६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चितवनमा एकैदिन १ सय ६२ जनालाई डेंगी संक्रमण

चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्। यो संख्या एकैदिनमा अहिलेसम्मकै धेरै हो।  जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, यहाँ देखिनेमा चितवन सहित बाहिरी जिल्लाका समेत रहेका छन्। 

पछिल्लो २४ घण्टामा चितवनका ९०, ठेगाना नखुलेका ४८, अन्य जिल्लाका २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगी संक्रमण भरतपुर महानगरपालिकाका सबैभन्दा बढी ७१ जना छन्। त्यस्तै खैरहनीका ६, माडीका २, रत्ननगरका ४, राप्तीका ५, र कालिका नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। यससँगै चितवनमा हालसम्म १ हजार ६२१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। चितवनका मात्रै १ हजार ८३ जना रहेको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन्।  

हालसम्म ७ हजार १८४ जनामा डेंगी परीक्षण गरिएको छ। यस्तै चितवनमा तीन जनाको डेंगीका कारण मृत्यु भएको छ। डेंगी दशैँपछि डेंगी संक्रमण तीव्र रुपमा बढ्दा अस्पतालमा बिरामीको चाप उच्च रहेको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले डेंगी र स्क्रबटाइफस बिरामी कारण अस्पतालका बेड भरिएको बताए। ५२ बेड मेडिसिन वार्ड रहेको भरतपुर अस्पतालमा आज मात्र ३८ जना डेंगीका बिरामी डिस्चार्ज भएका छन्। अब्जरभेसन वार्ड पनि बिरामीले भरिएको छ। तीन जनाको आईसियूमा उपचार भइरहेको अस्पतालका रेकर्ड शाखा प्रमुख नारायण रिजालले जानकारी दिए।  

यसैबीच चितवनमा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारत युवतीको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित बर्दघाट नगरपालिकाकी २९ बर्षिया युवतीको असोज २८ गते मृत्यु भएको हो। उनी डेंगी संक्रमण भएपछि असोज २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

प्रकाशित: ३० आश्विन २०७९ ११:०० आइतबार

डेंगी