२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

तत्कालै लकडाउन नहुने

नेपालमा एक सातादेखि दैनिक २ प्रतिशतले कोरोना संक्रमणदरमा वृद्धि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने तर संक्रमणको गति संकटतिर गएमा स्मार्ट लकडाउनको कार्यविधिअनुसार कोरोना संक्रमण नियन्त्रणको व्यवस्थापन गर्ने तयारी भएको जनाएको छ।

समितिकी प्रवक्ता संगीता नेपालले व्यवस्थापन समितिको आइतबारको निर्णय सुनाउँदै भनिन्, ‘अहिले लकडाउन गर्ने तयारी छैन तर संक्रमण बढेमा ठाउँ हेरी स्मार्ट लकडाउन गर्न सकिन्छ।’

प्रवक्ता नेपालका अनुसार कुनै निश्चित जिल्लामा मात्र कोरोना संक्रमित धेरै भएमा, संक्रमणको कारण मृत्युदर र अस्पताल भर्नादर बढेमा त्यही जिल्लामा मात्र लकडाउन गरिने प्रक्रिया हो स्मार्ट लकडाउन। यो लकडाउनको कार्यविधिअनुसार संक्रमण संख्या, मृत्यु संख्या र अस्पताल भर्ना संख्यालाई सूचक मानिन्छ। यस्तो लकडाउनका लागि स्थिति हेरी गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुपर्छ।

अहिलेको अवस्थामा भने स्मार्ट सरकारले कोभिड १९ उपचार तथा व्यवस्थापनको नीति अवलम्बन गरेको प्रवक्ता नेपालले बताइन्। आइतबार बसेको समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको जमघट हुने गरी सभा, समारोह, पर्व र धार्मिक क्रियाकलाप गर्न नपाइने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनमा निर्देशन दिइएको छ। गृहको निर्देशनपछि यो निर्णय माघ ७ देखि कार्यान्वयनमा आउनेछ।

समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।

त्यसैगरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ सम्मका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिदाकै अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय स्वास्थ्य चौकीबाट खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउन पठाउन अनुरोध गरेको छ।

विश्वविद्यालयहरूको वार्षिक परीक्षा भने स्थगित नगर्ने निर्णय भएको छ। नियमित परीक्षा सञ्चालनका लागि भौतिक दूरी, मास्क र एल आकार, जेड आकारमा बसाइ व्यवस्था हुने गरी परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ।

त्यसैगरी नेपाल प्रवेशद्वारमा एन्टिजेन परीक्षण थप प्रभावकारी बनाउने, होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर राख्न सम्बन्धित जिल्लासँग समन्वय गरी बजेट भुक्तानी गर्ने, सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन बुथ स्थापना गर्ने र खोप अभियान जारी राख्ने, विमानस्थलमा भीडभाड कम हुने गरी उडान तालिका मिलाउने, माघ ७ पछि यान्त्रिक उडानमा समेत खोप कार्डको व्यवस्थापन गर्ने निर्णय भएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्ट फैलिएका देशबाट आएका सबै यात्रुलाई क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था गरिने भएको छ।

संक्रमणदर सातामै १० प्रतिशतले वृद्धि

कोरोना संक्रमणदर एक सातामा १० प्रतिशतले वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार गत पुस १९ गते २.६ प्रतिशत संक्रमणदर रहेकोमा पुस २६ मा १२.७ प्रतिशत पुगेको छ। आइतबार संक्रमणदर ९.५ र शनिबार ७.१ प्रतिशत संक्रमणदर थियो।

गत २४ घण्टामा परीक्षण भएका ११ हजार ४ सय २९ नमुनामध्ये १४ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। नयाँ संक्रमितसहित हाल नेपालमा ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ। यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६ पुगेको छ।

नयाँ संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। गत २४ घण्टामा काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन्। त्यसैगरी उपत्यकाबाहिर मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५ र रूपन्देहीमा ४३ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: २७ पुस २०७८ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App