२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

त्रियुगाको बिकट वस्ती बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

बाँजगरामा स्थापित आधारभूत स्वास्थ्य सेवा केन्द्र्र उद्घाटन कार्यक्रममा मेयर चौधरीलगायत अतिथि। तस्बिरः महेश्वर

सदरमुकामको नगरपालिका क्षेत्र भए पनि अत्यन्त बिकट र पछि परेको धाब्लाङस्थित बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ। स्थानीय समुदायसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले बाँजगरामा सेवा केन्द्र स्थापना गरेको हो।

त्रियुगा नगरपालिका १४ पहाडी भेगमा पर्ने वडा हो। वडाको पनि दुरदराजमा पर्ने बाँजगरावासीलाई सामान्य रुघाखोकी र ज्वरोको औषधि उपचार गर्नु परे पनि घण्टौँ हिँडेर जानुपर्ने बाध्यता छ। बाजगरावासीलाई स्वास्थ्य सेवा लिनुपरे कि वडा कार्यालय रहेको साउने बजार आउनुपर्छ यात सुनकोसी तरेर खोटाङको सुन्तले पुग्नुपर्ने बाध्यता छ।

सोही समस्याबाट स्थानीयलाई मुक्ति दिलाउने उद्देश्यले बाजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए। उनका अनुसार हरेक वडामा स्वास्थ्य चौकी भए पनि वडाका कुना कन्दराका गाउँबस्तीसम्म स्वास्थ्य उपचार सहज बनाउन नगरपालिकाले सेवा केन्द्र स्थापना गर्दै आएको छ। नगरपालिकाले आन्तरिक स्रोतबाट सञ्चालन गर्नेगरी सेवा केन्द्र स्थापना गरेर स्वास्थ्यकर्मी समेतको व्यवस्था मिलाएको कार्यालय प्रमुख ढकालले बताए।  

बुधबार आयोजित एक कार्यक्रममा नगरप्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले केन्द्रको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका १६ वटै वडावासीलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाइदै आएको बताए। भएका वडा स्वास्थ्य चौकीहरुलाई सबल र सुविधायुक्त बनाउदै लगिएको र नभएका गाउँबस्तीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर नगरबासीलाई सेवा दिइदै आएको मेयर चौधरीको भनाई छ। कोही पनि नगरबासी स्वास्थ्य, शिक्षा, सुरक्षाजस्तो आधारभूत सेवासुविधाबाट बञ्चित हुन नपरोस् भन्नेतर्फ नगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर चौधरीको भनाई छ।  

चौधरीले अहिलेको २१ औँ शताब्दीमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत र सुरक्षाजस्ता विषय मानव जीवनको नैसर्गिक अधिकार भएकाले त्यसका लागि नगरपालिका र जनप्रतिनिधि सँधै सचेत रहेको बताए। मेयर चौधरीले जिल्लाको जेठो र सदरमुकामको नगरपालिका भए पनि कतिपय वडाहरु बिकट र असुविधा भएकाले सबै वडालाई समान हैसियतको बनाउन आफू लागी परेको बताए।  

१६ नंं वडाध्यक्षसमेत रहेका नगर सामाजिक विकास समिति संयोजक मानबहादुर राईले राईले नगरका सबै वडामा स्वास्थ्य चौकी र नभएका ठाउँमा आधारभूत स्वास्थ्य सेवाकेन्द्र खोलेर सेवा दिइदै आएको बताए। उनका अनुसार अहिलेसम्म नगरपालिकाभित्र स्वास्थ्चौकी बाहेक १५ वटा आधारभूत सेवा केन्द्र स्थापना भईसकेको छ। स्वास्थ्य चौकी जान टाढा भएका बस्तीवासीलाई सुविधा दिनका लागि आधारभूत स्वास्थ्य सेवाकेन्द्र खोलेर जनशक्ति व्यवस्थाप गर्दै सेवा सुचारु गरिएको राईले बताए।  

त्रियुगा १४ का वडाध्यक्ष कुरुङ राईले बाजगराबासी जनता धेरै पहिलेदेखि स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएकाले वडाले नगरपालिकासँगको सहयोग लिएर गाउँमै सेवा केन्द्र स्थापना गरिएको बताए। उनका अनुसार यसअघि बाँजगरा र आसपासका आधादर्जन गाउँबस्तीवासीलाई नागरिक सामान्य स्वास्थ्य सेवा लिन पनि साउनेस्थित स्वास्थ्य चौकी आउनुपर्ने या त खोटाङको बाराहापोखरी गाउँपालिकाको धर्तुङ पुग्नुपर्ने बाध्यता थियो।

साउने आउन घण्टौँको बाटो हिँड्नुपर्ने समस्या र धर्तुङ पुग्न सुनकोसी तरेर जानुपर्ने बाध्यता गाउँमै सेवाकेन्द्र आएपछि हट्ने वडाध्यक्ष राईले बताए। उनका अनुसार पुरानो खोप केन्द्र रहेको भवनलाई मर्मत गरेर स्थापना गरिएको सेवा केन्द्रले बाँजगरा, धाब्लाङ, घिर्लिङ, सिम्ले, रातमाटे र खोटाङको बाराहापोखरी गाउँपालिकाको सुन्तलेसम्मका नागरिकलाई सेवा पाउन सहज भएको छ। सो सेवा केन्द्रबाट झण्डै १० हजार जनसंख्या लाभान्वित हुने वडाध्यक्ष राईले बताए।

प्रकाशित: २२ पुस २०७८ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App