अमेरिकामा गरिएको अनुसन्धानले अविवाहित वा एकल महिलालाई उच्च रक्तचापकाे समस्या हुने खतरा धेरै हुने देखाएकाे छ।
हाइपरटेन्सन जर्नलमा प्रकाशित अनुसन्धान नतिजाअनुसार विवाह र रक्तचापबीच सम्बन्ध छ कि छैन भनेर वैज्ञानिकले क्यानडामा ४५ देखि ८५ वर्षसम्मका २८ हजार २ सय ३८ महिलामा अनुसन्धान गरेका थिए।
त्यस क्रममा अविवाहित २८ प्रतिशत महिलामा उच्च रक्तचापकाे समस्या रहेको पाइएकाे हाे। यसैगरी सम्बन्ध विच्छेद गरेका वा एकल ३३ प्रतिशत महिलामा उच्च रक्तचापको खतरा धेरै देखियाे।
तर यही अवस्थाका अर्थात् अविवाहित वा एकल पुरुषमा भने त्यस्ताे जाेखिम नदेखिएकाे वैज्ञानिकले बताएका छन्। कारण उनीहरूले धेरै तनाव नलिने गरेकाे पाइएकाे हाे। पुरुष मिलनसार पनि हुने भएकाले उच्च रक्तचापको खतरा कम देखिएको वैज्ञानिकको दाबी छ।
जुन महिलाका साथी कम हुन्छन्, उनीहरूमा पनि उच्च रक्तचापको जोखिम १५ प्रतिशतभन्दा बढी पाइएको अनुसन्धानकर्ताले बताएका छन्।
मेडिकल न्युट्रिसनिस्ट डा. विश्वरूप राय चौधरीले भनेका छन्- उच्च रक्तचाप आफैंमा रोग होइन, यो शरीरमा हुने नकारात्मक परवर्तनको एक लक्षण मात्र हो। जसलाई नियन्त्रणमा राख्ने दुई सूत्र छन्। पहिलो- दैनिक खानामा ५० प्रतिशत फलफूल र हरिया सागसब्जी अनिवार्य समावेश गर्ने। दोस्रो- नुन र तेलबाट टाढै रहने।
विज्ञका अनुसार रक्तचाप कम वा बढी हुनु दुवै अवस्था राम्राे हाेइन। नयाँ परिभाषाअनुसार रक्तचाप १६०/१०० भन्दा कम छ भने त्यसलाई उच्च रक्तचाप मानिन्न। तर याेभन्दा लगातार बढिरह्याे भने त्यसलाई उच्च रक्तचाप भन्न सकिन्छ।
रक्तचाप १००/६० भन्दा कम छ भने निम्न रक्तचाप भएको मानिन्छ। टाउको दुख्ने, बैचनी हुने, कमजोरी महसुस हुने हुन्छ भने रक्तचाप निकै कम छ भनेर बुझ्नुपर्छ। यस्ता लक्षण छैनन् भने चाहिँ चिन्ता लिन नपर्ने विज्ञ बताउँछन्। दैनिक भास्करबाट
प्रकाशित: २९ कार्तिक २०७७ १४:४९ शनिबार