५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पिसिआर रिपोर्ट हप्तादिनसम्म नआएपछि एन्टिजेन परीक्षणमा प्राथमिकता

एक साता सम्म पिसिआर रिपोर्ट नआएपछि गोरखाका स्थानीयतहले एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएका छन्। शनिवारसम्म गोरखाका १३ सय ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। जेठ २ गतेयता स्वाब पठाएकाहरुको रिपोर्ट अझै आएको छैन।  

‘रिपोर्ट कुर्दाकुर्दै उपाए भएन, पोजेटिभ रिपोर्ट नआउँदा सम्म संक्रमितले आफुलाई सुरक्षित पनि राखेनन’ गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने। गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट  एन्टिजेन परीक्षण सुरु गरिएको छ ।  

६० जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए। अजिरकोट गाउँपालिकाले पनि  एन्टिजेन परीक्षण सुरु गरेको छ। स्वास्थ्य कार्यालयले दिएको केहि थान र पालिका आफैँले खरिद गरेको दुई सय थान  एन्टिजेन किटबाट परीक्षण सुरु गरिएको स्वास्थ्य शाखाका प्रमुख शुरेस दवाडीले बताए। पिसिआर रिपोर्ट ढिला आउँदा  एन्टिजेन गर्नुपरेको उनले बताए । गोरखाको ग्रामिण भेगमा संक्रमण दर धेरै देखिएको छ। संक्रमण फैलने क्रम नघटेपछि स्थानीयतहले कोरोना रोकथाम, नियन्त्रणकालागि एन्टिजिन सहजहुने बताएका छन्।  

पालुङटार नगरपालिका भित्रका तीन सय २६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। अहिले नगरपालिकाले स्वास्थ्यमा जटिल समस्या देखिएका र तत्काल उपचार गर्नुपर्नेका लागि आँप पिपल अस्पतालमा  एन्टिजेन परीक्षण गर्ने ब्यवस्था गरेको कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए। ‘ एन्टिजेनलाई प्राथमिकतामा राखेर परीक्षण गर्नुपर्ने भएको छ, लामो समय सम्म पिसिआर रिपोर्ट आएको छैन’ उनले भने। कोरोना रिपोर्ट तत्काल चाहिने बिरामीलाई पिसिआर गरेर पठाउँदा र रिपोर्ट आउने समय कुर्दा स्वास्थ्यमा थप समस्या आउने उनले बताए।  

स्वास्थ्य कार्यालय गोरखाले ११ वटै स्थानीयतहलाई एन्टिजिन किट आवश्यकताका आधारमा पठाउने महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए। अधिकास पालिकाले लगि सकेको र केहीले लैजान बाँकी रहेको उनले बताए। ‘जहाँ धेरै समस्या छ त्यहाँ आवश्यकताका आधारमा पठाउँछौँ’ उनले भने। गोरखा अस्पतालले पनि आकस्मिक उपचार गर्नुपर्नेहरुलाई  एन्टिजेन परीक्षण गरेर उपचार गर्ने गरेको छ।   

स्वास्थ्य कार्यालयले स्थानीयतहहरुलाई कम्तीमा २५ देखि एक सय वटा सम्म एन्टिजेन किट उपलब्ध गराएको छ। उक्त किटले मात्र नपुग्ने भएपछि स्थानीयतहले सहयोग माग्ने, आफैँ खरिद गर्ने प्रक्रिया समेत अघि बढाएका छन्। एन्टिजेन परीक्षण गर्दा तत्काल रिपोर्ट थाहाहुने र संक्रमितलाई सुरक्षित राख्न, उपचारमा ध्यानदिन सकिने स्वास्थ्यकर्मीहरु बतउँछन्।  

प्रदेश जन स्वास्थ्य प्रयोगशाला पोखरामा पिसिआरको पाँच धेरै भएकाले रिपोर्ट ढिला भएको स्वास्थ्य कार्यालयले जनाएको छ। पोखरा प्रयोगशालामा चाप धेरै भएपछि गोरखाको पिसिआर जाँच गर्न काठमाडौँ स्थित टेकु प्रयोगशाला पठाइएको महामारी फोकल पर्सन अर्यालले बताए। 

प्रकाशित: ८ जेष्ठ २०७८ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App