५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित

कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेल्धुराबाहेक ६ पहाडी जिल्लाका अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको छैन।

पहिलो र दोस्रो लहरको कोरोना संक्रमण व्यापक रूपमा फैलिएसँगै जडान गरिएका भेन्टिलेटरसहितका आइसियु बेड जनशक्ति अभावमा सञ्चालन हुन नसकेको अस्पतालहरूले बताएका छन्। सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा, अछाम, बैतडीका अस्पतालमा जडित भेन्टिलेटर सञ्चालनमा आउन नसकेर थन्किएका हुन्।

नयाँ भेरियन्टसहितको तेस्रो लहर व्यापक रूपमा फैलिरहेका बेला आइसियु र भेन्टिलेटर सञ्चालन नहुँदा पहाडी ६ जिल्लाका संक्रमितलाई समस्या भएको छ। अक्सिजन अभाव भएर आइसियु र भेन्टिलेटर आवश्यक पर्ने बिरामीले सास्ती खेप्नुपरेको छ। अस्पतालमा भेन्टिलेटर सुविधा नभएपछि उपचारका लागि संक्रमितलाई अन्यत्र लैजानुपर्ने बाध्यता भएको स्थानीयले बताएका छन्। कोराना संक्रमणको दोस्रो लहरका बेला आइसियु र भेन्टिेलेटरको अभावमा धेरैले ज्यान गुमाएका थिए। पहाडी जिल्लाका अस्पतालमा आइसियु र भेन्टिलेटर नहुँदा अन्यत्र उपचारका लागि लैजाने क्रममा धेरैको बाटामै ज्यान गएको थियो।

‘गत वर्ष रेफर गरिएका धेरै संक्रमितको बाटामै मृत्यु भयो। समयमै आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए ज्यान बच्न सक्थ्यो,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्त जोशीले भने, ‘आइसियु र भेन्टिलेटर सञ्चालन नहुँदा जटिल प्रकृतिका संक्रमितलाई बचाउन गाह्रो हुने गरेको छ।’ आफूसँग रेफर गर्नुको अन्य विकल्प नहुने उल्लेख गर्दै गम्भीर अवस्थाका बिरामीको बाटैमा ज्यान जाने गरेको उनी बताउँछन्। अस्पतालमा भेन्टिलेटरसहित दुई शड्ढयाको आइसियु जडान गरिएको भए पनि सञ्चालन हुन नसकेको उनले बताए।

गत वर्ष असोजमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले २० भेन्टिलेटर खरिद गरेर सुदूरपश्चिमका १० अस्पताललाई दुईदुईवटा दिएको थियो। पहाडी जिल्लाका अस्पतालमा जडान गरिएको एक वर्ष बढी समय हुँदा पनि आइसियु र भेन्टिलेटर सञ्चालन गर्न कसैको ध्यान पुगेको छैन। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदीश जोशीले जनशक्ति नभएर अहिलेसम्म पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर सञ्चालन हुन नसकेको बताए। १० वटा अस्पतालका एक मेडिकल अधिकृत र एक नर्सिङ कर्मचारी गरेर २० जनालाई आइसियु र भेन्टिलेटर सञ्चालन गर्न दुई महिने तालिम दिइएको र अब उनीहरूले सञ्चालन गर्न सक्ने उनको भनाइ छ। तर, २० जनाले तालिम लिइसकेको दुई महिना भइसक्दासमेत आइसियु र भेन्टिलेटर सञ्चालन भएका छैनन्।

आइसियु र भेन्टिलेटर सञ्चालन गर्न आवश्यक विशेषज्ञ जनशक्तिको अभाव परिपूर्ति गर्न भने नसकिने डा. जोशीले बताए। आइसियु र भेन्टिलेटर सञ्चालनका लागि चाहिने एनेस्थेसियोलोजिस्ट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामै छैनन्। ‘एनेस्थेसियोलोजिस्टको देशभरिमै अभाव रहेकाले सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालमा ल्याउन सम्भव छैन,’ जोशीले भने। यसैगरी पहाडी जिल्लामा क्रिटिकल कन्सल्ट्यान्ट

फिजिसियनसमेत छैनन्। तालिम पाएको जनशक्तिले नै पहाडी जिल्लाका अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने उनको भनाइ छ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए। ‘तेस्रो लहर फैलिँदा पनि आइसियु र भेन्टिलेटर सञ्चालन गर्न सकिएको छैन,’ उनले भने। सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालमा पूर्वतयारीनहुँदा कोरानाको तेस्रो लहर फैलिएसँगै स्थानीय त्रासमा छन्।

‘पहाडी जिल्लाका अस्पतालमा न विशेषज्ञ चिकित्सक छन्, न आवश्यक उपकरण नै, जडान गरिएका आइसियु र भेन्टिलेटर त्यसै थन्किएका छन्,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘तेस्रो लहर फैलिँदासम्म पहाडी जिल्ला अस्पतालमा पूर्वतयारीका लागि सरकारले ध्यान नदिनु लाजमर्दो कुरो हो।’ जनशक्ति अभाव भएकाले आइसियु र भेन्टिलेटर सञ्चालन भएनन् भनेर सरकार र राज्यका निकायले उम्किन नपाउने उनी बताउँछन्। ‘कोराना संक्रमणको तेस्रो लहरको महामारीबाट जोगिन आवश्यक जनशक्ति, उपकरण सबैको व्यवस्था गरेर स्वास्थ्य प्रणाली चुस्तदुरुस्त बनाउने सरकारको काम हो,’ उनले भने।

क्रिटिकल केयरका लागि आवश्यक विशेषज्ञ चिकित्सकको संख्या सुदूरपश्चिममै अत्यन्तै न्यून छ। पहाडी जिल्लामा एकजना पनि छैनन्। विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढ्दै गएको छ। जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न उपकरण तथा जनशक्ति निकै कम छ। आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियनसमेत छैनन्।

पुस अन्तिम सातादेखि कोरोना संक्रमणको दर निरन्तर उकालो लाग्दै आएको छ। गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गए उपचारमा समस्या हुने विज्ञहरूले बताएका छन्। सुदूरपश्चिममा अहिलेसम्म ५६ हजार ९ सय ९७ जना संक्रमित भएका छन् भने ६ सय २१ जनाको ज्यान गएको छ। पुसको अन्तिम सातादेखि तीव्र रूपमा संक्रमण फैलिएको सुदूरपश्चिममा प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार अहिले ४ हजार ९ सय ८२ सक्रिय संक्रमित छन्।

प्रकाशित: १६ माघ २०७८ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App