४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा न्यायालयको कडा आलोचना

वासिङ्गटन— सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध स्थगित गर्न अदालतले आदेश दिएपछि उक्त आदेश दिने न्यायाधीशविरुद्ध राष्ट्रपति ट्रम्प खनिएका छन्। 

‘मलाई लागेको थिएन न्यायाधीशहरुले देशलाई यति धेरै जोखिममा पार्नेछन्’, उनले भनेका छन्।

उनले उक्त फैसला गर्ने न्यायाधीशप्रति आक्रामक बन्दै भनेका छन्, ‘यदि अमेरिकामा केही भइहाल्यो भने अदालतलाई आरोप लगाउनु पर्छ।’ उनले अमेरिका प्रवेश गर्ने प्रत्येक यात्रीलाई राम्ररी चेकजाँच गर्न पनि अमेरिकी सीमामा कार्यरत कर्मचारीलाई निर्देशन दिएको बताए। 

गत शुक्रबार सियाटलको संघीय अदालतले राष्ट्रपति ट्रम्पको मुस्लिम बहुल सात राष्ट्रबाट अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्धलाई स्थगित गर्न सरकारलाई आदेश दिएको थियो। त्यो आदेश लगत्तै अमेरिकी न्याय विभागले गरेको पुनरावेदन पनि खारेज भएको छ। यसको मतलब राष्ट्रपति ट्रम्पको आदेश मुद्दाको अन्तिम फैसला नभएसम्म कार्यान्वयन हुने छैन। अमेरिकी भिजा लिएका इराक, सिरिया, इरान, लिबिया, सोमलिया, सुडान र यमनका नागरिकहरु अमेरिका प्रवेश गर्न पाउनेछन्। 

ह्वाइट हाउसलाई सोमबारसम्मको समयसिमा तोकेर थप भनाइ राख्न पनि अदालतल भनेको छ। 

राष्ट्रपति ट्रम्पले श्रृङ्खलाबद्ध ट्विट गर्दै भनेका छन्, ‘मैले होमल्याण्ड सेक्युरिटीलाई हाम्रो देशमा आउने प्रत्येक नागरिकलाई एकदमै ध्यान दिएर जाँच गर्न भनिसकेको छु।’ उनले अर्को एक ट्विटमा अदालतले राष्ट्रपतिको काम गर्न एकदमै गाह्रो बनाएको लेखेका छन्।

‘मलाई लागेको थिएन न्यायाधीशहरुले देशलाई यति धेरै जोखिममा पार्नेछन्’, उनले भनेका छन्।

 

प्रकाशित: २५ माघ २०७३ ०५:१९ मंगलबार

ट्रम्पद्वारा न्यायालयको कडा आलोचना