२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना देखिएका किशोरलाई वीरगंज अस्पतालको आइसोलेसनमा पठाइयो

सर्लाही- प्रादेशिक अस्पताल जनकपुरले दुईपटक गरेको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएका सर्लाही धनकौलका एक किशोरमा काठमाडौंस्थित टेकु अस्पतालको स्वाब परीक्षणबाट पोजेटिभ रिपोर्ट आएपछि उनलाई उपचारका लागि वीरगंज पठाइएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रस्थित धनकौल गाउँपालिका–५, हरकठवागोठ निवासी ती किशोरलाई बिहीबार राति नै उपचारका लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार किशोर बाहेक उनको परिवारका सबै ५ जनालाई धनकौल गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै ती किशोर भारतको दिल्लीबाट रौतहट हुँदै घर आउँदा साइकलमा चढाएर ल्याउने एक स्थानीयलाई समेत बिहीबारबाटै गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले जानकारी दिए ।

‘कोरोना भाइरस पोजेटिभ देखिएका किशोरलाई उपचारका लागि वीरगंज पठाइएको छ भने उनका परिवारका सबै सदस्य एवं उनलाई रौतहटबाट साइकल चढाएर ल्याउने स्थानीय एकजनालाई पनि धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिसकेका छौं’, प्रजिअ जिसीले शुक्रबार नागरिकसँग भने, ‘आज दिउँसो ६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउदै छौं ।’

गत शुक्रबार र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएका ति किशोरलाई स्वाब परीक्षणका लागि सोही साँझ जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको थियो । उनीसँगै धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेपनि आरडीटी नेगेटिभ देखिएका अर्का एकजनालाई पनि सँगै जनकपुर पठाइएको थियो । जनकपुरमा दुईपटक स्वाबको पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि बुधबार दिउँसो मात्र घर पठाइएका ती किशोरमा कोरोना भाइरस पोजेटिभ भन्दै बिहीबार दिउँसो खबर आएको प्रजिअ जिसीले जानकारी दिए । भारतको दिल्लीस्थित एक झोला कारखानामा काम गर्ने ती किशोर गत चैत २३ गते रौतहटको गौर हुँदै घर धनकौल आएका थिए । उनी आउँदै गरेको सूचना पाउने बित्तिकै प्रहरीले धनकौल गाउँपालिकाकाले स्थापना गरेको क्वारेन्टाइनमा लगेर राखेका थिए ।

हरकठवा गोठ गाँउ ‘सिल’
अहिले किशोरको गाउँ हरकठवा गोठलाई ‘सील’ गरिएको प्रजिअ जिसीले जानकारी दिए । ‘बुधबार अबेरमात्र क्वारेन्टाइनबाट छाडेका थियौं, बिहीबार त पोजेटिभ भनेर खबर आयो’, प्रजिअ जिसीले भने, ‘तत्काल गाउँ गएर बुभ्mदा बाहिरका व्यक्तिसँग सम्पर्क नगरेको बझियो, तथापी उनको गाउँलाई भने सिल गर्दै सुरक्षाकर्मीको नियन्त्रणमा राखेका छौं ।’

प्रकाशित: १२ वैशाख २०७७ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App