८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा रगत अभाव

नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। स्थानीय निर्वाचनका कारण सामूहिक रक्तदानका कार्यक्रमहरु हुन छाडेपछि रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिए।  

हाल दैनिक एक सयजनाभन्दा बढीले रगत माग गर्दै आउने गरेको उनले बताए। तर मागको आधा संख्यामा मात्रै रगत उपलब्ध गराउन नसकिने स्थिति रहेको उनको भनाइ छ। रगत अभाव भएकोले नियमित रक्तदाताहरुलाई अनुरोध गरेर र बिरामीका आफन्तहरुबाट रगत संकलन गरेर उपलब्ध गराइरहेको रेग्मीले बताए। अब बिस्तारै रक्तदानका कार्यक्रमहरु हुने सम्भावना रहेको उनले जनाए। उनले स्वतःस्फुर्तरुपमा रक्तदान गरिदिन पनि रक्तादातालाई आग्रह गरेका छन्। यतिबेला रगतका माग पनि बढी हुने गरेको उनले बताएका छन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका झन्डै २४ जिल्लाका नागरिकहरूको स्वास्थ्य उपचारको केन्द्र नेपालगन्ज हो। नेपालगन्ज र कोहलपुरमा उपचारका लागि आउने बिरामीहरुलाई रगत उपलब्ध गराउने एकमात्र रक्तसञ्चार केन्द्र हो।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुर, आर्मी अस्पताल, आखाँ अस्पताल गरी १५ बढी विशेषज्ञ सेवासहितको अस्पताल, ८० बढी निजी क्लिनिक गरेर एक सयभन्दा बढी स्वास्थ्य संस्था छन्। बाँके जिल्लाबाट वार्षिकरुपमा लगभग चार लाख बढी नागरिकले उपचार लिने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख रजंग शाहको भनाइ छ। बाँकेमा करिब चार हजारले वार्षिकरुपमा नेपालगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा रक्तदान गर्छन्। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले गतवर्ष १० हजार आठ सय १६ पिन्ट रगत संकलन गरेकोेमा १३ हजार ८३ पिन्ट रगत बिरामीको लागि वितरण गरेको थियो। दिनेभन्दा लिनेको सख्या धेरै हुँदा बेलाबेलामा नेपालगन्जमा रगत आपूर्तिमा समस्या देखिने गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक अधिकृत रेग्मीको भनाइ छ।

प्रकाशित: १४ जेष्ठ २०७९ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App