
सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ। रासस
प्रकाशित: १७ पुस २०८० ०६:५८ मंगलबार