६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दुई जनाको आरडिटी पोजिटिभ, पिसिआर नेगेटिभ (अपडेट)

खोटाङ– र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी)मा पोजिटिभ रिपोर्ट देखिएका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । दुबईबाट गत फागुन ११ गते काठमाडौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठमाडौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार गरिएको आरडिटि परिक्षणकाक्रममा दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ आएपछि उनीहरु सहित उनीहरुका परिवारका ४ जनाको समेत थ्रोट स्वाव संकलन गरेर रातारात पिसिआर परीक्षणका लागि प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो । दुई व्यक्तिका परिवारको ४ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ५३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुई व्यक्तिको आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि जिल्लामा त्रास फैलिएको थियो । परिक्षणकाक्रममा गाउँपालिकाले खरिद गरेर ल्याएको किटले पोजिटिभ र प्रदेश सरकारले जिल्ला अस्पताललाई उपलव्ध गराएको किटले नेगेटिभ रिपोर्ट देखाएको थियो ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएका ६ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले बताए । नगरपालिकाको क्वारेन्टाइनमा राखिएका सप्तरीका ६ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । उनीहरुलाई शनिबारदेखि क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।  

हालसम्म जिल्लाका १० स्थानीय तहमा ३३४ जनाको आरडिटी परीक्षण गर्दा दुई जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको डा. श्रेष्ठले बताए । यस्तै, हालसम्म जिल्लाका २९ जनाको पिसिआर गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । रतन्छामा दुई व्यक्तिको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिकाको नाकामा कडाई गरेर अत्यावश्यक बाहेकका सेवा ठप्प पारिएको थियो ।

 रतन्छा पुग्दा संक्रमण त्रासका कारण स्थानीय घर बाहिर निस्कन नसकेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । दुबईबाट आएका पुरुषसँग ३७ जना र उपचारमा गएका युवकसँग २२ जना एउटै गाडीमा गाउँ आएको खुलेको छ । 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App