वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा अभियन्ता डा.गोविन्द केसी इलाम अस्पतालमा बिरामीको उपचार गरिरहेका छन्। हिजो (आइतबार) इलाम आएका डा.केसीले करिब १ महिना इलाम अस्पतालको ओपिडीमा बिरामी जाँच गर्ने भएका हुन्।
डा.केसीले प्रत्येक दिन ५० हाराहारी बिरामी जाँच गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए। ‘डा.केसीले आज (सोमबार) दिनभर हाडजोर्नीसम्बन्धी समस्याका बिरामी जाँच गरिरहनुभएको छ,’ खतिवडाले भने, ‘उहाँ करिब २ साता यहाँ रहनु हुने कुरा भएको छ तर डा.केसीले समयले साथ दिए आफू १ महिना नै बस्ने पनि भन्नुभएको छ।’ डा.केसीले जाँच गर्ने थाहा पाएपछि हाडजोर्नीको समस्या भएका पूराना बिरामी समेत अस्पतालमा आएको अस्पतालले जनाएको छ।
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष सेवा दिने प्रयासमा आफू इलाम आएको डा.केसीले बताए। डा.केसीले यसअघि ताप्लेजुङमा पनि बिरामी जाँच गरेका थिए। यसअघि आजै डा.केसीले इलाम नगरपालिकाका पदाधिकारीसँग पनि छलफल गरेका छन्। इलाममा मेडिकल कलेज सञ्चालनबारे त्यस अवसरमा छलफल भएको इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल लिम्बूले बताइन्।
डा.केसीले स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २०७५ पुस २५ देखि माघ २ सम्म १६औं सत्याग्रह इलाममा गरेका थिए। सत्याग्रहकै क्रममा सिकिस्त भएपछि उनलाई राति नै काठमाडौँ लगिएको थियो।
प्रकाशित: २३ श्रावण २०७९ ११:४५ सोमबार