६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गजुरीमा स्वाब संकलन बुथ निर्माण

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको स्वाब संकलन बुथ ।

धादिङ- कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन धादिङको गजुरीमा स्वाब संकलन ‘टेस्ट बुथ’ निर्माण गरिएको छ । गजुरी गाउँपालिका अन्र्तगतको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको स्वाब पीक्षण गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वाब संकलन बुथ जडान गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. खगेन्द्र श्रेष्ठले बताए ।  

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा हालसम्म कोभिड–१९ को संक्रमण नदेखिएपनि पूर्व तयारी स्वरुप स्वाब संकलन बुथ जडान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताए । ‘हालसम्म संक्रमण नदेखिएपनि सम्भावित जोखिमबाट बच्न पूर्व तयारी स्वरुप स्वाब संकलन बुथ जडान गरिएको हो,’ अध्यक्ष बस्नेतले भने, ‘किटाणु रहित भेन्टिलेसन लगायतको विशेषता रहेको बुथमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको स्वाब संकलन गर्दा स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सक्नेछ ।’  

नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश कार्यकारिणी समितिले बुथ निर्माण गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । ८० हजारको लागतमा निर्माण गरिएको बुथ निर्माण पछि स्वास्थ्यकर्मी, स्थानीयहरु पनि खुसी भएका छन् । यसले कोरोना संक्रमितको स्वाब निकाल्ने मात्र नभई क्षयरोग लगायतका अन्य रोगीका स्वाब निकाल्दा पनि स्वास्थ्यकर्मीहरु सुरक्षित हुने बताइएको छ । तत्कालका लागि भने कारोना संक्रमणको शंका लागेकाहरुको मात्र स्वाब संकलन गरिने अध्यक्ष बस्नेतले बताए ।  

एशोसिएशनले एक कार्यक्रम गरी स्वाब संकलन बुथ गजुरी गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् । नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेश सदस्य ईन्जिनियर दिनेशभाइ अधिकारीले गाउँपालिका अध्यक्षलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेका हुन् । स्वाब संकलन कार्यलाई सहज र सुरक्षित बनाउन नेपालका इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरी स्वास्थ्य संस्थाहरुलाई  हस्तान्तरण गदै आएको पनि अधिकारीले बताए ।

स्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र बिरामी बाहिर रहनेछन् भने चिकित्सकलाई संक्रमणको कुनै प्रकारको जोखिम नहुने पनि अधिकारीले बताए । नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेशले १३ ओटै जिल्लामा गरी १८ वटा स्वाब संकलन बुथ जडान गरी हस्तान्तरण गरिसकेको छ । एयटा बुथ जडान गर्न करिव ८०  हजार रुपैयाँ खर्च हुने एसोसिएसनले जनाएको छ । संस्थाले यसअघि नै धादिङ अस्पतालमा पनि बुथ जडान गरिसकेको छ ।

विश्व नै कोरोनाको माहामरी फैलीरहेको बेला स्वास्थ्यकर्मीहरुलाई हौसला र सुरक्षित रहनका लागि स्वास्थ्य संस्थाहरुलाई बुथ प्रदान गरेको ईन्जिनियर अधिकारीले बताए । स्वाथ्यकर्मीहरुका लागि बुथ निकै उपयोगी हुने र यसले मनोबल उच्च हुने विश्वास गरिएको छ । हावा आउजाउ गराउन फ्यानसमेत राखिएको बुथ पूर्णरूपमा वैज्ञानिक छ । रातको समयमा काम गर्न बत्ती जडान गरिएको छ । बाहिरको हावासमेत नछिर्ने प्रमाणित गरेर मात्र प्रयोगमा ल्याइएको बताइएको छ ।  

 

 

 

प्रकाशित: २ जेष्ठ २०७७ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App