१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेशमा रोक लगाउनेसहितका बुँदा समेटेर १४ बुँदे आदेश जारी गरेको हो ।

नयाँ भेरियन्टसहितको कोभिड १९ महामारीको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको नियन्त्रणका लागि नेपाल सरकारको ६ बैशाखको निर्णयबाट भएको आदेशलाई कार्यान्वयन गरी महामारी नियन्त्रणका लागि आदेश जारी गरेको कार्यालयले जनाएको छ ।

जारी आदेश अनुसार काठमाडौं महानगरपालिका तथा नगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र) मा वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थिति नभइ वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने र विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालान गरी सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न समेत प्रशासनले निर्देश गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाका अनुसार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतवन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्नुपर्ने, विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जनामात्र सहभागी हुने कार्यक्रका लागि प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने तर, २५ जनाभन्दा कम व्यक्तिहरु सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह, ब्रतबन्ध कार्य गर्न अनुमति लिन नपर्ने भएको छ ।

त्यस्तै, एकपटकमा २५ जनाभन्दा बढी भेला नहुने साथै सपिङ मल, डिपार्टमेन्टल स्टोरका सञ्चालक/व्यवस्थापकले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी व्यवसाय गर्न पनि अनुरोध गरेको छ ।

कार्यालयले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने र भौतिक रूपमा उपस्थित भइ गर्नैपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने , मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउन पनि निर्देश दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य रूपमा प्रयोग गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने, मास्क नलगाउने व्यक्ति सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दूरीमा यातायात सञ्चालन गर्दा बीच बाटोमा यात्रु ओराल्ने र राख्ने कार्य नगरी अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनु पर्ने छ ।  

कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर र मास्क प्रयोग अनिवार्य गर्नुपर्ने भन्दै उनले भने, ‘होटल तथा रेष्टुरेन्टहरू जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिने, सो सेवा सञ्चालन गर्दा रेष्टुरेन्टका कामदारहरूले अनिवार्य रूपमा मास्क भाइजर र पन्जा लगाउने, सेवाग्राहीलाई मास्क, सेनिटाइजरको व्यवस्था र दुई मिटरको भौतिक दूरी कायम गर्ने साथै होटल, रेष्टुरेन्टलाई नियमित रूपमा निसंक्रमण  गर्नुपर्ने छ ।’

कार्यालयले उक्त आदेशको पालना नगर्ने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि जनाएको छ ।

प्रकाशित: ७ वैशाख २०७८ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App