१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

२८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए।

सरकारले विगत दुई वर्षदेखि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले पनि सशर्त कार्यक्रमका रुपमा प्राप्त बजेटबाट नियमानुसार खरिद गरी सरकारले तोकेको मापदण्डअनुसारको प्याड वितरण गरेको उनले बताए।

गत आर्थिक वर्षमा खरिद गरिएका केही प्याड कोरोना, लकडाउन तथा पहाडी क्षेत्रमा वर्षायाममा सवारीसाधन जान कठिनाइ हुनेलगायतका विभिन्न कारणले छ विद्यालयमा वितरण गर्न बाँकी रहेकामा त्यस विद्यालयमा पनि प्याड पुर्‍याइएको छ।

योसँगै भानुका २८ मावि र आधारभूत विद्यालयमा गरी २५ हजार १३३ प्याकेट (दुई लाख एक हजार ६४ पिस) प्याड उपलब्ध गराइएको शाखा प्रमुख पौडेलले बताए।

प्याडको प्राप्ति, संरक्षण, वितरण, व्यवस्थापन र अभिलेखनका लागि प्रत्येक विद्यालयमा एक महिला शिक्षकलाई संयोजक तोकिएको छ। संयोजकले छात्रालाई आवश्यकताअनुसार वितरण गर्ने, यसको सही ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षण र सहजीकरण गर्ने, शौचालयमा प्याड डिस्पोजल विन राख्न लगाई सहीरुपमा बिसर्जन गर्न लगाउने काम गर्नेछन्। नगरपालिकाले चालू आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ।

महिनावारी भएका बेला छात्रा नियमित विद्यालय नआउने समस्या रहेको छ। “विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्, यसले उनीहरुको पढाइमा समेत असर पर्दैन”, शाखा प्रमुख पौडेलले भने।

प्रकाशित: ४ पुस २०७८ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App