दैलेखको डुंगेश्वर गाउँपालिकाकी ७० वर्षीया धर्मी विक दुई दिनअघि स्वास्थ्य उपचारका लागि सुर्खेत झरेकी थिइन्। हातखुट्टा दुख्ने, हिँड्न नसक्ने, खोकी लाग्ने समस्याबाट पीडित धर्मीलाई नातिनी टीकाले सुर्खेत बोलाएकी थिइन्। उनले हजुरआमालाई कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लिने तयारी गरेकी थिइन्। शुक्रबार गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी पाइन्। ‘प्रदेश अस्पतालकै डाक्टरहरु आउने थाहा पाएकाले हजुरआमालाई त्यहाँ लगिन्,’ उनले भनिन्, ‘घर–आँगनमै सेवा पाउँदा खुसी लागेको छ।’
हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठ र जनरल फिजिसियन डा. कृष्णदेव गिरीले धर्मीलाई चेकजाँच गरे। कापीको पानामा चिकित्सकले लेखिदिएको औषधि निःशुल्क बोकेर उनी नातिनीको घरतर्फ लागिन्। ‘औषधि गर्दा धेरै खर्च होला भन्ने लागेको थियो, नातिनीको ऋण खान पनि भएन, त्यहीँ भएर वृद्धभत्तावापत पाएको पैसा बचाएर राखेकी थिएँ,’ उनले खुसी हुँदै भनिन्, ‘यहाँ पर्चा पनि काट्नु परेन्, औषधि पनि किन्नु परेन, भत्ताको पैसा खर्च गर्नै परेन।’ चिकित्सकले उनलाई तीन महिनाका लागि औषधि दिएका छन्।
वीरेन्द्रनगर–९ को चाँदनीचौकी, अलायाचौरलगायतका क्षेत्र उपत्यकाभित्रै पर्छन् । तर, यातायातका हिसाबले सुर्खेत उपत्यकाको तल्लो क्षेत्र अझै दुर्गम मध्येको एक हो। प्रदेश अस्पताल पुगेर फर्कदाँसम्म यातायातमा मात्रै पाँच–सात सय खर्च हुन्छ। अलायाचौरका जुद्धबहादुर बुढा ८६ वर्षका भए। प्रदेश राजधानीभित्रै भएपनि उनी औषधि उपचारका लागि अस्पतालसम्म पुगेका छैनन्। ‘छोरा–नाति छन्, बिरामी पर्दा औषधि ल्याउँछन्, अस्पताल लिदैनन्,’ उनले भने, ‘पहिलो पटक डाक्टरलाई चेकजाँच गराउन पाएँ।’
वीरेन्द्रनगर–९ वडा कार्यालयले चाँदनीचौकीमा शुक्रबार एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको थियो। ‘वडाका दुर्गम क्षेत्रहरुमा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यो वर्ष चाँदनीचौकी वरपरका नागरिकका लागि हाडजोर्नी, नाक, कान, घाँटी र जनरल फिजिसियन सेवा उपलब्ध गराएका थियौं।’
हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठका अनुसार उपत्यकाभित्रकै ठाउँ भएपनि नियमित स्वास्थ्य चेकजाँच गर्ने ज्ञान स्थानीयहरुमा कम पाइएको बताए। ‘अन्तिम अवस्थामा मात्रै अस्पतालसम्म पुग्ने र अरु बेला नियमित स्वास्थ्य चेकजाँच नगर्ने गरेको पाइयो,’ उनले भने, ‘शिविरमा आएका अधिकांशले स्वास्थ्य बीमा पनि गरेका थिएनन्।’ स्वास्थ्य शिविरमा २६० भन्दा बढी स्थानीयले सेवा लिएका थिए।
वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले नागरिकहरुलाई घर–आँगनमै सेवा दिनका लागि सबै वडामार्फत निःशुल्क स्वास्थ्य शिविरहरु गरिँदै आएकोे बताए। ‘नजिकको सरकारको अनुभूति दिनका लागि सबै वडामार्फत निःशुल्क स्वास्थ्य, जेष्ठ नागरिक र महिलाहरुका लागि विशेषज्ञ सेवालगायतका कामहरु भइराखेका छन्,’ उनले भने, ‘शिविरमा थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई नगर अस्पताल र प्रदेश अस्पतालमार्फत पनि निःशुल्क सेवा दिइरहेका छौं।’
प्रकाशित: ९ पुस २०७८ १३:१३ शुक्रबार