२३ पुस २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गण्डकीमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाइने

गण्डकी प्रदेशमा चैत अन्तिम साताबाट टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। बहुवर्षीय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो।

प्रदेशमा पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ। अभियान अन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए। खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरुमा लगाउने व्यवस्था गरिने उनले बताए।।।।प्रत्येक विद्यालय, वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं’–उनले भने।

खोप सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लाका अधिकारीहरुलाई तालिम र सुक्ष्म योजना गराइसकेको जनाएको छ। खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरु केन्द्रबाट प्रदेशमा चैत २० गतेसम्ममा आइपुग्ने र जिल्लामा चैत २१ देखि २३ गतेसम्ममा पु¥याइसकिने प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए।

टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ। यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए।  

प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिने उनको भनाई छ। उनले टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास व्यक्त गरे।।।।तर भ्याक्सिन लगाइएको छ भनेर मात्र पुग्दैन। भ्याक्सिनसँगै सरसफाईपनि ध्यान दिनुपर्छ’–उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष २ करोड मानिस विरामी हुने गरेका छन्। त्यसमध्ये करीब १ लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेका छन्। नेपालमा भने प्रति १ लाखमा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रति १ लाखमा १० हजार ९ सय ६० संक्रमण दर रहेको छ।

नेपालमा वर्षेनी ४ लाख ५० हजार मानिस यसबाट विरामी हुने गरेका छन्। नेपालमा प्रति लाखमा ९ सय जनाले ज्यान गुमाउने गरेको बताइन्छ। गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रति वर्ष कति विरामी हुन्छ भन्ने तथ्याङ्क छैन। तर उपचारका लागि अस्पताल आउने विरामी मध्ये हरेक चार जनामा एक जना अर्थात एक चौथाई विरामी टाइफाइडका विरामी हुने गरेको डा.न्यौपानेले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०७८ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App