६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गृह जिल्लालाई सहयोग जुटाउँदै इलामवासी

काठमाडौंमा रहेका इलामवासीले पठाएको स्वास्थ्य सामग्री मंगलबार इलामस्थित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिँदै। तस्बिर: नागरिक

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि इलाम तथा जिल्लाबाहिर रहेका इलामवासी धमाधम सहयोग संकलन/वितरण गरिरहेका छन्। जनप्रतिनिधिदेखि विदेशमा बसेका इलामवासीले समेत नदस्वास्थ्य सामग्री संकलन र वितरणमा पहल गरिरहेका हुन्।  

इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको अगुवाईमा काठमाडौंवासी इलामेले संकलन गरेको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ। काठमाडौंबाट इलाम ल्याइएको सामग्री प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कामार्फत् मंगलबार हस्तान्तरण गरिएको हो। सर्जिकल मास्क १ लाख थान, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) ४ सय सेट, एन्टिजेन किट ३ सय थान, केएन ९५ मास्क २ हजार ५ सय थान, पल्स अक्सिमिटर २५ थान, सेनिटाइजर १ सय थान, प्यारासिटामोल १० हजार थान र जिन्क ५ हजार थान प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

स्थानीय सामाजिक संस्था र समाजसेवी अगुवाले सुरु गरेको ‘इलामेको पीडामा मलमपट्टी’ सहयोग संकलन अभियानले पनि जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ। इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको पहलमा अभियान सञ्चालन भइरहेको छ। यसअन्तर्गत माङ्सेबुङ गाउँपालिकालाई १ लाख ४० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अभियानका निरोज खड्गीले बताए। ‘१० वटै स्थानीय तहलाई त्यही रकमबराबरको सामग्री हस्तान्तरण गरिँदैछ,’ उनले भने, ‘विभिन्न दाताले इलामवासीका लागि गर्नुभएको सहयोगले यी सामग्री प्रदान गरिएको हो।’

प्रत्येक स्थानीय तहलाई सेमी फोल्डिङ बेड ३ थान, सादा बेड २ थान, पिपिई १० सेट, सेनिटाइजर १० लिटर, मास्क ५ सय थान, ग्लोब्स ४ सय जोर, फेस सिल्ड १० थान, थर्मल गन १ थान र अक्सिमिटर ३ थानका दरले हस्तान्तरण भइरहेको अभियानले जनाएको छ। यसअघि पनि अभियानले इलाम अस्पताललाई ६ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो।  

क्यानडा र अमेरिकामा बस्ने इलामेले समेत गृहजिल्लाका लागि धमाधम सहयोग जुटाइरहेका छन्। ‘इलामका लागि इलामेली’ अभियानमा १७ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको क्यानडाबासी इलामे पत्रकार बेनुपराज भट्टराईले जानकारी दिए। संकलित रकम इलाममा कोभिड नियन्त्रणका लागि खर्च गरिनेछ। क्यानडा र अमेरिकावासी इलामेले भर्चुअल बैठकमार्फत् इलामका लागि सहयोग संकलन गर्न सबैलाई आह्वान गरेका थिए।

पत्रकारलाई स्वास्थ्य सामग्री

दोस्रो लहरको कोभिड–१९ को जोखिमबाट बचाउन जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिँदैछ। स्थानीय सञ्चार संस्था र पत्रकारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सेनिटाइजर र मास्क वितरण गरिरहेको हो।

महासंघ १ नम्बर प्रदेश समिति तथा सापकोटा एसोसिएट्स इन्जिनियरिङ प्रालिले जिल्ला शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्। प्राप्त सामग्री विभिन्न सञ्चार संस्था र पत्रकारलाई उपलब्ध गराइरहेको महासंघले जनाएको छ। फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गरिरहेका पत्रकारलाई कोरोनाको जोखिमबाट बचाउन सामग्री वितरण गरिएको शाखा अध्यक्ष विप्लव भट्टराईले बताए। शाखाका अनुसार जिल्लामा कोरोनाबाट संक्रमित पत्रकारसमेतलाई घर–घरमै पुगेर सहयोग तथा राहत सामग्री प्रदान गरिँदैछ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App