५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान स्वास्थ्य विमा रकम शोधभर्ना नपाउँदा समस्या, विमा बोर्डलाई एक महिने अल्टिमेटम

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दाबी गरेअनुसारको भुक्तानी स्वास्थ्य विमा बोर्डबाट नपाउदा स्वास्थ्य विमा कार्यक्रम नै प्रभावित हुन लागेको छ।  

प्रतिष्ठानका अनुसार स्वाथ्य सेवा दिएवापत दाबी गरिएको रकममध्ये हालसम्म २६ करोड भन्दा बढी रकम बिमा बोर्डले रुजु गरेर भुक्तानी दिएको छैन। यसले प्रतिठानको दैनिक सञ्चालन खर्च तथा तलबभत्ता उपलब्ध गराउनमा समस्या भइरहेको पदाधिकारीहरुले बताएका छन्। विमा बोर्डले चाडै रकम भुक्तानी नगरे आगामी दिनमा प्रतिष्ठानबाट उपलब्ध हुदै आएको स्वास्थ्य विमा कार्यक्रम नै प्रभावित हुनसक्ने पनि पदाधिकारीहरुको भनाई छ।  

स्वास्थ्य विमाको रकम नपाउदा प्रतिष्ठानलाई आर्थिकरुपमा ठुलो समस्या भइरहेको उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बताए। बोर्डलाई पटक पटक भुक्तानीको लागि आग्रह गर्दा पनि सुनुवाई नभएकोले आइतबार एक महिनाको अल्टिमेटम दिएर पत्राचार गरिएको उपकुलपति डा.गिरीले जानकारी दिए। उनले भने,‘सरकारको पनि ध्यानाकर्षण गराएका छौ, विमा बोर्डबाट भुक्तानी नहुने हो भने हामीले नचाहदा नचाहदै पनि विमितहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ हुन्छौ। चैत १४ गतेसम्म हामीले दाबी गरेको सबै रकम भुक्तानी हुनुपर्छ, र दाबी प्रक्रियाको समस्यामा छलफल गरेर सहजीकरण गरेर आवश्यक निर्णय लिनुपर्छ भनर पत्रचार गरेका छौ।’

प्रतिष्ठानले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश १ मुख्यमन्त्री कार्यालय, प्रदेश १ स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन र स्थानीय सरकार धरान उपमहानगरपालिकालाई पनि गराएको जनाएको छ। गएको कार्तिक अन्तिम साता विमा बोर्डबाट भुक्तानी भएपछि हालसम्म भुक्तानी पनि भएको छैन। प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत उपचारमा आउने विरामीको शुल्क हो। दैनिकरुपमा उपचारमा आउने विरामी संख्यामा ६० देखि ७० प्रतिशत विरामीहरु स्वास्थ्य विमा कार्यक्रमबाट आउने गरेका छन्। 

जसले गर्दा प्रतिष्ठानको आम्दानीमा ५० प्रतिशत प्रभावित हुन पुगेको अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले बताए। उनले भने,‘विमितहरु आउदा जिरो विलिङ हुन्छ। पछि हामीले विमा बोर्डमा दाबी गर्नुपर्छ। तर त्यहाँबाट शोधभर्नाको रकम नपाउदा संस्थालाई आर्थिक संकट परिरहेको छ। यसरी त हामीलाई यो कार्यक्रम अघि बढाउन समस्या हुन्छ।’

अस्पताल प्रशासन प्रमुख अशोक साहका अनुसार प्रतिष्ठानले २०७४ सालदेखि नै स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो। यहाँ हालसम्म ७३ करोड शोधभर्ना भएको छ। तर, प्रत्येक पटक विमा बोर्डले दाबी गरे अनुसार शोधभर्ना नगरिदिदा बक्यौदा रहदै साढे २६ करोड पुगेको उनले बताए। बोर्डले किन शोधभर्ना दिदा थोरै थोरै रकम बक्यौदा राखेको भन्ने पनि प्रष्ट नभएको उनको भनाई छ। ‘कार्तिक पछि त भुक्तानी नै दिएको छैन,’उनले भने,‘यो नेपाल सरकारकै कार्यक्रम हो, तर हामीलाई भुक्तानी सहजरुपमा भइरहेको छैन।’

स्वास्थ्य विमा प्रति सचेतना बढ्दै गएकोले प्रतिष्ठानमा उपचारमा आउने विमितहरुको संख्या पनि बढ्दै गएको छ। दैनिक एक हजार भन्दा बढी विमितहरु प्रतिष्ठानमा आउने गरेका छन्। चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म मात्र प्रतिष्ठानमा ६ हजार ५३८ जना विमितहरुले सेवा लिएको तथ्यांक रहेको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App