२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा बढ्दै कोरोना संक्रमण

बाँकेमा कोरोनाको चौथो लहर सुरु भएयताको एकैदिन सबैभन्दा बढी संक्रमित फेला परेका छन्। बाँकेका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।  

चौथो लहर सुरु भएयता मंगलबार देखिएको संख्या हालसम्मकै उच्च रहेको कोभिड–१९ (कोरोना भाइरस) संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। वैशाख, जेठमा बाँकेमा कोरोना संक्रमितको संख्या शून्यमा रहेको थियो।  

मंगलबार भेरी अस्पतालमा २१ जनाको पिसिआर जाँच गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो। जुन ८० प्रतिशत संक्रमण संख्या हो। तीमध्ये बाँके जिल्लाका १३ र बाहिरी जिल्लाका चारजना रहेका छन्। यसैगरी मेडिकल कलेज कोहलपुरमा बाँकेका एकजना, खजुरा गाँउपालिकामा चारजना, जमुनाह नाकामा तीनजनामा गरी २५ जनामा कोरोना पुष्टि भएको हो।  

मंगलबार सात जना डिस्चार्ज भएका छन्। हाल बाँकेका आठवटै पालिकामार्फत पनि कोरोना जाँच भइरहेको ओलीले बताए। यससँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार दुई सय ३४ पुगेको छ। यस्तै २० हजार आठ सय १६ जना निको भइसकेका छन्। अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमित सबै होम आइसोलेसनमा छन्।

सबैको अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको ओलीको भनाइ छ। तर, कोरोनाबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुनपानी र सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य मापदण्डको पालनामा हेलचक्य्राइँ गर्न नहुने ओलीले बताए।

प्रकाशित: २५ श्रावण २०७९ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App